१४० मेगावाटाको तनहुँ हाइड्रोको काम तीन चरणमा

    1879

    ग्लोबल टेण्डर गर्ने अन्तिम तयारी

    दमौलीः तनहुँ जलविद्युत आयोजनाको निर्माण कार्य तीन प्याकेजमा हुने भएको छ । तनहुँ जलविद्युत आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले हाइड्रोको निर्माण कार्य तीन प्याकेजमा गर्न लागेको हो ।

    पहिलो प्याकेजमा हेड वक्र्स र बाँध तथा नदी डाइभर्सन, दोस्रोमा टनेल र पावर हाउस निर्माण तथा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल र तेस्रो प्याकेजमा आयोजनास्थल दमौली नजिकबाट भरतपुरमा बनाइने नयाँ सबस्टेसनसम्म ३७ किलोमिटर लामो २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने रहेको छ ।

    तनहुँ हाइड्रो पावर लिमिटेडले परामर्शदाता छनोट भएको तीन वर्षपछि पहिलो र दोस्रो प्याकेज निर्माण गर्न ग्लोबल टेन्डर गरी पीक्यू (आयोजना बनाउन प्राविधिक रूपमा उपयुक्त) गरी ८ वटा कम्पनी छनोट गरेको हाइड्रोका सहनिर्देशक लोकप्रसाद नेपालले जानकारी दिए ।

    उनका अनुसार पहिलो प्याकेजमा ५ वटा र दोस्रो प्याकेजमा तीनवटा कम्पनी छनोट भएको छ ।

    पहिलो प्याकेजमा जयप्रकाश एसोसिएट लिमिटेड इन्डिया, सोङा भियतनाम–कालिका कन्स्ट्रक्सन जेभी, हिन्दुस्तान कन्स्ट्रक्सन कम्पनी इन्डिया–डोगस इन्टिग्रेटेड टर्की जेभी, सीजीजीसी (गेजुवा) चाइना र सीएमसी डी राभेना, इटाली पीक्यू छनोटमा परेका छन् ।

    दोस्रो प्याकेजमा हिन्दुस्तान कन्स्ट्रक्सन कम्पनी इन्डिया–डोगस इन्टिग्रेटेड टर्की जेभी, सिनो हाइड्रो कर्पोरेसन चाइना र सीएमसी इटाली पीक्यू छनोटमा परेका छन् ।

    अबको दुई महिनाभित्रै तनहुँ हाइड्रो पावर लिमिटेडले पीक्यू भएका कम्पनीबीच आर्थिक प्रस्ताव माग गरी निर्माण गर्ने ठेकेदार कम्पनी छनोट गर्नेछ ।

    दुइटै प्याकेजका लागि निर्माणमा कम लागत प्रस्ताव गर्ने एक-एकवटा ठेकेदार कम्पनी छनोट गरिनेछ । छनोट भएका दुई कम्पनीले आयोजनाको निर्माण कार्य आगामी अक्टोबरमा सुरु गर्नेछन् ।

    सन् २०१७ देखि सुरु भई २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको तेस्रो प्याकेजको टेन्डर डकुमेन्ट तयार पार्ने काम भइरहेको छ ।

    टेन्डर डकुमेन्ट तयार भई तनहुँ हाइड्रो पावर लिमिटेड र प्रमुख दाता जाइका र एडीबीबाट स्वीकृत भएपछि तेस्रो प्याकेजको ४० किमी लामो २ सय २० केभीको प्रसारण लाइन र भरतपुरमा सबस्टेसन निर्माण गर्न ठेक्का प्रक्रिया सुरु हुनेछ । प्रसारण लाइन निर्माण कार्यसमेत आयोजनासँगै सकिने गरी अघि बढाइनेछ ।

    करिब ५० अर्बको लगानीमा निर्माण हुने आयोजनाका लागि जाइकाले १८३ मिलियन डलर, एडिबिले १५० मिलियन डलर, युरोपियन इन्भेष्टमेन्ट बैंकले ८५ मिलियन डलर र नेपाल सरकारले ८७ मिलियन डलर व्यहोर्नेछ ।

    आयोजनाबाट व्यास नगरपालिका, भिमाद, छाङ, माझकोट, रिसिङ, कोटदरवार, जामुने, साभुङ, काहुँशिवपर गाविस प्रभावित हुनेछ ।

    आयोजनाको पूर्ण जल सतह ४१५ मिटर हुनेछ । ३७८ मिटर न्यूनतम सञ्चालन सतह रहने आयोजनाको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर हुनेछ ।

    आयोजनाको १८ किलोमिटर क्षेत्रफलमा जलाशय क्षेत्र रहनेछ । आयोजनाको १४० मिटर अग्लो क्रक्रिट बाँध बनाइने र उक्त जलाशयको क्षेत्रफल ७.२६ वर्ग किमि रहनेछ।

    स्रोत: कारोबार