मिक्वाखोलामा ४९ मेगावाटको विद्युत् आयोजना बनाइँदै

1662
Hydroeletric stations help in maintaining power grid stability with flexibility to ramp up and down generation as they take less time to start and stop as compared to other sources of power production.

पुस ११, २०७६

(ताप्लेजुङ) — मिक्वाखोला गाउँपालिकामा पुस १५ देखि जलाशयसहितको जलविद्युत् आयोजना निर्माण सुरु हुँदै छ । मिक्वाखोला–४ साँवाको फुङफुङे झरना भएको क्षेत्रमा आयोजना निर्माण हुनेछ ।

तीन वर्षमा निर्माण भइसक्ने दाबी गरिएको ४९ मेगावाट क्षमताको आयोजना मध्य मेवाखोला जलविद्युत् आयोजनाले निर्माण गर्ने आयोजनाका प्रबन्धक दीपेन्द्र आङ्वोले बताए । यसका लागि ट्यांकी निर्माण हुने क्षेत्रमा २० मिटर उचाइको बाँध बाँध्ने तयारी छ । हिउँदमा १८ घण्टा पानी जमाएर ‘पिक आवर’ मा ६ घण्टा चलाउने र वर्षामा नियमित चलाउने गरी बाँध बनाउन लागिएको हो । बाँधले छ/सात सय मिटर लामो दूरीसम्म मेवा खोलामा पानीको जलाशय बन्छ । प्रतिसेकेन्ड १२ हजार घनमिटर पानी जम्मा हुने आयोजनाले जनाएको छ ।

फुङफुङे झरनासमेत बाँधभित्र पर्ने भएकाले निर्माणपछि यो आकर्षक पर्यटकीय गन्तव्य बन्ने अनुमान छ । झरना अवलोकन गर्ने, बोटिङ र र्‍याफ्टिङ गर्नेहरूका लागि उपयुक्त स्थल हुने सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ अध्यक्ष सुरज ओझा बताउँछन् । झरनाको पानी सिधै जलाशयमा खस्दा थप आकर्षक हुने उनको भनाइ छ ।

यहाँ फुङफुङे मन्दिर पनि भएकाले त्यसलाई जोगाउन बाँध केही सानो बनाइने पूर्वसांसद तथा आयोजनाका सञ्चालक समिति सदस्य डम्बरध्वज तुम्बाहाम्फेले बताए । मन्दिर जोगाएर वरिपरि जलाशय हुने र मानिस आवतजावतका लागि पुल बनाउने योजना पनि रहेको उनले बताए । भौतिक योजना तथा निर्माणमन्त्री वसन्तकुमार नेम्बाङ आयोजना सञ्चालक समिति अध्यक्ष हुन् । अहिले आयोजनाले यहाँसम्म पुग्ने सडक निर्माण गरिरहेको छ । आयोजनास्थलमा सडक पुग्न अब करिब एक किलोमिटर मात्रै बाँकी छ । सडक पुगेपछि सुरुङ र बाँध निर्माणको काम सुरु हुनेछ ।

करिब तीन सय मिटर उचाइको झरनालाई सरकारले देशका सय पर्यटकीय गन्तव्यको सूचीमा राखिएको छ । यहाँ अहिले पनि पर्यटक जाने गरेका छन् । पर्यटकलाई लक्ष्य गरी तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रसँगको सहकार्यमा सामुदायिक वनले पैदल मार्ग बनाइरहेको छ ।

साँवामा पाँच किलोमिटरको सुरुङ हुने आयोजनाको विद्युत्‌गृह भने लिबाङको नावामा हुनेछ । पापुङको तोक्पेगोलास्थित सोदु पोखरीबाट मेवाखोला सुरु भएको छ । यही आयोजनाले योभन्दा माथि सिम्बुकमा २० र पापुङमा २० गरी ४० मेगावाट निर्माण सुरु गर्दै छ । त्यहीँबाट झरेको पानीबाट यहाँको जलाशय बन्छ । यहाँ उत्पादित बिजुली मैवाखोला गाउँपालिका–२ ढुंगे साँघुमा निर्माणाधीन कोसी करिडोरमा जम्मा हुन्छ ।
स्रोत:कान्तिपुर दैनिक