काबेली ‘बी वान’ अायोजना ‘काबेली करिडोर’को पूर्णता पर्खँदै

    1129

    तराईमा चलेको आन्दोलन र भारतीय नाकाबन्दीको समेत पर्वाह नगरी आयोजना निर्माणलाई तीव्र पारेको काबेली ‘बी वान’ जलविद्युत् आयोजनाले यति बेला ‘काबेली करिडोर’ को पूर्णतालाई पर्खिरहेको छ ।

    निर्माणाधीनमध्ये मेची अञ्चलकै ठूलो जलविद्युत् आयोजनाका रुपमा रहेको सो आयोजनाले करिडोरको पूर्णतापछि मात्र विद्युत् उत्पादन सुरु गर्ने रणनीतिअनुसार निर्माण अघि बढाएको हो ।

    अरुण कोलबी पावर लिमिटेडले निर्माण गर्दै गरेको २५ मेगावाटको काबेली ‘बि वान’ले आगामी २०७४ कात्तिकमा निर्माण सम्पन्न गर्ने गरी आयोजना अघि बढाएको हो ।

    पाँचथर र ताप्लेजुङको सिमानाबाट काबेली नदीमा निर्माणाधीन आयोजना काबेली करिडोरको पूर्णतामा सहयोग पु¥याउँदै निर्माण तीव्रताका साथ अघि बढेको छ ।

    पाँचथरको थर्पु र ताप्लेजुङको थुम्बेदिन गाविसको सीमाबाट बग्ने इवा र काबेली नदीको दोभान नजिकैबाट ब्यारेज निर्माण गरी पाँचथरतर्फ पानी फकाई चार मि व्यासको फलामे पाइप मार्फत चार हजार ८०० मि लामो पानी बहने प्रणालीद्वारा नागी–९ जुठेभिरमा ट्यांक बनाई पानी खसालिनेछ ।

    ट्यांकबाट तीन मि व्यासको फलामे पाइपबाट ३६३ मि तल टर्वाइनमा पानीले हिर्काई विद्युत् उत्पादन गरिनेछ । उक्त टर्बाइनमा ३५ हजार लि पानी प्रतिसेकेन्ड झर्नेछ ।

    चार अर्ब लगानीमा सुरु भएको आयोजनाको ७० प्रतिशत लगानी नेपाल इन्भेस्टमेन्ट बैंक सहित विभिन्न वित्तीय संस्थाले व्यहोरेका छन् भने बाँकी लगानी आयोजना निर्माण कम्पनीले गर्नेछ । झन्डै १५ करोड रूपैयाँ लगानी पाँचथरवासीबाट हुनेछ । यसका लागि निकट भविष्यमा सेयर आह्वान गर्ने तयारी भइरहेको अरुण कोलबी पावर लिमिटेडले जनाएको छ ।

    आयोजनाबाट उत्पादित विद्युत्ले समग्र देशको विद्युत्भार कटौतीमा साढे दुई घन्टा भार थाम्ने आयोजनाका प्राविधिक प्रमुख हस्तमान राईले बताए।

    करिब ४०० भन्दा बढी रोपनी क्षेत्रफलमा फैलिएको आयोजनाले पाँचथरको नागी र थूपू गाविसमा मात्रै करिब रु छ करोडमा जग्गा खरिदमा खर्चेको जनाएको छ ।

    @रासस