दुई हप्ताभित्र रसुवा–भोटेकोसीको डलरमा पिपिए

    1743

    नेपाल विद्युत् प्राधिकरणले दुई हप्ताभित्र रसुवा–भोटेकोसी जलविद्युत् आयोजनाको अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले मस्यौदा गरेको पिपिएमा आयोजना प्रवद्र्धक लाङटाङ भोटेकोसी हाइड्रोपावर कम्पनीले सहमति जनाएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । ‘आइतबार कम्पनीले मस्यौदामा सहमतिस्वरूप हस्ताक्षर गरेको हो, अन्तिम सम्झौता हुन बा“की नै छ,’ उनले भने । १ सय १० मेगावाट क्षमताको यस आयोजना डलरमा पिपिए गर्न लागिएको सबैभन्दा ठूलो आयोजना हो । प्रवद्र्धक कम्पनीले मस्यौदामा सहमति जनाएपछि अब प्राधिकरणको विद्युत् विकास विभागले राय दिने र प्रक्रिया पूरा गरेर सञ्चाकल समितिले पारित गरेपछि मात्र प्राधिकरण र आयोजना प्रवद्र्धकबीच पिपिएमा हस्ताक्षर हुनेछ ।

    माथिल्लो त्रिशूली–१ मा अझै २ महिना
    २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको विद्युत् खरिद सम्झौता हुन अझै न्यूनतम १ देखि अधिकतम २ महिना समय लाग्ने प्राधिकरणले जानकारी दिएको छ । रसुवा–भोटेकोसी जलविद्युत् आयोजना र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना दुवैको डलरमा पिपिए गर्ने भए पनि दुई आयोजनाबीचको आधारभूत स्थिति फरक रहेको प्राधिकरणले जनाएको छ । रसुवा–भोटेकोसी जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) गरिएको छैन । तर, माथिल्लो त्रिशूली–१ आयोजनाको पिडिए गरिएको छ । ‘पिडिए गरिएका आयोजनाको सम्झौतामा उल्लिखित प्रावधानअनुसार आयोजना लागत कर्जा, प्रकोपलगायतका विषयमा अध्ययन तथा परीक्षण गर्नुपर्ने भएकाले ढिलो हुन्छ,’ प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले भने । अहिले माथिल्लो त्रिशूली–१ आयोजनाको पिपिए छलफल प्रारम्भिक चरणमै रहेको प्राधिकरणले जानकारी दिएको छ ।

    स्रोत : नयाँ पत्रिका