त्रिशुली-गल्छी जलविद्युतको क्षमता घटेपछि अपी पावर कम्पनीको हकप्रद के हुन्छ ?

    1769

    काठमाडौं । ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी जलविद्युत आयोजनाको क्षमता घटेपछि मुल प्रवद्र्धक अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन हुन्छ वा हुदैन अन्यौलता देखिएको छ । प्रवद्र्धक सिद्धकाली पावर लिमिटेडले आयोजनाका लागि श्रोत जुटाउन कठिन भएपछि ५० मेगावाट क्षमता घटाएर २६ मेगावाट कायम गराउन लागेको छ । त्यसका लागि कम्पनीले विद्युत विकास विभागमा निवेदन दिईसकेको छ ।

    सिद्धकालीले ८ किलोमिटर लामो र ८.१ मिटर गोलाईको सुरुङ हुदा जोखिम बढेको र ठुलो लगानी आवश्यक भएको भन्दै क्षमता घटाएर २६ मेगावाट बनाउन लागेको जानकारी दिएको छ । सिद्धकालीका अध्यक्ष रहेका गुरुप्रसाद न्यौपानेले ७५ मेगावाट आयोजना बनाउन भन्दै सर्वसाधारणबाट करोडौ रुपैयाँ उठाएका छन् । सिद्धकालीले सुरुङ विनै आयोजना निर्माणको प्रस्ताव गरेको छ ।

    आयोजनाको ८० प्रतिशत स्वामित्व अपि पावरको छ । अपिले सुदुरपश्चिममा साढे ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । अपीले यही आयोजना बनाउ हकप्रद सेयर निष्कासनको तयारी थालेको थियो । अपीले गत असार ३० गते त्रिशुली–गल्छीका लागि भनेर १ बराबर २ अनुपातमा २ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा कम्पनीले निवेदन दिएको छ । बोर्डले अपीलाई अनुमति दिएको छैन् ।

    भारतको डिजाइन ग्रुप कन्सल्टेन्ट कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले आयोजना आर्थिक रुपमा आकर्षक देखाएको छ । आयोजनाबाट बैंक तथा वित्तीय संस्था पछि हटेपछि आयोजनाको क्षमता घटाइएको तर्क सिद्धकालीको छ । यसअघि लक्ष्मी बैंकको अगुवाइमा आयोजनामा लगानी गर्ने सहमति भएको थियो । यसअघि डलर अर्बपति विनोदकुमार चौधरीले आयोजनामा लगानी गर्ने भनेकोमा उनी पछि हटेपछि आयोजना अन्यौलमा परेको छ । कम्पनीका अध्यक्ष न्यौपाने अहिले लगानीकर्ता खोज्दै हिडेका छन् ।

    पीपीए भइसकेको र सरकारले विद्युत उत्पादन लाइसेन्स दिइसकेको अवस्थामा कम्पनीले आयोजना बनाउनलाई लगानी जुटाउन सकेको छैन् । सिद्धकालीको सञ्चालकमा बुहारी पुजा दाहाल र छोरा सतिश न्यौपाने छन् । सरकारले सिद्धकालीलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । नेपाल विद्युत प्राधिकरण र सिद्धकालीबीच आयोजनाबाट उत्पादन हुने बिजुली खरिदविक्रि सम्झौता (पीपीए) भइसकेको छ । जसअनुसार हिउँदको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ ।

    आयोजनाको बाँध नुवाकोटको साबिकको रातमाटे गाबिस र विद्युतगृह धादिङको कल्लेरी गाविस स्थित हाँडीखोलाटारमा हुने छ ।

    – विकासन्युज