राहुघाट जलविद्युत् परियोजना – काम सुचारु गर्न निजी क्षेत्रको दबाब

    1890

    म्याग्दी, १५ पुस – निमार्णकार्य अवरुद्ध रहेको ३२ मेगावाटको राहुघाट जलविद्युत् परियोजनाको काम सुचारु गर्न निजी क्षेत्रले सरकारलाई दबाब अभियान थाल्ने भएको छ । सिभिल ठेकेदार भारतीय कम्पनी आईभीआरसीएल इन्डिया लिमिटेडले मूल्य समायोजन गर्न माग गर्दै काम रोकेपछि निजी क्षेत्रले यस्तो प्रयास थालेको हो ।
    विभिन्न कारणले पटकपटक अवरुद्ध हँुदै आएको राहुघाटलाई नियमित रूपमा काम गर्न वातावरण बनाउन पहल गरिएको पश्चिमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मर्सानीले बताए । “काम रोकिनुमा सरकारको पनि कमजोरी छ,” उनले भने, “जिम्मेवारीअनुसार काम नभए ठेकेदार कम्पनीलाई जरिवाना, दिएको काम समयमै सम्पन्न गर्ने वातावरण सरकारले मिलाउनुपर्नेपर्छ ।” उनले म्याग्दी उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति, विद्युत् सरोकार समिति, नागरिक समाज, राजनीतिक दलमार्फत सरकारलाई निर्माण प्रक्रिया सुचारु गर्ने वातावरण बनाउन जिल्लादेखि केन्द्रसम्म दबाब कार्यक्रमहरू सञ्चालन गरिनेसमेत बताए ।
    राहुघाट क्षेत्रमा अन्य विद्युत् आयोजना समेत निर्माणको तयारीमा भइरहेको भन्दै यसलाई तीव्र गतिमा सञ्चालन गर्नुपर्नेमा निजी क्षेत्रको माग छ । “विद्युत् उत्पादनका लागि आकर्षक गन्तव्य बनिरहेको बेलामा म्याग्दीमा भइरहेका यस्ता घटनाले निजी क्षेत्र चिन्तित छ,” म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुविरकुमार श्रेष्ठले भने, “सानातिना समस्याले पनि लामो समयसम्म काम रोकिएको छ ।” उनले सरकारको  लगानीमा निर्माण भइरहेको आयोजनामा देखिने यस्ता समस्याले निजी क्षेत्रको पहलमा भित्रिन लागेका आयोजनामा प्रत्यक्ष प्रभाव पार्ने बताए ।
    परियोजनाको टनेल, पावर हाउस, सडक, बाँध निर्माणको जिम्मा पाएको आईभीआरसीएल इन्डिया लिमिटेडले दुई वर्षअगाडिको मूल्यमा काम गर्न नसक्ने लिखित पत्र दिई निर्माण कार्य रोकेको थियो । आईभीआरसीएलले २ अर्व ५० करोडमा ठेक्का सम्भौता लिएको थियो । “निर्माण कम्पनीलाई मात्र दोष लगाएर राहुघाट परियोजना पन्छिन मिल्दैन,” नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रित सदस्य प्रमोद श्रेष्ठले भने, “परियोजनाले परामर्शदाता नियुक्तिमा समेत गम्भीर लापरवाही गरेकाले समस्या उत्पन्न भएको हो ।” उनले प्रक्रियामै अल्झिएर निर्माण अवरोध गर्ने प्रयास भइरहेकाले यसबाट जिल्लावासी चिन्तित रहेको समेत बताए ।
    निर्माणधीन आयोजनालाई सरकारले सुरक्षा दिन सके जिल्लामा अन्य ठूला परियोजनासमेत भित्रिने तयारीमा रहेको बताए । यसैबीच जिल्ला प्रशासन कार्यालयमार्फत रोकिएको काम सुचारु गर्ने विषयमा अन्तरक्रिया कार्यक्रमको तयारी भइरहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले राहुघाटलगायत अन्य जलविद्युत्का विषयमा समेत केन्द्रित भई कार्यक्रम सञ्चालन गरिनेछ ।” राहुघाट खोलामा निर्माण हुन लागेको आयोजनाको ड्याम झिँ र दग्नाम गाविसको सिमाना निर्माण गरिनेछ । विद्युत्गृहदेखि ११ दशमलव ५ किमि सडकमध्ये पिप्लेदेखि मौवाफाँटसम्मको सडक निर्माण भएको छ । ३२ मेघावाट क्षमताको आयोजनाको पिप्ले ३ मा क्याम्प भवन निर्माण कार्यमा भने सञ्चालन भइरहेको छ । रन अफ दि रिभर प्रकारको आयोजना भारत सरकारको सहुलियत ऋण सहयोगमा नेपाल विद्युत्् प्राधिकरणले ७ अर्ब रुपैयाँ लगानीे निर्माण गर्न लागेको छ ।

    प्रस्तुति: कारोबार