प्रसारण लाइन नहुँदा विद्युत् आयोजना समस्यमा

    3564

    लमजुङ २४ मंसिर – जलविद्युत्को प्रचुर संभावना रहेको लमजुङमा विद्युत् ट्रान्समिसन लाइन थप नहुँदा जिल्लामा सञ्चालन गर्नेे भनिएका दर्जनौं जलविद्युत् आयोजना अन्योलमा छन् । निर्माणको तयारीमा रहेका जलविद्युत् आयोजनाहरू उत्पादित विद्युत् वितरण गर्न ट्रान्समिसन लाइन थप नहुँदा समस्यामा परेका हुन् ।
    ट्रान्समिसन लाइन नहुँदा कतिपय आयोजनाले विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्न ढिलाइ गरेका छन् भने कतिपयले निर्माणकार्य रोकेका छन् । लमजुङमा झन्डै ३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताइए पनि जिल्लामा उत्पादन भएको विद्युत् बाहिर पठाउने बाटो नहुँदा समस्या आएको हो ।
    लमजुङमा हाल मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाबाट ७० मेगावाट, खुदीबाट ४.५ मेगावाट सिउरीखोलाबाट ५ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । उत्पादित विद्युत् उदीपुर सबस्टेसनबाट पठाउने गरिए पनि बर्खाको समयमा पूरै विद्युत् जान सकेको छैन ।
    राजधानीलगायत देशका अधिकांश जिल्लाहरूमा लोडसेडिङ हुने तर राष्ट्रिय प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खपत हुन नसक्ने अवस्था रहेको जलविद्युत् प्रवद्र्धकहरूले बताएका छन् । उनीहरूले लमजुङमा तत्काल तीन स्थानमा विद्युत् ट्रान्समिसन लाइन निर्माण गर्नुपर्र्ने आवश्यकता औंल्याएका छन् । प्राधिकरणले बनाउन लागेको उत्तरी क्षेत्रको खुदी टारीकुना–उदीपुर, पूर्वी क्षेत्रको कीर्तिपुर–उदीपुर र पश्चिम क्षेत्रको भोर्लेटार–दमौली ट्रान्समिसन लाइन छिटो निर्माण गर्नुपर्ने माग आयोजन प्रवृद्र्धकको छ ।
    सुपरदोर्दी जलविद्युत् आयोजनाका प्रवद्र्धक एवं जलविद्युत् जनसरोकार प्रवद्र्धन समिति लमजुङका सदस्य केशवबहादुर रायमाझीले जिल्लामा २ सय मेगावाटभन्दा बढीको कनेक्सन सम्झौता भए पनि ट्रान्समिसन लाइनको अभावमा आयोजनामा लगानी गर्न हिचकिचाउनुपर्ने अवस्था रहेको बताए । माथिल्लो मस्र्याङ्दी १ आयोजनाका प्रवद्र्धक हेमजङ गुरुङले राज्यले ट्रान्समिसन लाइन निर्माणमा तत्काल ध्यान दिनुपर्ने बताए । “सरकारले समय तोकेर सम्झौता गराउँछ, तर उत्पादित विद्युत् लैजाने बाटो निर्माण गर्न ढिलाइ गर्छ,” गुरुङले भने ।
    उनले स्थानीय राननीतिक दल, विकासकर्मी, सरकारी प्रतिनिधि सबैले जिल्लाको ट्रान्समिसन लाइन निर्माणका लागि पहल आवश्यक रहेको बताए ।
    पूर्वी लमजुङमा निर्माण हुन लागेको सुपर दोर्दी ‘ए’ जलविद्युत् आयोजना पनि ट्रान्समिसन लाइनको अभावमा रोकिएको छ । प्रवद्र्धक शेरबहादुर बूढाले ट्रान्समिसन लाइन बन्न नसक्दा बैंकहरूले समेत पत्याउन छाडेको गुनासो गरे ।
    लमजुङमा पानीको वहाव कम हुँदा १ हजार ६ सय र बढी हुँदा २ हजार ५ सय मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ । मस्र्याङ्दी नदी र यसका आसपासमा बग्ने खुदी, ङादी, राँधी, दोर्दी, मादीलगायतका नदीबाट ४० वटा आयोजनाले अनुमति प्राप्त गरेका छन्, जसबाट कुल ७ सय ९२ मेगावाट विद्युत् उत्पादन हुनेछ । स्वीकृत प्राप्त भइनसकेका २९ आयोजनाबाट थप ८ सय ६ मेगावाट गरी कुल १ हजार ५ सय ९८ मेगावाट विद्युत् उत्पादन हुन सक्ने देखिएको छ ।

    प्रस्तुति: कारोबार