लिखु–२ जलविद्युत् आयोजनाका लागि कर्जा लगानी सम्झौता

    1273

     

     

     

     

    पुस २४, २०७३- निर्माण सुरु हुन लागेको ३३.४ मेगावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी र बैंक तथा वित्तीय संस्थाहरुबीच कर्जा लगानीबारे सम्झौता भएको छ ।

    माछापुच्छ्रे बैंक लिमिटेडको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाहरुले ४ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गर्नेबारे प्रवर्द्धक कम्पनी र बैंकहरुबीच गत हप्ता काठमाडौंमा सम्झौता भएको हो । सहभागी बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र प्रवर्द्धक ग्लोबल हाईड्रोपावर एसोसिएट प्रा.लि.का अध्यक्ष मोतीलाल दुगडबीच सम्झौता पत्र आदान–प्रदान गरिएको छ ।

    कर्जा लगानी गर्नेमा मेगा बैंक, एसबिआई बैंक, बंगलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेण्ट बैंक छन् । आयोजनाको लगानी कूल लागत रु. ६ अर्ब २ करोड रहेको छ । जसमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको र २५ प्रतिशत प्रवर्धकको लगानी रहने जनाइएको छ ।

    लिखु–२ जलविद्युत् आयोजना रामेछाप गुम्देर र सोलुखुम्बु जिल्लाको भकञ्जे गाविसमा रहेको छ ।

    स्रोत:कान्तिपुर दैनिक