भारतबाट ४० मेवा विद्युत् ल्याउने तयारी

    2240

    मङ्सिर २७, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट ४० मेगावाट विद्युत् पुनः आयात गर्ने तयारी गरेको छ । आयातका लागि अन्तिम गृहकार्य भइरहेको प्राधिकरणले अभियानलाई बताएको छ । ‘भारतले कटौती गरेको विद्युत् पुनः ल्याउने पहल भएको हो,’ ऊर्जा मन्त्रालयका प्रवक्ता श्रीरञ्जन लाकौलले भने । आन्तरिक खपतका लागि भन्दै भारतले करीब ३ महीना अघिदेखि ४० मेगावाट विद्युत् कटौती गरेको थियो । सो परिमाणको विद्युत् आयातका लागि प्राधिकरणको व्यापार विभाग निर्देशक शेरसिंह भाटलगायतको टोली केही दिनअघि भारत गइसकेको छ ।

    भारतबाट हाल १ सय १२ मेगावाट विद्युत् आयात हुँदै आएको छ । ‘भारतले नेपालबाट पुरानो भुक्तानी लिन बाँकी भएकाले पनि विद्युत् उपलब्ध गराउन तयार भएको हो,’ प्राधिकरणका एक उच्च अधिकारीले भने । कटैया–दुहबीबाट ३० मेगावाट र रक्सौल–परवानीपुरबाट १० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको हो । ‘लोडशेडिङ न्यूनीकरणका लागि सबै उपाय अवलम्बन गर्न मन्त्रालय तयार छ,’ लाकौलले भने । अहिले भइरहेको प्रसारण लाइन मर्मतबाट नै थप विद्युत् आयात गर्न सकिने प्राधिकरणले बताएको छ ।

    ऊर्जा मन्त्रालयले लोडशेडिङ घटाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएको छ । सोही कार्ययोजनाअनुरूप प्राधिकरणले तत्कालका लागि भारतबाट विद्युत् आयात गर्न कटैयादेखि कुसाहासम्मको १५ किलोमिटर प्रसारण लाइनको निर्माण गर्ने विषयलाई पनि प्रमुखताका साथ अगाडि सारेको छ । भारत सरकारले प्रसारण लाइन निर्माणका लागि सहयोग गर्ने वचन दिएको ऊर्जा मन्त्रालयले बताएको छ । सो प्रसारण लाइन निर्माण गर्नका लागि २९ करोड रुपैयाँ लाग्ने अनुमान छ । प्रसारणलाइन निर्माण गर्न कम्तीमा ६ महीना लाग्ने मन्त्रालयले जानकारी दियो । मन्त्रालयका अनुसार प्रसारण लाइन निर्माणपछि ७५ मेगावाट विद्युत् आयात गर्न सकिन्छ ।