प्राधिकरणका विद्युत् व्यापार र इन्जिनियरिङ सहायक कम्पनी

    1612

    विद्युत् प्राधिकरण, विद्युत् उत्पादन, राष्ट्रिय विद्युत् प्रसारण ग्रिड र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानीमा दुई कम्पनी खोलिने 

    काठमाडौं, १० माघ । सरकारी कम्पनीको लगानीमा मुलुकभित्र तथा बाहिर बिजुली किनबेचका लागि विद्युत् व्यापार र जलविद्युत् आयोजनामा परामर्शको काम गर्न इन्जिनियरिङ कम्पनी खुल्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन, राष्ट्रिय विद्युत् प्रसारण ग्रिड र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानीमा दुई कम्पनी खोल्न लागिएको हो । नयाँ खुल्ने नेपाल पावर टे«डिङ र नेपाल इन्जिनियरिङ कम्पनीमा प्राधिकरणको बहुमत (५१ प्रतिशत) स्वामित्व रहनेछ । प्राधिकरण सञ्चालक समितिको २१ पुसको ७ सय ४४औँ बैठकले कम्पनी दर्ता प्रक्रिया अघि बढाउन ऊर्जा मन्त्रालयमार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरिसकेको छ । प्राधिकरणले कम्पनीको प्रबन्धपत्र र नियमावली पारित गरिसकेको छ ।

    साझा कम्पनी खोल्न लागिएको होः ऊर्जामन्त्री

    मन्त्रिपरिषद्को पुस पहिलो साताको बैठकले दुई कम्पनी खोल्न ऊर्जालाई सैद्धान्तिक सहमति दिएको थियो । प्राधिकरणले पनि छुट्टै व्यापार र इन्जिनियरिङ कम्पनी खोल्ने निर्णय गरेको थियो । सरकार र सरकारको पूर्ण स्वामित्वमा रहेको प्राधिकरणले एकैै प्रकृतिका छुट्टाछुट्टै कम्पनी खोल्ने तयारी गरेका थिए । ऊर्जाले अहिले सरकारी स्वामित्वमा नखोली सरकारी स्वामित्वका कम्पनीको लगानीमा पावर टे«डिङ र इन्जिनियरिङ कम्पनी खोल्न लागेको हो । दुई कम्पनीका सरकारको प्रत्यक्ष लगानी भने रहने छैन । सरकार र प्राधिकरणको परस्पर हित अभिवृद्धि र सरकारी स्वामित्वका संस्थाको साझा हुने गरी दुई कम्पनी खोल्न लागिएको ऊर्जामन्त्री जनार्दन शर्माले बताए । ‘दुवै कम्पनीमा पूर्ण सरकारी स्वामित्वको प्राधिकरण र सरकारको बहुमत सेयर रहेका तीन कम्पनीको लगानी रहनेछ,’ उनले भने, ‘सरकारी संस्थाकै लगानी रहेकाले नया“ कम्पनीमा पनि सरकारकै स्वामित्व हुनेछ ।’

    कम्पनीले गर्ने काम

    मुलुकभित्र र बाहिर विद्युत् व्यापार गर्न सरकारले राष्ट्रिय विद्युत् व्यापार कम्पनी खोल्न लागेको हो । कम्पनीले विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागले हाल गर्दै आएको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)को सबै काम गर्नेछ । कम्पनीले स्वदेशी, विदेशी उत्पादक तथा आपूर्तिकर्ताबाट उत्पादन तथा बिक्री हुने विद्युत् खरिद तथा बिक्री गर्ने गराउने, विदेशी, निजी, सार्वजनिक निकाय, सरकार वा अन्तर्राष्ट्रिय निकायबाट विद्युत् खरिद गरी नेपालमा आयात तथा बिक्री गर्ने–गराउनेछ ।

    स्वदेशी निजी तथा सार्वजनिक निकायबाट उत्पादन तथा आपूर्ति गरिने विद्युत् खरिद गरी वा मध्यस्थतामार्फ विदेशमा निर्यात तथा बिक्री गर्ने गराउने, स्वदेशी विद्युत् उत्पादकबाट विद्युत् खरिद गरी वा निजको प्रतिनिधि भई विद्युत् खरिद–बिक्री गर्ने, अन्तरदेशीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय विद्युत् व्यापार अभिवृद्धि, ऊर्जा बंैकिङलगायतका काम कम्पनीले गर्नेछ । जलविद्युत् र अन्य पूर्वाधार अध्ययन अनुसन्धान गर्न सरकारी तहमै सशक्त र स्रोत–साधनयुक्त इन्जिनियरिङ कम्पनी खोल्न लागिएको हो । परामर्श सेवामा आत्मनिर्भर हुन कम्पनी खोल्न लागिएको प्राधिकरणले जनाएको छ । अहिले जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणसम्म विदेशी कम्पनीले परामर्श सेवा उपलब्ध गराइरहेका छन् ।

    कम्पनीको पुँजी एक अर्ब

    पावर ट्रेडिङ र इन्जिनियरिङ कम्पनीको अधिकृत र तत्काल जारी पुँजी १–१ अर्ब रुपैयाँ छ । जारी पुँजीलाई प्रतिसेयर एक सय रुपैयाँ दरका एक करोड थान साधारण सेयरमा   विभाजन गरिएको छ । कम्पनीका संस्थापकले तत्काल चुक्ता गर्न कबोल गरेको पुँजी १० करोड रुपैयाँ हुनेछ । कम्पनीमा प्राधिकरणको ५१, विद्युत् उत्पादन तथा राष्ट्रिय विद्युत् प्रसारण ग्रिड कम्पनीको १७–१७ र जलविद्युत् लगानी तथा विकास कम्पनीको १५ प्रतिशत स्वामित्व रहनेछ । कम्पनी सञ्चालक समितिमा प्राधिकरणका ३ अन्य कम्पनीका एक–एक र एक स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको छ ।

     

    सचेन गौतम