रसुवागढी र हेवाखोला आयोजनाबाट विद्युत् उत्पादनको लाइसेन्स

    1294

    Ministry of Energyकाठमाडौं, २३ मंसिर – सरकारले रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडलाई रसुवागढी जलविद्युत् आयोजना र पाँचथर पावर कम्पनीलाई हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन लाइसेन्स दिएको छ ।
    दुवै कम्पनीलाई ऊर्जा मन्त्रालयले विद्युत् उत्पादनको लाइसेन्स दिएको हो । रसुवागढीको जडित क्षमता १ सय ११ मेगावाट छ भने हेवाखोला ‘ए’ को १४.५ मेगावाट छ । यी दुई आयोजना समेत गरी सरकारले ५५ कम्पनीलाई १ हजार ७ सय ७२ मेगावाट विद्युत् उत्पादनको अनुमति दिएको छ ।
    रसुवागढी आयोजना चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको लगानीमा निर्माण हुन लागेको हो । यस्तै हेवाखोला पनि निजी लगानीमा निर्माण हुन लागेको हो । दुवै आयोजना स्वदेशी लगानीबाट आन्तरिक खपतका लागि बन्न लागेका हुन् । लगानीकर्तालाई ३५ वर्षका लागि ऊर्जाले विद्युत् उत्पादनको लाइसेन्स दिएको हो ।
    रसुवागढी र पाँचथरले आयोजना बनाउन लगानी जुटाउनुका साथै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद समझौता (पीपीए) समेत गरिसकेका छन् । यी दुवै आयोजना आगामी सन् २०७५ मा निर्माण सम्पन्न हुनेछन् ।
    रसुवागढी आयोजना निर्माण गर्न १२ अर्ब ४५ करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । कम्पनीले ६ अर्ब २२ करोड रुपैयाँ कर्मचारी सञ्चय कोषबाट कर्जा पाइसकेको छ । रसुवा जिल्लामा पर्ने सो आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुनेछ । यस्तै हेवाखोलाबाट वार्षिक ८ करोड २० लाख युनिट विद्युत् उत्पादन हुने छ । हेवाखोला पाँचथर जिल्लामा पर्छ ।
    कम्पनीले रसुवागढीमा आयोजनाको परामर्शदातामा अस्ट्रेलियाको स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक) लाई नियुक्त गरिसकेको छ । यस्तै सिभिल निर्माणका लागि बोलपत्र आह्वानको तयारीमा छ ।
    चिलिमेले रसुवागढीको अतिरिक्त १ सय ०२ मेगावाटको मध्यभोटेकोसी, ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजना बनाउँदैछ ।

    प्रस्तुति: कारोबार