मुसीकोटमा केन्द्रीय प्रसारण लाइन जोडिँदै

    1262

    माघ ३, २०७३- मुसीकोटमा शीतलपाटी–मुसीकोट ३३ केभी केन्द्रीय प्रसारण लाइन जोड्ने क्रम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार पोल गाड्ने, तार टाँग्ने र ट्रान्सफर्मरको काम सकिन लागेको हो ।

    काम थालिएको १४ वर्षपछि जिल्लामा विद्युत्को केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । २०५९ सालमा सुरु गरिएको उक्त प्रसारण लाइन सव–स्टेसनमा जोड्ने कामका लागि आवश्यक प्रक्रिया र कामकाज अन्तिममा पुगेको खलंगा वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए । ‘हामी रुकुममा केन्द्रीय लाइन जोड्ने अन्तिम तयारीमा छौं,’ प्रमुख प्याकुरेलले भने, ‘त्यसका लागि आवश्यक सम्पूर्ण काम अन्तिम चरणमा छन् ।’ शीतलपाटीदेखि मुसीकोटसम्म पोल गाड्ने तथा तार टाँग्ने, आवश्यक ट्रान्सफर्मर ल्याउने काम अन्तिम चरणमा पुगेको प्याकुरेलले जानकारी दिए । उनका अनुसार सल्यान र रुकुमको सीमाना खौलामा केन्द्रीय लाइनको बत्ति बलिसकेको छ । मुरु–खारा गाविसको झुल्नेटा र रुँघाको सिम्रुतु बजारमा ४ वटा पोलको काम भइरहेको छ ।

    झुल्नेटा र सिम्रुतुका पोल गाड्ने काम सकिएपछि मुसीकोटसम्म ११ केभी क्षमताको बत्ती बल्न सुरु हुने जनाइएको छ । ‘अबको साता पहिल्यै मुसीकोटमा केन्द्रीय प्रसारण लाइनको बत्ती बल्छ,’ प्याकुरेलले भने ।

    केन्द्रीय प्रसारण लाइन जोडिने शीतलपाटीदेखि मुसीकोटसम्मको दूरी करिब ८० किलोमिटर छ । उक्त दूरीमा यसअघि गाडिएका पोल तथा तारहरू लथालिंग अवस्थामा रहेका थिए । शीतलपाटी–मुसीकोट प्रसारण लाइनअन्तर्गत ४४ वटा पोल परिवर्तन गर्नुपर्ने अवस्थामा रहेका थिए । विद्युत् प्राधिकरणका अनुसार शीतलपाटीमा सबस्टेसन निर्माणको काम पनि अन्तिम चरणमा छ ।

    शीतलपाटीको सबस्टेसन निर्माणपछि मुसीकोटमा पनि ३३ केभी क्षमताको बत्ति बल्नेछ । ‘अहिले तुलसीपुरसम्म मात्रै ३३ केभीको लाइन छ,’ प्याकुरेलले भने, ‘सल्यानमा पनि सबस्टेसन निर्माणपछि रुकुममा पनि ३३ केभीकै विद्युत् प्रसारण हुनेछ । यो पनि महिना दिनभित्रै हुन्छ ।’ शीतलपाटीसम्मको लाइनलाई ३३ केभीका लागि आवश्यक ट्रान्सफर्मर शीतलपाटीसम्म पुर्‍याई सकिएको छ ।

    प्राधिकरणले जिल्लामै वितरण तथा ग्राहक सेवा केन्द्र सुरु गरेर केन्द्रीय लाइन जोड्ने कार्य सुरु गरेको थियो ।

    गत कात्तिक २२ मा वितरण तथा ग्राहक सेवा केन्द्र उद्घाटन भएसँगै यसअघि लिजमा सञ्चालन हुँदै आएको स्यार्पुदह साना तथा लघु जलविद्युत् आयोजनाको सम्पूर्ण जिम्मा पनि प्राधिकरणले आफ्नो मातहतमा लिएको छ ।

    रुकुम वितरण केन्द्रका अनुसार यो महिनादेखि समितिको काउन्टर बन्द भएको छ । स्यार्पु दहको विद्युत् आयोजनालाई प्राधिकरणले १९ वर्ष पहिले ठेक्का प्रणालीअन्तर्गत लिजमा दिएको थियो ।

    स्रोत:कान्तिपुर