द्वारीखोला हाइड्रोको विद्युत् उत्पादनमा ढिला

    1332

    माघ ३, २०७३- स्वदेशी लगानीको ३ दशमलव ७५ मेगावाटको द्वारीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनमा ढिलाइ हुने भएको छ । निर्माणको सबै काम पूरा भए पनि उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न सबस्टेसन अझै नबनेकाले ढिलाइ हुने भएको हो ।

    ०७३ साउनमा दैलेखमा विद्युतीकरण गर्ने गरी सुरु भएको हाइड्रोपावर माघ अन्तिमसम्म पनि सकिने छाँट देखिँदैन । आयोजनामा लगानी गरेको प्रवद्र्धक भूगोल इनर्जीका सञ्चालक पुष्प ढुंगेलले निर्माण पूरा भएको भन्दै सुर्खेतमा पत्रकार सम्मेलन गरी पुसमा आयोजनाको उद्घाटन गरिने बताएका थिए । तर, माघ सुरु हुँदासमेत बत्ती बल्ने छाँटकाट छैन । माघको अन्तिमसम्म काम सम्पन्न गर्ने योजना रहेको सञ्चालक समितिका अध्यक्ष सौरभ अर्यालले बताए । हाल पाइपलाइन, पोल विस्तार, विद्युत्गृह, ड्याम, टर्वाइन जडानलगायतका सबै काम पूरा भइसकेको इनर्जीले जनाएको छ । ‘निर्माणको सबै काम पूरा भएको छ,’ अर्यालले भने, ‘उत्पादित बिजुली राष्ट्रिय प्रश्सारण लाइनमा जोड्न सबस्टेसन बन्दै छ ।’ प्रसारण लाइनमा जोड्ने काम भइरहेकाले बिजुली बल्न ढिलाइ भएको ढुंगेल बताए । आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल र इनर्जी प्रालिको संयुक्त लगानी छ ।

    ६५ करोड लागत रहेको आयोजना सञ्चालनमा आएपछि दैलेख लोडसेडिङमुक्त हुने इनर्जीको दाबी छ । दैलेखमा हाल पिक आवरमा दुई मेगावाट विद्युत्को माग छ । द्वारीखोलाबाट २६ सय मिटर लामो नहर खनेर पाइपलाइनमार्फत एक किमि पानी खसालेर विद्युत् निकाल्न लागिएको हो । त्यहाँबाट सदरमुकामसम्म ३२ किमि दूरीमा पोलहरू गाडिएका छन् । कम्पनीले प्रभावित क्षेत्रमा एक करोड बराबर रकम सामाजिक क्षेत्रमा खर्च गरेको जनाएको छ । ४० रोपनी जग्गाको मुआब्जाबापत एक करोड वितरण गरिसकेको छ ।

    ६ जुलाई २०१५ मा भूगोल इनर्जीले स्वीकृति लिएको हो । कम्पनीले ४ दशमलव ५ मेगावाटको पाद्मखोला आयोजना निर्माणको पनि तयारी थाल्ने जनाएको छ । यो आयोजनामा पनि सिटिजन्स बैंकले ७५ प्रतिशत लगानी गर्ने जनाएको छ । आयोजना निर्माणमा विभिन्न कारण देखाएर निर्माण कम्पनीले ढिलाई गरेको स्थानीय शशी विकले बताए । कुनै विवाद नहुँदासमेत आयोजनाको काममा ढिलाइ भएको भन्दै उनले असन्तुष्टि पोखे । राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी दैलेखमा ११ केभी प्रसारण लाइनको निर्माण भइरहेको छ । दैलेखमा ४ दशमलव २ मेगावाटको लोहोरेखोला र ४ मेगावाटको पराजुल खोला आयोजना निर्माणाधीन छन् ।

    स्रोत:कान्तिपुर