कालंगाको साढे तीन किमी सुरुङ निर्माण सम्पन्‍न

1683

आश्विन १०, २०७७

बझाङ — निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूर पश्चिमकै ठुलो कालंगा गाड जलविद्यूत आयोजनाको करिब साढे तीन किलोमिटर सुरुङ निर्माणको काम सम्पन्न (ब्रेकथ्रू) भएको छ । बुगंल नगरपालिका-५ र वित्थडचिर गाउँपालिकाको वडा नं ६ र ८ मा पर्ने उक्त सुरुङको निर्माण कार्य शुक्रबार दिउँसो सम्पन्न भएको हो ।

सुरुङ निर्माणमा संलग्‍न टोलीले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर अन्तिम विष्फोटन (फाइनल ब्लास्ट) गरेको थियो । ३ हजार ४ सय ६८ मिटर लम्बाईको उक्त सुरुङबाट बुङगल नगरपालिकाको पाउटामा रहेको कालंगा नदीको पानी वित्थड चिर गाउँपालिकाको घोडादाउनामा रहेको विद्युत गृहमा झारिने छ ।

तल्लो कालंगा गाड नाम दिइएको यो खण्डबाट १५.३३ मेघावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ । ‘सुरुङको ब्रेक थ्रू भएसँगै यो आयोजनाको मुख्य काम सबै सम्पन्न भएको छ,’ आयोजना प्रमुख बखतबहादुर शाहीले भने,‘संरचनाहरुको फिनिसिंङ गर्न केही समय लाग्ने भएकोले पुसबाट मात्रै विद्युत उत्पादन सुरु हुने छ ।’उनले निर्माण सम्पन्न भएको सुरुङ पेनस्टक सुरुङ रहेको बताउँदै सुरुङभित्र पाइप बिछ्याउने काम पनि सम्पन्न भइसकेको बताए ।

यस्तै, हेड वर्कस, पावरहाउस, प्रसारण लाइन निर्माणको काम पनि अन्तिम चरणमा रहेकाले पुसभित्रै विद्युत उत्पादन हुने कुरामा ढुक्क रहेको शाहीले बताए ।

कालंगागाड (१५.३३ मेघावाट), माथिल्लो कालंगागाड (३८.४६ मेघावाट) र माथिल्लो सानीगाड (१०.७० मेघावाट) गरि करिब ६५ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको यस आयोजनाको तीन वटै सेक्सनमा लकडाउनको अवधिमा पनि द्रूत गतिमा काम भइरहेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले तीनवटै सेक्सनको ८० प्रतिशत काम सम्पन्‍न भइसकेको र १५ प्रतिशत भन्दा बढी प्रगति लकडाउनको अवधिमा भएको जानकारी दिएको छ । यस आयोजनाको सुरुङ निर्माण कार्य १०० प्रतिशत, इन्टेक, ड्याम साइट र बक्स कल्भर्टलगायत बाहिरी संरचना निमार्णको कार्य ६५ प्रतिशत र विद्युत गृह निमार्णको कार्य ९५ प्रतिशत भन्दा बढी सम्पन्न भैसकेको छ ।

 

स्रोत:कान्तिपुर