हाइड्रो सोलुशन ३ वर्षभित्र थप ३२ मेवा विद्युत् उत्पादन

    3909

    भदौ ५, काठमाडौं ।

    hydrosolutionहाइड्रो सोलुशनले आगामी ३ वर्षभित्र थप ३२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । उक्त विद्युत्मध्ये तल्लो मोदी जलविद्युत् आयोजनाबाट २० मेगावाट र अपर माई ‘सी’ जलविद्युत् आयोजनाबाट १२ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी भइरहेको कम्पनीका बिजनेश डेभलपमेण्ट उपाध्यक्ष कुमार पाण्डेले अभियानलाई बताए ।

    ती दुई आयोजनाबाट विद्युत् उत्पादन भएपछि उक्त कम्पनीअन्तर्गत उत्पादित विद्युत् ४० मेगावाट पुग्ने छ । सो कम्पनीले अहिले दुईओटा आयोजनामार्फत ७ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । त्यसमध्ये सिन्धुपाल्चोकको बराम्ची जलविद्युत् आयोजनाबाट ४ दशमलव २ मेगावाट र दोलखाको चर्नावती खोला जलविद्युत् आयोजनाबाट ३ दशमलव ५ मेगावाट विद्युत् उत्पादन हुँदैआएको छ । ती दुवै आयोजना हाइड्रो सोलुसनका सहायक कम्पनीहरू क्रमशः युनिक हाइडल कम्पनी प्रालि र नेपाल हाइड्रो डेभलपर प्रालिअन्तर्गत निर्माण भएका हुन् ।

    हाइड्रो सोलुसनले दुई साना आयोजनाको सफल निर्माण र सञ्चालनपछि दुई मझौला आयोजना निर्माण गर्न लागेको हो । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजना हाइड्रो सोलुसनकै सहायक कम्पनी मनाङ ट्रेड लिङ्कले प्रवर्द्धन गरेको हो ।

    कम्पनीका अनुसार यो आयोजनाको निर्माण कार्य २०७२ को अन्त्यसम्ममा सकिनेछ । भदौ पहिलो सातासम्ममा आयोजनाको ५ सय मिटर सुरुङ खनिसकिएको पाण्डेले जानकारी दिए । आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने सुरुङमार्गको लम्बाइ साढे ४ किलोमिटर रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहबाट ४ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मोदी जलविद्युत् केन्द्रको डिमुवा सबस्टेशनमा जडान गरिने कम्पनीले बताएको छ । सो आयोजनाको पनि पीपीएलगायतको काम पूरा भइसकेको छ । आयोजना निर्माणका लागि नेपाल इन्भेष्टमेण्ट बैङ्कको नेतृत्वमा ११ बैङ्कले ऋण उपलब्ध गराएका छन् । आयोजनाको अनुमानित कुल लागत रू.३ अर्ब ५१ करोड रहेको छ । सोमध्ये रू.२ अर्ब ६३ करोड बैङ्कहरूले लगानी गर्नेछन् ।

    अपर माई ‘सी’ जलविद्युत् आयोजना हाइड्रो सोलुशनकै सहायक कम्पनी माई भ्याली हाइड्रोपावर (प्रा)लिद्धारा प्रवर्द्धन गरिएको हो । सो आयोजनाको निर्माण कार्य २०७१ सालभित्र पूरा हुने पाण्डेले बताए । यो आयोजना इलाम जिल्लामा रहेको छ । कम्पनीका अनुसार आयोजनाअन्तर्गतको २ हजार मिटर सुरुङमार्गमध्ये १ हजार ९ सय मिटर निर्माण भइसकेको छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विद्युत् खरीद सम्झौता (पीपीए) पनि भइसकेको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनसमेत जुटाइसकिएको पाण्डेले बताए । तर, अपर माई ‘सी’बाट उत्पादित विद्युत्का लागि प्रसारण लाइनको भने समस्या रहेको कम्पनीले बताएको छ । पाण्डेले उक्त आयोजनाबाट उत्पादित विद्युत् इलामको गोदक सबस्टेशनमा जोड्ने योजना रहेको बताए । सो सबस्टेशनमा विद्युत् पुर्‍याउन कम्पनीले १७ किलोमिटर र सरकारले ५५ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने कम्पनीले बताएको छ । आयोजनाको कुल लागत रू.१ अर्ब ६० करोड रहेको छ ।

    पाण्डेले दुई साना आयोजनाको सफलताले अन्य आयोजना निर्माणका लागि उत्साहित गरेको बताए । यी दुई आयोजनाबाट विद्युत् उत्पादन हुन थालेपछि मुलुकको विद्युत् सङ्कट समाधानमा सहयोग पुग्ने उनको भनाइ छ ।

    Source : Abhiyan