सिउरीखोला जलविद्युत् आयोजना सम्पन्न

    2750

    तीन वर्षअघि उत्तरी लमजुङको बाहुनडाँडा र भुलभुले गाविसको सिमानामा निर्माणकार्य आरम्भ गरिएको ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत् आयोजना सम्पन्न भएको छ ।
    आयोजना निर्माण कम्पनी म्यादी ग्रुप प्रालिले निर्माण गरेको यो आयोजना अन्यभन्दा निर्धारित समयअगावै सम्पन्न भएको बताइएको छ । कम्पनीले थाकन बेंसीदेखि निर्माणस्थलसम्मको झन्डै १० किलोमिटर दूरीमा सब–स्टेसनको निर्माणकार्य सम्पन्न गरेको र ट्रान्समिसन लाइनसमेत जोडिसकेको कम्पनीका निर्देशक शैलेन्द्र गुरागाईंले जानकारी दिए । उनका अनुसार नेपाल विद्युत् प्राधिकरणले सब–स्टेसन निर्माण गरिदिने भने पनि आयोजना आफैंले निर्माण गरेको हो ।
    आयोजना निर्माण कम्पनीले बुटवल पावर कम्पनीले निर्माण गर्न लागेको २० मेगावाट क्षमताको न्यादी हाइड्रोपावरसँग मिलेर मस्र्याङ्दी नदीमा पक्की मोटरेबल पुलको समेत निर्माण गरेको छ ।
    भुलभुले र बाहुनडाँडाको सिमानामा रहेको सिउरी मुहानमा बाँध बाँधेर १ हजार ६ सय ६७ मिटर लामो पेनस्टक पाइपमार्फत झन्डै ४ सय ४० ग्रस हेडबाट लुदी गाउँनजिक निर्माण गरिएको पावरहाउसमा पानी खसालिएको निर्देशक गुरागाईले बताए । “आयोजना सम्पन्न गर्न करिब ७५ करोड खर्च भएको छ,” उनले भने, “धेरैजसो लगानी लमजुङवासीकै छ ।”
    गुरागाईंका अनुसार हालै सम्पन्न नेपाल विद्युत् प्राधिकरणको समन्वय समिति र आयोजनाबीचको बैठकले साउन १५ गते आयोजनाको टेस्टिङ गर्ने सहमति भएको छ । आयोजनाको सम्पूर्ण निर्माणकार्य सकिएकाले एक महिनाभित्रमा विद्युत् उत्पादन सुरु गरी ग्रिड लाइनमा मिसाइने बताइएको छ ।
    पानीको बहावमा आधारित यो आयोजनामा २.५ मेगावाट क्षमताका दुईवटा टर्बाइन प्रयोग गरिएका छन् । तीन वर्षअघि आयोजना निर्माण सुरु गर्दा स्थानीयवासी भौगोलिक विकटताका कारण आयोजना सम्पन्न हुनेमा विश्वस्त थिएनन् । तर, आयोजना निर्माण सम्पन्न भएपछि उनीहरू अचम्मित परेका छन् । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको घरघरमा विद्युतीकरण, विद्यालय, सडक तथा भवन निर्माणलगायतका विभिन्न विकास निर्माणका कार्यसमेत गरिदिएको छ ।
    निर्देशक गुरागाईंले जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्तालाई जिल्ला भित्रिएका आयोजना सञ्चालन गर्न वातावरण मिलाइदिएर बेरोजगारी समस्यालाई निमिट्यान्न पार्न आग्रह गरेका छन् ।
    लमजुङ जलस्रोतमा निकै धनी जिल्ला हो । समग्र जलविद्युत् क्षेत्रमा गरिने अवरोध र गुन्डागर्दी हटाइए लगानीमैत्री वातावरण बन्ने विज्ञहरु बताउँछन् ।