दक्षिण एसियाभर प्रसारण लाइन सञ्जाल निर्माण : ऊर्जामन्त्री

    2358

    उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले दक्षिण एसियाली मुलुकबीच विद्युत् प्रसारण लाइन सञ्जाल बनाइने बताएका छन् ।

    मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा रायमाझीले नेपालमा कम हुँदा आयात र बढी भएमा निर्यातका लागि दक्षिण एसियाली मुलुकबीच प्रसारण लाइन सञ्जाल आवश्यक रहेको बताए । ‘नेपालभित्र मात्रै दक्षिण एसियाली मुलुकबीच नै प्रसारण सञ्जाल आवश्यक छ,’ उनले भने, ‘लाइन निर्माण सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया सुरु भइसकेको छ ।’

    १० हजार मेगावाटभन्दा ठूलो कर्णाली चिसापानी बहुउद्देश्यीय जलविद्युत् आयोजना दक्षिण एसियाली मुलुकको साझेदारीमा निर्माण गर्ने सोच सरकारको रहेको उनले बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आयोजनालाई भारत–नेपाल–चीनको लगानीमा निर्माण अगाडि बढाउने घोषणा गरिएको छ । रायमाझीले विपक्षी दलले ‘तोरीको फूल देख्ने’ गरी सरकारले ल्याएकाले उनीहरू आत्तिएको आरोप लगाए । ‘केही कमजोरी भए पनि बजेट अलिहेसम्मकै उत्कृष्ट हो,’ उनले भने, ‘ऊर्जा क्षेत्रका लागि पनि पर्याप्त बजेट आएकाले जलविद्युत् उत्पादन, प्रसारण र वितरणका कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाउँछौँ ।’

    स्रोत : नया पत्रिका