मध्य भोटेकोसीको निर्माण डेढ वर्ष टाढा धकेलियो

    2773

    सिन्धुपाल्चोकमा हालसम्मकै ठूलो मध्य भोटेकोसी जलविद्युत् आयोजनाको ठप्प भएको काम ११ महिनापछि पुनः सुरु भएको छ । गत वैशाख १२ गतेको भूकम्प, त्यसपछिका परकम्प तथा भारतको अघोषित नाकाबन्दीले ठप्प भएको काम चिनियाँ ठेकेदार अयोजनास्थलमा फर्केपछि काम सुरु भएको हो ।

    एक सय दुई मेगावाटको उक्त आयोजना सन् २०१३ मा सुरु भई सन् २०१७ को जुनमा सम्पन्न गरिने लक्ष्य रहेकामा जुरे पहिरो, भूकम्प र नाकाबन्दीले गर्दा ११ महिना काम रोकिएको हुँदा डेढ वर्षपछि धकेलिएकाले सन् २०१८ को डिसेम्बरमा पूरा गरिने आयोजना प्रमुख मनोज सिलवालले बताए ।

    “अझै पनि आवश्यक इन्धन उपलब्ध हुन सकेको छैन”, सिलवालले भने, “कुनै अवरोध नआएमा तोकिएको समय सीमाभित्रै आयोजनाको काम पूरा हुने छ ।” सो आयोजनाको काम २०७१ साउन १७ गतेको जुरे पहिराले सडक अवरुद्ध हुँदा चार महिना रोकिएको थियो ।

    आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनीका सबै कर्मचारी भूकम्पपछि बस्ने सहज स्थिति नभएपछि काम छाडेर देश फर्केका थिए । केही महिनापछि ठेकेदार काम गर्न आउन तयार भए पनि नाकाबन्दीले गर्दा काम हुन सकेको थिएन । अब उनीहरु सबै फर्किसकेका र १५ दिनदेखि तीव्र रुपमा काम भइरहेको आयोजनाले जनाएको छ ।

    आयोजनाको निर्माण चीनको ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले जिम्मा पाएको थियो । नाकाबन्दी खुले पनि अझै इन्धन सहज भएको छैन । ऊर्जा मन्त्रालयले सहयोग गरे पनि नेपाल आयल निगमबाट पर्याप्त इन्धन नपाएको आयोजनाले जनाएको छ ।

    “आयोजनालाई मासिक ३० हजार लिटर इन्धन आवश्यक पर्छ”, सिलवालले भन्नुभयो, “हामीले माग अनुसारको इन्धन प्राप्त गर्न अझै सकेका छैनाैं ।” आयोजनालाई आवश्यक पर्ने सम्पूर्ण जग्गा उपलब्ध भइसकेको छ । सुरुमा केही विवाद भए पनि हाल मुआब्जा वितरण भइसकेको हुँदा समस्या समाधान भइसकेको छ ।

    चिलिमे कम्पनीको मुख्य प्रवद्र्र्धनमा निर्माण भइरहेको आयोजनाको मुख्य सुरुङको काम भने अप्रिलदेखि पुनः सुरु हुने छ । सुरुङ निर्माणका लागि दुई बेलिब्रिज समेत राखिने भएको छ ।

    राजनीतिक दलका स्थानीय कार्यकर्ताले विभिन्न माग राख्दा जिल्लामा निजी क्षेत्रबाट सञ्चालित विद्युत् आयोजना समयमै पूरा हुन सकेका छैनन् । निर्धारित समयमा पूरा हुन नसकेपछि लगानीकर्ताले घाटा सहनाका साथै देशवासीले समेत लामो समयको विद्युत्भार कटौती मार खेपिरहेका छन् ।

    राजनीतिक कार्यकर्ताकै कारण पाँच वर्ष अगाडि नेपाली र भारतीयको संयुक्त लगानी रहेको ५० मेगावाटको बलेफी विद्युत् आयोजना अलपत्र अवस्थामा छ । प्रवेश मार्गका लागि करिब रु ३० करोड खर्च भइसकेको सो आयोजना सुरक्षाकै कारण हालसम्म पुनः सुरु हुन सकेको छैन ।

    नेपाल सरकारले एक वर्षभित्र विद्युत्भार कटौती हटाउने अठोट सहित ऊर्जा सङ्कट घोषणा गरिसकेको छ । तर त्यसको पूर्ण रुपमा कार्यान्वयन भएमा मध्य भोटेकोसीलगायत देशका विभिन्न स्थानमा सञ्चालित आयोजना पनि लक्ष्यभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ ।

    सुरुमा रु १२ अर्ब २८ करोड लागत रहेकामा भूकम्प र नाकाबन्दीका कारण हाल रु १३ अर्ब ७५ करोडमा सम्पन्न गरिने लक्ष्य छ । अमेरिकी डलरको भाउ बढे मात्र लागत बढ्ने, नत्र बढीमा रु १४ अर्बको सीमाभित्रै रहेर काम सम्पन्न हुने सिलवालले बताए।

    आयोजनाका लागि २०६८ सालमा कर्मचारी सञ्चय कोषसँग रु छ अर्ब लगानी गर्ने ऋण सम्झौता भइसकेको छ । चिलिमे जलविद्युत् आयोजनाको ३८ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत र स्थानीय तीन आयोजनाको तीन प्रतिशत सेयर लगानी हुने छ ।

    बाँकी ४९ प्रतिशतमध्ये १९.५ प्रतिशत सञ्चय कोष, १० प्रतिशत जिल्लावासी र प्रभावित गाविस, १५ प्रतिशत सर्वसाधारण, ३.५ प्रतिशत लगानीकर्ताका कर्मचारी र एक प्रतिश सञ्चयकोषका कर्मचारीको लगानी रहने छ ।

    विसं २०७० मङ्सिरमा विद्युत् विकास विभागबाट उत्पादन अनुमति प्राप्त सो आयोजनाको वार्षिक बिक्रीयोग्य विद्युत् उत्पादन रु ५४ करोड २३ लाख युनिट हुने छ । सुख्खा याममा आठ करोड ३७ लाख र बर्खामा ४५ करोड ८६ लाख युनिट उत्पादन हुने छ ।

    चाकुखोला दोभानभन्दा १०० मि तल नौ मि उचाइ र ३७ मि लम्बाइको बाँध बाँधी सात किमी १२४ मि सुरुङ निर्माण गरी गाती गाविसको जम्बुमा निर्माण हुने विद्युत्गृहमा पानी खसालिने छ ।

    अरनिको राजमार्गको सुविधाप्राप्त आयोजनाको विद्युत्गृहबाट सर्ज ट्याङ्कसम्म जाने करिब २.७ किमी र हेडरेस सुरुङका लागि कन्सट्रक्सन अडिट १ सम्म जाने स्थानमा ७५० मि प्रवेश मार्ग निर्माण गरे पुग्ने आयोजनामा ३४ मेगावाटका तीन टर्वाइन जडान गरिने छ ।

    माथिल्लो तामाकोसी आयोजनाले बनाउने २२० केभिएको प्रसारण लाइन बाह्रबिसे भएर जाने हुँदा सो आयोजनाले चार किमी प्रसारण लाइन निर्माण गरी बाह्रबिसेमा जोडिने छ । त्यहाँबाट लामोसाँघुस्थित सब स्टेसन मार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाले जनाएको छ ।

    रासस