तनहुँ जलविद्युत् आयोजना बनाउँदा ४ सय २२ हेक्टर वन क्षेत्र प्रभावित हुने

    2698

    तनहुँ जलविद्युत आयोजना निर्माणका क्रममा डेढ लाखभन्दा बढी रुख कटान हुने भएको छ । आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रतिवेदन अनुसार आयोजना निर्माणका क्रममा १ लाख ५२ हजार ५ सय २८ रुख कटान गर्नुपर्ने देखिएको छ ।

    यसअघि स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा १ लाख ६१ हजार ९ सय ६७ रुख कटान गर्नुपर्ने देखिए तापनि पूरक वातावरणीय प्रभाव मूल्यांकनका क्रममा ९ हजार ४ सय ३९ रुख घटेको हो ।
    नेपाल विद्युत् प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन विभागले तयार पारेको प्रतिवेदन अनुसार आयोजना निर्माणका कारण ४ सय २२.८९ हेक्टर वन क्षेत्रफल प्रभावित हुनेछ । विभागका सहायक निर्देशक कृष्णप्रसाद जोशीका अनुसार बाँध स्थल जलाधर क्षेत्र आदिका कारणले जीवजन्तुको हिँडडुल तथा वासस्थानमा समेत असर पर्नसक्ने देखिएको छ ।

    आयोजना निर्माणका क्रममा कटान हुने रुख विरुवाको जिल्ला वन कार्यालयको रोहवरमा गणना एवं लगत तयार गरी विद्यमान नीतिबमोजिम १ हेक्टर बराबर १ हजार ६ सय विरुवा वृक्षारोपण गरिनेछ ।

    सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरण अन्तर्गत विभिन्न संरचना निर्माणका लागि १ सय ७० हेक्टर खेतीयोग्य जमिन आवश्यक पर्नेछ । आयोजना निर्माणपछि वार्षिक करिब ६ सय ८९ मेट्रिक टन कृषि उत्पादन घट्नेछ ।

    आयोजनाले तीन चरण बनाई काम थाल्नेछ । पहिलो चरणमा ड्याम निर्माण, दोस्रो चरणमा पावर हाउस निर्माण र तेस्रो चरणमा प्रसारण लाइन निर्माणका काम हुनेछन् । कुनै बाधा अवरोध नभए सन् २०१७ को सेप्टेम्बरमा काम सुरु भई सन् २०२२ को डिसेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    स्रोत : कारोबार