ललितपुरमा ५५ प्रतिशत विद्युत् चोरी

    1446

    विद्युत् चोरी कम नभए ‘ब्ल्याक आउट’ गर्ने प्राधिकरणको चेतावनी

    उपत्यकाको ललितपुरमा वितरण हुने विद्युतकाे ५५ प्रतिशत चोरी हुने पत्ता लागेको छ । विद्युत् प्राधिकरणले चुहावट नियन्त्रणका लागि गरेको अध्ययनअनुसार ललितपुरका केही क्षेत्रमा अत्यधिक विद्युत् चोरी हुने गरेको पाइएको हो ।

    प्राधिकरणले अवैध विद्युत् चोरीलाई निरुत्साहित गर्न र त्यसलाई हटाउन १५ दिनको समय दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नै पहलमा वर्षौँदेखि संगठित रूपमा विद्युत् चोरी भएको क्षेत्रका उपभोक्तालाई सचेत गराउँदै कडा कारबाहीको चेतावनी दिए ।

    यी स्थानमा हुन्छन् धेरै विद्युत् चोरी 
    ललितपुरको भित्री सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछेलगायतका स्थानमा संगठित रूपमा विद्युत् चोरी भइरहेको प्राधिकरणले जनाएको छ ।

    गोदावरीतर्फ विद्युत् आपूर्ति हुने फिडरअन्तर्गत हरिसिद्धि, गुहीटोल, ठैव, बाँडेगाउँ, लुभ जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लुभु बसपार्क, लाँकुरी भन्ज्याङ अत्यधिक विद्युत् चोरी हुने क्षेत्र हुन् । यसैगरी, चापागाउँ जाने फिडरअन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँलगायतका क्षेत्रका बासिन्दाले संगठित रूपमा विद्युत् चोरी गरेको प्राधिकरणले जनाएको छ ।

    ती क्षेत्रमा औसत विद्युत् चोरी ५० प्रतिशत छ । प्राधिकरणले चोरीका कारण यी स्थानहरूबाट मात्रै वार्षिक करिब ५० करोड रुपैयाँ राजस्व गुमाइरहेको छ । उपभोक्ताले जोखिमपूर्ण रूपमा विद्युत्को प्रयोग गरिरहेका छन् । यसरी प्रयोग गरिएको विद्युत् असुरक्षित हुने हुँदा ठूलो दुर्घटनासमेत हुने सम्भावना उत्तिकै रहेको प्राधिकरणले जनाएको छ ।

    विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिनेलगायतका काम संगठित रूपमै भइरहेको प्राधिकरण लगनखेल वितरण केन्द्रका प्रमुख वीरेन्द्र सिंहले बताए ।

    विद्युत् चोरीका घटना नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठित रूपमै कर्मचारीमाथि आक्रामण हुने गरेको भन्दै यसलाई रोक्न स्थानीय राजनीतिक दल र प्रशासनिक नेतृत्वको सहयोग अपरिहार्य रहेको उनले बताए ।

    चोरी नियन्त्रणका लागि विद्युत् वितरणको नांगो तारको सट्टा माइन्सुलेटेड एबिसी केबल फेर्ने, सडक बत्ती मिलाउने, ट्रान्सफर्मर फेर्नेलगायतका काम व्यापक रूपमा भइरहेको प्राधिकरणले जनाएको छ ।

    विद्युत् चोरी नियन्त्रणका लागि घिसिङ आफैँ अग्रसर भएर ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, प्रहरी प्रमुखसँग छलफल गर्दै सहयोगका लागिसमेत आग्रह गरेका छन् ।

    ललितपुरलाई विद्युत् चोरीमुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र प्रशासनले पनि सहयोग गर्नुपर्ने उनले बताए । गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत् चुहावट छ । चालू आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको रहेको छ ।

    ३ वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६.८२ को चुहावटलाई चालू आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य रहेको बताएको छ ।

    १५ दिनभित्र चोरी नियन्त्रण नभए ललितपुर अन्धकार
    प्राधिकरणले ललितपुरका मुख्य चार स्थानहरू चापागाउँ, पाटन क्षेत्र, लुभु र गोदावरी क्षेत्रमा १५ दिनभित्र विद्युत् चोरी नरोकिए पूरै क्षेत्र अन्धकार बनाइदिने चेतावनी दिएको छ । प्राधिकरणले पटक–पटक ताकेता गरेर मिटर राख्न आह्वान गर्दा पनि स्थानीयले चासो नदिएको भन्दै विद्युत् कटौती गर्ने चेतावनी दिएको हो ।

    प्राधिकरणका कर्मचारी मिटर रिडिङ गर्न जाँदासमेत संगठित रूपमा अवरोध हुने गरेको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङले सहज रूपमा काम गर्न नदिए स्थानीयलाई नै घाटा हुने बताए । ‘नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा सहयोग नगरे संगठित रूपमा विद्युत् चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् कटौती (ब्ल्याक आउट) गर्छ,’ घिसिङले भने ।

    ‘राजधानीकै उपभोक्ता संगठित रूपमा विद्युत् चोरीमा संलग्न हुनु मुलुककै लागि दुर्भाग्य र बेइजती हो । १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरे ब्ल्याक आउट गर्न बाध्य हुनेछौँ, घिसिङले भने, ‘त्यसपछि जस्तोजुकै ठूलो दबाब आए पनि हामी निर्णयबाट पछि फर्कनेछैनौँ, राजधानीलाई विद्युत् चोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिन्छ ।’

    स्रोत:नयाँपत्रीका