प्राधिकरणको नेतृत्वमा कुलमानको तीन वर्षः के भए, के बाँकी छन् ?

1931

२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक नियुक्त भएको ३ वर्ष पुरा भएको छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको रोजाइमा नियुक्त भएका कुलमानको अगुवाईमा एक वर्षभित्रै नै देश १८ घण्टासम्मको काहालीलाग्दो लोडसेडिङको मारबाट मुक्त भएको थियो ।

‘उर्जा क्षेत्रमा जुन उपलब्धी हासिल गर्छु भनेर आएको थिएँ, त्यो प्राप्त नै भएको जस्तो लाग्छ , तर पनि आन्तरिक बिजुली उत्पादन जसरी बढाउँछु भन्ने थियो, त्यो काममा केही ढिलाई हुन पुगेकै छ,’ उनले भने,’तर अब एक वर्षमा त्यो काम पनि पुरा हुँदैछ ।’

उनको कार्यअवधि पनि अब एक वर्षमात्र बाँकी छ । कुलमानले अबको एक वर्षमा आन्तरिक विद्युत उत्पादन दरलाई उच्च बनाउने लक्ष्य राखेका छन् । उनले लोडसेडिङ व्यवस्थापन मात्रै नभएर प्राधिकरणको संस्थागत संरचनाको सृदृढीकरणमा पनि धेरै प्रयासहरु गरिएकाले र त्यसले प्रतिफल दिन सुरु गरिसकेको बताए ।

तीन वर्षको अवधिमा उनले विभिन्न खालका महत्वपूर्ण कामहरु गरे । लोडसेडिङको अन्त्य भयो भने चुवहाट घटेर प्राधिकरण नाफामा गयो । पछिल्लो सयममा उनले रुग्ण आयोजनालाई ततकालै सम्पन्न गर्न जोडबल लगाएका छन् ।

त्यसअनुसार उनले माथिल्लो त्रिशुली थ्री ‘ए’ निर्माण भएर सञ्चालनमा आएको छ भने  कुलेखानी जस्तो बोझ बन्ने अवस्थामा पुगेको आयोजना पनि सञ्चालनको लागि अन्तिम चरणमा छ ।

नाकाबन्दी र भूकम्पका कारण थलिएको माथिल्लो तामाकोसीबाट पनि यस वर्षभित्रै विद्युत उत्पादन थाल्ने योजनाा छ । अरु थुप्रै प्रसारण तथा वितरणका रुग्ण आयोजनाहरुको काम सकिँदै गएका छन् । देशभर जलविद्युत आयोजना निर्माणको क्रम तीव्र हुँदै गर्दा प्रसारणलाइन र सबस्टेसन निर्माणले पनि व्यापकता पाएको छ ।

गत आर्थिक वर्षमा मात्रै प्राधिकरणले करिब ७८० किलोमिटर प्रसारणलाइनको निर्माण सिध्यायो, जुन अहिलेसम्मकै धेरै हो । रुग्ण सबस्टेशनहरुको निर्माण पनि तीव्र गतिमा भइरहेको छ ।

अरु सबै काम भए पनि जलविद्युत आयोजनाहरुको निर्माण भएको ढिलाईमा कुलमान आफैं पनि सन्तुष्ट छैनन् । तर, जटिलतालाई पन्छाएर अबको एक वर्षभित्रै योजनाअनुसार गर्न बाँकी सक्ने योजना घिसिङको छ ।

हाल प्राधिकरणभित्रको व्यवस्थापनलाई अब स्मार्ट बनाउन पनि काम सुरु भएको छ । विभिन्न सुधारका कामले प्राधिकरणको सेवा प्रवाहमा सुधार आएको छ ।

तर, कर्मचारी व्यवस्थापन लगायतका आन्तरिक विषयमा प्राधिकरणभित्र योजना बनाएजस्तो काम गर्न सकेको छैन । यद्यपी प्राधिकरणभित्र पहिलोजस्तो कर्मचारी संयन्त्रको मनलाग्दी हावी छैन ।

चुहावट नियन्त्रण र नाफामा फड्काे

प्राधिरकणले गत एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि गर्‍यो । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्दि्रत भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको हो ।

विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो ।

२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वाषिर्क ८ अर्ब ८९ करोड घाटामा थियो ।

तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।

त्यसपछिका आर्थिक वर्ष २०७४/७४ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । गत वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भयो ।

योसँग विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो ।

आर्थिक वर्ष २०७४/७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चि नोक्सानी १० अर्बले घटाएको छ ।

प्राधिरकणले वर्षैसाल आफ्नो सञ्चित नोक्सानीलाई खुम्च्याउँदै लगेको छ । अबको एक देखि दुई वर्षमा प्राधिकरण सञ्चित नोक्सानीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।

प्राधिकरणले आफ्नो नाफा बढाउँदै लगेकाले सञ्चित नोक्सनीलाई शुन्यमा झार्न लामो समय नलाग्ने देखिन्छ ।

३४ वर्षसम्म प्राधिकरण निरन्तर घाटामा थियो । कुलमान घिसिङ कार्यकारी भएर आउँदा प्राधिकरणको वार्षिक घाटा ८ अर्ब ८९ करोड थियो ।

प्राधिकरण उच्च घाटमा गएपछि आव ०६७/६८मा सरकारले सबै सञ्चित नोक्सानी मिनाहा गरेको थियो । त्यतिबेला प्राधिकरणको २७ अर्ब १८ करोड रुपैयाँ सञ्चित नोक्सनीलाई सरकारले मिनाहा गर्नुपरेको थियो ।

 

स्रोत:अन्लाईन खबर