मध्यमर्स्याङ्दीमा अत्यधिक बालुवा, प्राविधिकहरूबाट अनुसन्धान सुरु

    2725

    ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँध बनाइएको स्थल घुमाउरो भएकाले अत्याधिक बालुवा जम्मा भएकोे खुलासा भएको छ । बाँधस्थलमा ‘मोडलिङ’ नहुँदा यो समस्या हरेक वर्ष आइरहने बताइएको छ ।

    पानीको वहावमा आधारित आयोजना भए पनि पानी बस्नुपर्ने स्थानमा अत्यधिक बालुवा जम्मा भएपछि यसले विद्युत् गृहको टर्वाइनसहित अन्य भागमा गम्भीर असर पार्ने गरेको खुलासा भएको छ । हरेक वर्ष परियोजनाको बाँधस्थल सफा गर्दा ५ हजार ‘पीपीएम’ बालुवा हुनुपर्नेमा यस वर्ष २१ हजार ‘पीपीएम’ सम्म जम्मा भएको पाइएको छ । जबकी ८ हजार पीपीएम बालुवा हुँदासम्म आयोजना सञ्चालन गर्न सकिन्छ ।

    तर, परियोजनाले गत वर्षदेखि ८ हजार पीपीएम बालुवा भरिदाँसम्म पनि आयोजना सञ्चालन गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणको ८ हजार पीपीएमभन्दा बढी बालुवा भरिएमा आयोजना सञ्चालन नगर्नु भन्ने निर्देशन भए पनि अहिलेसम्म बालुवा निकाल्ने काम भएको छैन ।

    लगातारको वर्षा र नदी आसपासका क्षेत्रमा गएको बाढीपहिरोका कारण गत वर्षभन्दा यस वर्ष २१ हजार पीपीएम बालुवा परियोजनाको बाँधस्थलमा थुप्रिएको स्रोतले बताएको छ । आयोजनाको बाँधस्थलभन्दा माथिल्लो क्षेत्रमा रहेका डाँडा तथा थुम्का मिलाउनुपर्ने भए पनि त्यसो नगरिँदा समस्या आएको प्राविधिकहरूले बताउँदै आएका छन् ।

    जर्मन प्राविधिकको डिजाइनमा बनेको यो आयोजनाको मोडलिङ नहुँदा भएको क्षति र यसको समाधानको विषयमा अहिले प्राविधिकहरूले अनुसन्धान सुरु गरेका छन् । गत वर्ष नै परियोजनाको बाँधस्थलको समस्याका बारेमा जर्मन प्राविधिक डा. प्यासनरको नेतृत्वमा विज्ञहरूसमेत सम्मिलित टोलीले यसको अनुसन्धान गरेको थियो ।

    तर, अहिलेसम्म पनि कुनै काम भने अघि बढेको छैन । विगतका वर्षहरूमा पनि बाँधस्थलमा जम्मा भएको बालुवाले आयोजनाको बाँध क्षेत्रमा रहेको सर्भिस गेट र लेफ्ट बैंकको रिप¥याप तथा विद्युत् गृहमा रहेका इलेक्ट्रोमेकानिकलअन्तर्गतका टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर, गाइडभेन, बटम रिङलगायतका पार्टस् बिग्रिएपछि मोटो रकम खर्चेर मर्मत गरिँदै आएको थियो । लामो भूमिगत सुरुङ र बालुवा थिग्राउने भूमिगत पोखरी बनाउँदा पनि बाँधस्थलबाटै धेरै बालुवा छिरेकाले यसको असर टर्बाइनमा परेको बताइएको छ ।

    मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाले बालुवाका कारण बिग्रिने गरेका दुइटै टर्बाइन हरेक वर्ष फेर्दै आएको छ । ९ वर्षअघि जर्मन सरकारको अनुदान तथा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

    परियोजना जोगाउने अभियान

    यसैबीच मध्यमस्र्याङ्दीलाई बालुवाबाट जोगाउन ठाउँ–ठाउँमा थेग्रीकरण नियन्त्रणको अभियान सुरु भएको छ । परियोजनाको जलाशयमा बढ्दै गइरहेको थेग्रीकरणलाई न्यूनीकरण गर्नका लागि अभियान थालिएको हो । जलाधार क्षेत्रको माथिल्लो भेगबाट आउने पहिरोका कारण परियोजनाको बाँधक्षेत्र भरिँदै गएपछि जिल्लास्थित सरोकारवाला निकायले यसका बारेमा चासो राख्न थालेका छन् ।

    यूएसएडको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमअन्तर्गत केयर नेपालको साझेदारीमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) ले पारिस्थितिकीय सेवाको भुक्तानी कार्यक्रमअन्तर्गत विभिन्न खोलामा थेग्रीकरण नियन्त्रणको काम सुरु गरेको हो ।

    स्रोत : कारोबार