यसै आर्थिक वर्षमा निजी क्षेत्रका १५ आयोजना सम्पन्न हुँदै, १४२ मेगावाट बिजुली थप हुने

    1233

    काठमाडौं ।  चालु आर्थिक वर्षमा निजी लगानीबाट साना र ठूला गरी १५ आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १४२ बिजुली थप हुने भएको छ ।
    यी मध्ये चालु आवमा ९७ मेगावाट क्षमताका ५ आयोजना सम्पन्न भइसकेका छन् । अन्य आयोजना निर्माणधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ४६ मेगावाट क्षमताका १० आयोजना मात्र सम्पन्न हुन बाँकी छ ।

    ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए, २५ मेगावाटको मादी ए, १५ मेगावाटको हेवाखोला ए, ६ मेगावाटको दरौदी ए र १ मेगावाटको नियाखोला आयोजना सम्पन्न भइसकेका छन् ।

    २५ मेगावाटको मादी र १५ मेगावाटको हेवा आयोजनाले परीक्षण उत्पादन गरिरहेका छन् । केही दिनभित्र यी आयोजनाबाट व्यवसायिक विद्युत् उत्पादन हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

    यो वर्ष १७४ मेगावाट बिजुली थप हुने अनुमान गरिएकोमा १४२ मेगावाट मात्र पुरा हुने उनले जानकारी दिए । केही आयोजना सम्पन्न नहुँदा लक्ष्य पुरा नभएको उनले बताए ।
    सरकारले चालु आवको बजेटमा २ सय मेगावाट बिजुली थप हुने लक्ष्य राखेको छ । यसले पनि सरकारको लक्ष्य भने पुरा नहुने देखिएको छ ।

    असारसम्म सम्पन्न हुने अन्य आयोजनामा २.८ मेगावाटको छ्याकेखोला, ५.१ मेगावाटको माई सी, ११.२ मेगावाटको थापाखोला, ३.२ मेगावाटको गेलुनखोला, ६ सय किलोवाटको ढुंगेजिरी,  ४ मेगावाटको सर्दिखोला, ७.६ मेगाावटको जोगमाई इलाम, ३ मेगावाटको मिदिम करापु, ३.७ मेगावाटको द्धारिखोला र ४ मेगावाटको पुवाखोला रहेको अधिकारीले जानकारी दिए ।

    उनका अनुसार विद्युत प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया आउँदो भदौ असोजमा सम्पन्न हुनेछ । यस्तै १४ मेगावाटको कुलेखानी आयोजना पनि  यो वर्ष सम्पन्न नहुने भएको छ ।

    २५ मेगावाटकोका मादी १ र १५ मेगावाटको हेवाखोला ए आयोजनाले परीक्षण उत्पादन गरिरहेकाले केही दिनभित्रै ती व्यवसायिक उत्पादन सुरु गर्ने उनले बताए ।
    १५ मध्ये २ आयोजना नेपाली र चिनियाँको संयुक्त लगानीमा बनेका हुन् । ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी आयोजना चीनको सिनो हाइडो कर्पोरेशन र नेपालको सगरमाथा पावर कम्पनी प्रालिको संयुक्त लगानीमा निर्माण भएको हो ।

    यसमा सिनोको ९० र सगरमाथाको १० प्रतिशत लगानी छ । माथिल्लो मस्र्याङ्दीबाट विद्युत उत्पादन सुरु भइसकेको छ । यस्तै मादीमा चाइना वाटर एन्ड इलेक्टिक कर्पोरेशन (सीडब्यूई) को ८० र २० गोरखा कन्ट्रक्सनको छ ।

    आगामी आर्थिक वर्षमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी बाहेक २०१ मेगावाट थप हुने अधिकारीले बताए । ०७५ को असार मसान्तसम्म तामाकोसीको पहिलो एकाई सञ्चालना ल्याउने गरी काम भइरहेको छ । अधिकारीका अनुसार २ हजार मेगावाट क्षमताका आयोजना निर्माणधीन छन् ।

    विद्युत माग १२९८ मेगावाट 
    पछिल्लो समयमा विद्युत्को माग १ हजार २९८ मेगावाट छ । यो पिक आवर साँझको विद्युत माग हो ।

    नियमित रुपमा बिजुली आपूर्ति भएपछि माग घटेको अधिकारी बताउँछन् । उनका अनुसार आपूर्ति भारतबाट आयातसमेत गरी ८९३ मेगावाट छ । प्रणालीमा अझै ४०५ मेगावाट अपुग छ ।

    विद्युत प्राधिकरणका आयोजनाबाट ३६२, निजी क्षेत्रबाट १९८ र भारतबाट ३३३ मेगावाटसम्म बिजुली आपूर्ति भइरहेको छ ।

    प्रणालीलाई सन्तुलन गरेका कारण काठमाडौं उपत्यका, पोखरालगायत धेरै स्थानमा लोडसेडिङमुक्त भएको छ । अन्य ठाउँमा पनि औसत दैनिक २ घण्टा मात्र लोडसेडिङ भइरहेको प्राधिकरणले जनाएको छ ।
    माग बिहान बढ्यो 

    पछिल्लो समयमा बिजुलीको माग बिहान बढेको छ । बिहान उद्योग सञ्चालनमा आउने भएकाले माग ४० देखि ५० मेगावाट बढेको अधिकारीले जानकारी दिए । “सकेसम्म लोडसेडिङ् नगर्ने तयारीमा छौं,” उनले भने, “माग धान्न सकेन भने २ घण्टा उद्योगको बिजुली कटौती गर्नेछौं ।”

    आउँदो महिना भारतबाट थप ४० मेगावाट बिजुली आउनेछ । यस्तै कटैया कुसाह १३२ केभी प्रसारणलाइन र परवानीपुर र रक्सौल प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेकाले २ लाइनबाट ५० / ५० मेगावाट गरी १ सय मेगावाट आयात भएमा यो समस्या पनि समाधान हुने उनले जानकारी दिए ।

    उनले मागको तुलनामा आपूर्ति घट्दै गएकाले बिजुली खपत घटाउन सर्वसाधारण र उद्योगीलाई अनुरोध समेत गरेका छन् ।

    यस्तै ऊर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीलाई बिहान उद्योग सञ्चालन नगर्न अनुरोध गरिसकेका छन् ।

    हाल उद्योगमा साँझ साढे ४ देखि राति साढे ८ सम्म लोडसेडिङ छ । उनीहरुले दैनिक २० घण्टा बिजुली पाइरहेका छन् ।

     स्रोत:बाह्रखरी