वायुऊर्जा केन्द्र मर्मत गर्न स्थानीयको माग

    3229

    मुस्ताङ (कागबेनी),२६ मंसिर – मुस्ताङको कागबेनी गाविसमा रहेको वायुउर्जा केन्द्र मर्मत गर्न स्थानीयवासीले माग गरेका छन् । प्राकृतिक रूपमा धेरै हावा चलिरहने कागबेनीमा रहेका वायु पंखा सञ्चालन र मर्मतका लागि आवश्यक बजेट अभावको कारण भग्नावशेषमा परिणत भएका छन् ।

    Kagbani Wind Powerवायु ऊर्जाकेन्द्रपछि मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने स्थानीय सोनमफुर्वा गुरुङले बताए । “यसमा स्थानीयको मेहनत र पहिचाहन समेत जोडिएको छ,” पर्यटन ब्यवसायीसमेत रहेका गुरुङले भने, “यो पर्यटकलाई आकर्षण गर्ने एउटा माध्यमसमेत बनेको थियो । “देशका अन्य सम्भावित स्थानमा समेत वायुऊर्जा सञ्चालन गर्न प्रोत्साहन मिल्ने भन्दै कागबेनीलाई वायुऊर्जा गाविसका रूपमा चिनाउनुपर्ने स्थानीयको तर्क छ ।
    २०४६ सालमा नेपालमै पहिलो पटक स्थापना गरिएको केन्द्र दुई महिना मात्र विद्युत् उत्पादन भए पनि उत्तरी दिशाबाट बहने हावाको तीव्र वेग थाम्न नसकेर दुईवटै पंखा भाँचिएपछि बन्द भएको कागबेनीका गाविस सचिव यज्ञप्रसाद गौतमले बताए । “मर्मत–सम्भारका लागि बजेटको आवश्यकता छ,” गौतमले भने, “मर्मतको आवश्यकता भएकाले गाविसबाट समेत बजेट छुट्ट्याउन सकिन्छ ।” उनका अनुसार उपल्लो मुस्ताङका ६ गाविसमा कम जनसंख्या रहेकाले ऊर्जामा क्षमता विस्तार गरेर प्रयोग गर्न सकिने बताए ।
    वायुउर्जा केन्द्रका आवश्यक अधिकांश साम्रागी गोदाममा राखिएको छ । उपकरण मर्मतका लागि लागत तथ्यांक संकलन गरी  वायुउर्जाको क्षेत्रमा काम गर्ने संघ–संस्थामा पठाउने र बाँकी कामका लागि स्थानीयवासीले सहयोग गर्ने बताएका छन् । कामबेनीमा दिउँसो १ बजेदेखि तीन बजेसम्म तीव्र गतिमा हावा चल्ने गर्छ । करिब १ करोडको लागतमा निर्माण भएको  २० किलोवाट क्षमताको सो ऊर्जा केन्द्रमाका उपकरणहरू चोरी हुन थालेपछि  स्थानीयले त्यसलाई संरक्षण गरेका छन । कागबेनीमा नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारणलाइन विस्तार भएको छ ।

    प्रस्तुति: कारोबार