निर्वाचनले गर्दा एलईडी बल्ब खरिद गर्न ढिलाई

    1154

    काठमाडौं ।  निर्वाचन आयोगले स्वीकृति दिन समय लगाएपछि भारतबाट ऊर्जा दक्षता बढाउन २ करोड थान एलईडी विद्युतीय बल्ब ल्याउन ढिलाइ भएको छ ।

    निर्वाचन आचारसंहिताले गर्दा आयोगको स्वीकृति लिनुपर्ने भएपछि खरिदमा ढिलाइ हुन गएको हो । विद्युत खपत गरी ऊर्जा दक्षता बढाउनका लागि एलईडी चिम खरिद गर्न अर्थ मन्त्रालयले सहमति दिइसकेको छ ।

    आयोगबाट स्वीकृति आइसकेकाले खरिद प्रस्ताव पारितका लागि मन्त्रिपरिषदमा पठाएको ऊर्जा मन्त्रालयका प्रवत्ता दिनेशकुमार घिमिरेले बताए ।

    मन्त्रिपरिषदबाट पारित हुनसाथ खरिदको प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए । घिमिरेका अनुसार एक साताअघि मात्र प्रस्ताव मन्त्रिपरिषदमा गएको छ ।  नेपाल विद्युत प्राधिरकणले भारत सरकार स्वामित्वको इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएससी) बाट ऊर्जा दक्षता बढाउने चिम खरिद गर्न लागेको हो । एलईडी चिम खरिदको विषयमा विद्युत प्राधिकरण र ईईएससीबीच झण्डै डेढ महिनाअघि सम्झौता भएको थियो ।

    सम्झौताअनुसार हालसम्म भारतबाट एलईडी चिम आयात भइसकेको हुन्थ्यो । निर्वाचनका कारण आयातमा ढिलाइ भएको मन्त्रालयको भनाई छ ।
    २ करोड चिम जडान भएपछि विद्युतको माग दैनिक १५० मेगावाटसम्म कम हुने अनुमान प्राधिकरणले गरेको छ । कम्पनीले भारतमा प्रति बल्ब ६५ भारुमा बिक्री गरिरहेको जानकारी दिएको छ । नेपालमा आयात गर्दा १०४ रुपैयाँ पर्नेछ । यस बाहेक मूल्य अभिवृद्धि कर (भ्याट) भन्सार र सेवा शुल्क बाहेकको हो ।  नेपालमा बल्वको मूल्य बढीमा १३० रुपैयाँसम्म पर्ने देखिएको छ । बजारमा एलईडीको मूल्य साढे ३ सय रुपैयाँ छ ।

    २ करोड थान एलईडी चिम वितरण गरी जडित सीएफएल र इनक्यानडिसेन्ट चिम प्रतिस्थापन गर्ने तयारी प्राधिकरणको छ । यसबाट सुख्खायाममा पिकलोड व्यवस्थापनमा सहजता आउने  छ । एलईडी चिम वितरणपछि खपत कम भई वार्षिक  २१ करोड ९० लाख युनिट बिजुली वचत  हुने छ । यस्तै वार्षिक २ अर्ब १२ करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ । चिम ३ वर्षको वारेन्टी हुने भएको छ ।

    ऊर्जा बचत योजना भारतमा सफल भएकाले नेपालमा लागु गर्ने तयारी भएको हो । ६० वाटको इनक्यान्सेन्ट चिमको ३६ वाटको ट्युवलाइट बराबर १८ वाटको सीएफएल बराबर ९ वाटको एलईडी चिमले काम गर्छ । केही महिना अघि काठमाडौमा भएको नेपाल–भारत सचिव स्तरिय संयुक्त स्थाई समिति (जेसीडब्ल्यूआर) बैठकमा भएको सहमति बमोजिम एलईडी बल्ब खरिदको काम अघि बढेको हो ।

    विद्युत प्राधिकरणले नियमित रुपमा बिजुली आपूर्ति गर्न थालेपछि माग घटेर साँझ (पीक आवरमा ) १ हजार २६७ मेगावाट छ । प्राधिकरणका आयोजनाको ४०३, निजीक्षेत्रको १७० र भारतबाट ३५९ मेगावाट रहेको छ । हाल ३२५ मेगावाट बिजुलीको आपूर्ति कम छ । विद्युत प्राधिकरणले यो वर्ष माग बढेर १ हजार ६ सय मेगावाट पुग्ने अनुमान गरेको थियो ।

    स्रोत:बाह्रखरी