चमेलिया अझै अनिश्चित

    1103

    तीन महिनाअघि चमेलिया जलविद्युत् आयोजनाको ठेकेदारलाई रकम दिई काम सञ्चालन गर्न संसद्को लेखा समितिले निर्देशन दिए पनि काम अगाडि बढ्न सकेको छैन । गत पुस १३ मा समितिले आयोजनाको बन्द काम सुचारु गर्न निर्देशन दिए पनि ठेकेदार काममा फर्किएको छैन । सिभिल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले भुक्तानी नपाएसम्म काम सुरु गर्न नमानेको आयोजना कार्यालयले जनाएको छ ।

    देशले ठूलो लोडसेडिङ भोग्नुपरेको भन्दै सरकारले निर्माणको अन्तिम चरणमा पुगेका जलविद्युत् आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखेर छिटो टुंग्याइने दाबी गर्दै आएको भए पनि दार्चुलामा निर्माणाधीन ३० मेगावाट उक्त आयोजनाको काम भने सरकार र ठेकेदारको लापरबाहीले अलपत्र परेको छ ।

    आयोजनाको परामर्शदाताले करिब दुई साताअघि ठेकेदारलाई निर्माण कार्य सुचारु गर्न पत्राचार गरेको आयोजना प्रमुख राजेन्द्र मानन्धरले जानकारी दिए । अहिलेसम्म ठेकेदारले आयोजनालाई कुनै जवाफ दिएको छैन । ठेकेदारले चीनमा रहेको मुख्य कार्यालयलाई जानकारी गराएको र त्यहाँबाट कुनै प्रतिक्रिया नआएको सम्बद्ध एक अधिकारीले बताए । अहिले सुरुङ बाहेकको ग्राउन्डिङ, स्कुचिङ र पावरहाउस निर्माणलगायत निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । तत्काल सुरुङ निर्माण सुचारु भए अबको ६ महिनामा विद्युत् उत्पादन हुन सक्ने आयोजना प्रमुख मानन्धरको दाबी छ ।

    कम्पनीले सम्झौताअनुसार नेपाल विद्युत् प्राधिकरणले समयमा भुक्तानी नगरेको भन्दै २०७१ जेठदेखि अनिश्चित कालका लागि सुरुङ निर्माण कार्य रोकेको थियो । लेखा समितिले २०७१ असार ६ मा नयाँ काम (भेरिएसन) मा भ्रष्टाचार भएको भन्दै भुक्तानीमा रोक लगाएको हो । यसअघि नै प्राधिकरण बोर्डले निर्माण कम्पनीलाई आधा भुक्तानी गर्ने निर्णय गरेको थियो । आयोजनालाई रोकिएको काम कहिलेबाट सुरु हुने यकिन छैन ।

    सरकारले निर्माणको जिम्मा पाएको कम्पनीलाई समयमै राम्रोसँग परिचालन गर्न नसक्दा आयोजनाको अवधि लम्बिँदै गएको छ । आयोजनाको सुरु लागत ७ अर्ब थियो । विभिन्न कारण आयोजना निर्माणको काम लम्बिदै जाँदा राज्यले ठूलो व्ययभार बेहोरिरहेको छ । पछिल्लो पटक यसको लागत बढेर १५ अर्ब ६ करोड पुर्‍याइएको थियो । उक्त आयोजना सन् २०११ मा सम्पन्न हुनुपर्ने थियो ।

    दार्चुलाको बलाचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको पावर स्टेसन ।

    @ कान्तिपुर