माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना – लगानी प्रारूप परिवर्तन गर्न ‘के वाटर’को प्रस्ताव

    2252

    काठमाडौं, २३ मंसिर – कोरिया वाटर रिसोर्स कर्पोरेसन (के–वाटर) ले ४७ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनामा ४९ प्रतिशत मात्र लगानीको प्रस्ताव गरेको छ । के वाटरका अध्यक्ष उ क्या कङले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठलाई पत्राचार गरी ५१ प्रतिशत सेयर लिने प्रस्ताव गरेका हुन् ।
    के वाटारको लगानी प्रारूप परिवर्तन गर्न प्रस्ताव गरेको  प्राधिकरण आयोजना विकास विभागका उपप्रवन्धक नसिव श्रेष्ठले बताए । के वाटरले प्रस्ताव गरे पनि आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) तयार भएपछि मात्र यस विषयमा निर्णय हुने ती अधिकारीको भनाइ छ । हाल प्राधिकरण र के वाटरले संयुक्त रूपमा आयोजनाको अध्ययन गरिरहेका छन् ।
    प्रस्ताव अनुसार के वाटरले आयोजनामा ३१ प्रतिशत लगानी घटाउन चाहेको छ । गत वर्ष चैतको दोस्रो साता माथिल्लो मोदीमा विद्युत् प्राधिकरणले २० प्रतिशत र के वाटरले ८० प्रतिशत लगानी गर्ने गरी संयुक्त आयोजना विकास सम्झौता ( जेडीए) भएको थियो । के वाटर कोरिया सरकारको स्वामित्वको कम्पनी हो । सम्झौताको समय तीन महिना मात्र बाँकी छ । २० प्रतिशत लगानी पनि के वाटरले सहुलियत दरमा मिलाई दिने सहमति भएको थियो ।
    प्रस्तावित नयाँ लगानी संरचनाअनुसार ४० प्रतिशत सेयर र बाँकी ६० प्रतिशत कर्जा लगानी गर्ने प्रस्ताव गरेको छ । अध्ययन अनुसार आयोजना बनाउन निर्माण अवधिको व्याज बाहेक १३ अर्ब ६६ करोड रुपैयाँ लाग्ने देखाएको छ ।
    उसले पठाएको प्रस्तावमा के कारणले लगानी घटाउन लागेको भने नखुलाएको बताउँदै प्रधानले भने, “नेपालीको लगानी कम भयो भनेर कुरा उठेकाले उसले लगानी घटाएको हुन सक्छ ।”
    उनका अनुसार के वाटरले एसियाली विकास बैंक(एडीबी) र एक्जिम बैंक अफ कोरियासँग ०.०५ प्रतिशत सहुलियत दरमा कर्जा लिन प्रक्रिया सुरु गरेको छ । एडीबी र एक्जिम बैंकबाट सहुलियत दरमा कर्जा पाए आयोजना आर्थिक रुपम सम्भाव्य हुने उनको भनाइ छ ।
    आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो । आयोजनाबाट उत्पादन हुने बिजुली प्राधिकरणले खरिद गर्नेछ । स्थानीय बासिन्दाले मागेमा कोरिया वाटरले १० प्रतिशत सेयर दिने सहमति भएको छ ।
    आयोजना नदीको बहावमा (रन अफ दि रिभर) मा आधारित छ । आयोजना बनाउन कोरिया वाटरलाई एसियाली विकास बैंक(एडीबी) ले ऋण दिन आशयपत्र दिएको छ । एडीबीका अतिरिक्त कोरियाको एक्जिम बैंकले पनि आयोजनामा लगानी गर्नेछ ।
    आयोजना बनाउन ७ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्ने देखिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् जोड्न प्रसारणलाइन निर्माणका साथै प्राधिकरणबाट लगानी गर्नुपर्ने रकम आयोजनाको अध्ययनपछि निश्चित हुनेछ । आयोजना पर्वत जिल्लामा पर्छ । आयोजना हालको मोदी आयोजनाभन्दा माथि छ । आयोजनाको बाँध कास्कीको घान्द्रुक नजिक नयाँ पुल बजार र विद्युत्गृह सोही जिल्लाको स्याउलेमा बन्नेछ । आयोजनाको पहिचान सन् २००० मा प्राधिकरणले गरेको थियो ।

    प्रस्तुति: कारोबार
    Photo : newsis.com