तल्लो मस्र्याङ्दीको रोयल्टी वितरण गरिने

    2676

    ६९ मेगावाट क्षमताको तल्लो मस्र्याङ्दी जलविद्युत् परियोजनाले तिरेको रोयल्टी सबै प्रभावित क्षेत्रहरूलाई प्रभावका आधारमा वितरण गरिने भएको छ ।
    निर्देशिकामा उल्लेख भएअनरूप रकम नपाएको भन्दै परियोजना प्रभावित क्षेत्र आबुखैरेनीका स्थानीय बासिन्दाहरू विगतदेखि आन्दोलनमा उत्रिएका थिए । परियोजनाबाट प्राप्त हुने रोयल्टी बाँडफाँडको विषयमा जिल्ला विकास समिति, जिल्लास्थित राजनीतिक दलका नेता तथा स्थानीयहरूबीचमा सहमति भएपछि प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले रोयल्टीबापतको रकम पाउने भएका हुन् । जसअनुसार आबुखैरेनीलाई कुल रोयल्टीको ५० प्रतिशतमध्ये १५ प्रतिशत रकम तत्काल उपलब्ध गराउने र बाँकी रकम प्रभावित अन्य गाविसमा बराबर बाँड्ने जनाइएको छ ।
    विद्युत् परियोजना संरचना भएको गाविसले कुल रोयल्टीको आधा भागको १५ प्रतिशत, परियोजनाको बाँधभन्दा माथिल्लो भागले २० प्रतिशत र तल्लो भागले १५ प्रतिशत रकम पाउने निर्देशिकामा उल्लेख छ । आबुखैरेनीवासीले सबै भाग आफ्नो गाविसमा पर्ने भएकाले रोयल्टी रकम सबै आफ्नो गाविसले पाउनुपर्ने दाबी गर्दै आएका थिए ।
    कुल प्रभावितमध्ये आधाभन्दा बढी क्षेत्र तनहुँमा पर्ने भएकाले तनहुँमा गत आर्थिक वर्षमा रोयल्टीबापतको रकम १ करोड ३७ लाख आए पनि कम प्रभावित मानिने गोरखामा भने २ करोड ४ लाख रुपैयाँ जिविस गोरखालाई निकासा गरिएकोमा भने स्थानीयले विरोध गरेका छन् । गोरखाको तुलनामा तनहुँमा कम विद्युत् रोयल्टी आएपछि तनहुँको रोयल्टीको रकम वृद्धि गर्न पहल थालिएको छ ।