परामर्शदाता छनोट अन्तिम चरणमा

    3320

    ” सुरुङको काम ७ सय मिटर बाँकी “

    Kulikhani III HEPहेटौँडा, ३० वैशाख- मकवानपुरको भैंसेमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तीन महिनाभन्दा लामो प्रक्रियापछि परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
    आयोजना प्रमुख मधुसूदनप्रताप मल्ल नेतृत्वको टोलीले तीन महिना लामो प्रक्रिया पूरा गरी आफ्नो प्रतिवेदन बुझाएको छ । २०६९ असोज १९ गते परामर्शदाताका लागि प्रस्ताव आह्वान गरेकोमा आठ कम्पनीले टेन्डर फारम खरिद गरे पनि तिनले मात्र बुझाएका थिए । आयोजनाका अनुसार अस्टे«लियाको स्मेक, जर्मनीको फिस्नर, क्यानाडाको एसएनसी लाभालिन, भारतको वाप्कोस, टाटा र इनर्जी इन्फ्रास्टक्चर, नर्वेको नरकन्सल्ट र नरप्लानले फारम खरिद गरे पनि स्मेक, वाप्कोस र टाटाले मात्र बुझाएका थिए । कात्तिक दोस्रो साता तीन कम्पनीको रोहवरमा प्राविधिक प्रस्ताव खोलिएको थियो । टोलीले प्राविधिक प्रस्ताव अध्ययन गरी पुस १ गते प्राविधिक प्रस्ताव मूल्यांकन प्रतिवेदन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा पेस गरेको थियो ।
    समितिको बैठकले आर्थिक प्रस्ताव खोल्न चैत २३ गते स्वीकृति दिएपछि टोलीले वैशाख १३ गते आर्थिक प्रस्ताव खोली वैशाख २४ गते मूल्यांकन प्रतिवेदन पेस गरेको प्रमुख मल्लले बताए । “बोर्ड बैठकले परामर्शदाता छनोटको अख्तियारी कार्यकारी निर्देशकलाई दिएको छ,” मल्लले भने, “अब दुई–चार दिनमै परामर्शदाताबारे निक्र्योल हुन्छ ।”
    परामर्शदाताको नियुक्तिसँगै आयोजनाको कामले थप तीव्रता पाउने उनको भनाइ छ । आयोजना सुरुवातदेखि काम गरिरहेको परामर्शदाता डबल्युआरसी÷सिल्ट÷हेडको जेभीलाई मे २०१२ मा हटाएपछि मार्च २०१२ देखि नियाज अहमदले परामर्शदाताका रूपमा काम गर्दै आएका छन् । व्यक्तिभन्दा संस्थालाई परामर्शदाता नियुक्त गर्दा काममा प्रभावकारिता बढ्ने भएकाले नयाँ परामर्शदाता कम्पनी भिœयाउन प्राधिकरण जुटेको बुझिएको छ ।
    पछिल्लो समय कार्यस्थलमा कम अवरोध भएकाले कामले गति लिएको जनाइएको छ । सहायक सुरुङसहित ५ हजार ९ सय १८ मिटर सुरुङमध्ये अब ७ सय मिटर मात्रै खन्न बाँकी  छ । आयोजनाले जूनको पहिलो सातासम्ममा सुरुङको काम सक्ने लक्ष्य राखेको थियो । प्राधिकरणका अनुसार अहिले एक महिनामा पावरहाउसमा जगको काम सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यसअघि पाइल बोरिङ सकिएको आयोजना प्रमुख मल्लले बताए । आयोजनाको हेडवक्र्स र लाइनिङको काम समेत तीव्र गतिमा भइरहेको जनाइएको छ । इलेक्ट्रो मेकानिकल र सिभिल दुवैतर्फको काम एकसाथ अघि बढिरहेकाले आगामी ६ महिनामा ७५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिएको मल्लको भनाइ छ । १४ मेगावाट क्षमताको आयोजनाको काम सेप्टेम्बर २०१४ मा सक्ने लक्ष्य छ ।

    प्रस्तुति: कारोबर / रूपेश दुलाल