नहर बगाएपछि लघु जलविद्युत् बन्द

    2351

    जाजरकोट, साउन ४ गते । रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत् आयोजना बन्द भएको छ । अविरल वर्षासँगै आएको बाढीले विद्युत् नहर बगाएपछि विद्युत् उत्पादन सेवा अनिश्चित समयका लागि बन्द भएको हो । ८० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् करीब एक हजार २०० घरधुरीले प्रयोग गर्दै आइरहेका थिए । विद्युत् आपूर्ति सेवा बन्द भएसँगै वडा नं ७ को नार्जी, खत्रीगाउँ, कुमाइगाउँ, काप्रा, वडा नं ८ को सोतिखोला, बसिगाउँ, सोती गेष्मा र वडा नम्बर ९ को कोटगाउँ र गुर्तालगाउँका उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

    आर्थिक अभावले खहरे खोलाले बगाएको विद्युत् कुलो पुनःनिर्माण गर्न नसकिएको समितिका अध्यक्ष एवं वडा नम्बर ७ का अध्यक्ष इन्द्रलाल शर्माले बताउनुभयो ।

    स्रोत:gorkhapatraOnline