तनहुँ हाइड्रोद्वारा ९० प्रतिशत मुआब्जा वितरण

    1750

    १ सय ४० मेगावाटको तनहुँ हाइड्रोपावरले करिब ९० प्रतिशत प्रभावितहरूलाई मुआब्जा वितरण गरेको छ । घरजग्गाको मुआब्जाबापत वितरण गर्नुपर्ने रकम अब करिब १० प्रतिशत मात्र बाँकी रहेको हाइड्रोपावरका साइड इन्चार्ज विदुर अधिकारीले जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्रका रूखबिरुवा, सहुलियत तथा अन्य सामाजिक कामका केही मुआब्जा रकम वितरण गर्न बाँकी छ । प्रभावित क्षेत्रमा घरजग्गालाई उपयोग गरेबापत ६५ करोड रुपैयाँ मुआब्जा छुट्याइएको थियो । सोमध्ये करिब ६२ करोड रुपैयाँ वितरण गरिसकेको आयोजनाले जानकारी दिएको छ ।

    ०७३ फागुन ५ देखि मुआब्जा वितरण सुरु गरिएको आयोजनाको डुबान क्षेत्रका ५ सय ५० घरधुरीले मुआब्जा लिइसकेका छन् । आयोजनाका लागि ४ सय १९ हेक्टर सरकारी क्षेत्र अधिग्रहण गर्नुपर्ने देखिएको छ । २५ किलोमिटर क्षेत्रसम्म जलाशय फैलिने आयोजनाको बाँध १ सय ४० मिटर अग्लो हुनेछ भने लम्बाइ १ सय ७५ मिटर हुने बताइएको छ । बाँध निर्माणपछि वातावरणीय सन्तुलन कायम गर्न नदीमा छोडिने १० प्रतिशत पानी उपयोग गरेर १.९ मेगावाटको अर्को आयोजना निर्माण गर्ने कम्पनीको योजना छ ।

    विद्युत् उत्पादन भएको वर्षदेखि पहिलो १० वर्षसम्म आयोजनाबाट वार्षिक करिब ५८ अर्ब ७७ करोड युनिट उत्पादन हुनेछ । त्यसपछि वार्षिक ४८ अर्ब ९९ करोड युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

    त्यस्तै, आयोजनाको मुख्य काम सुरु हुनुपूर्व आवश्यक पर्ने पूर्वाधार निर्माणका काम पनि अन्तिम चरणमा पुगेको साइड इन्चार्ज अधिकारीले जानकारी दिए । ‘पहुँच मार्ग, कर्मचारी आवासगृहलगायतका पूर्वाधारहरूको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ,’ उनले भने ।

    जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) समेत अन्तिम चरणमा छ । फेब्रुअरी अन्त्यसम्म पिपिएमा हस्ताक्षर हुने कम्पनीले जनाएको छ । यसैगरी, कम्पनीले आगामी मे महिनाभित्र पहिलो र दोस्रो लटको ठेक्का सम्झौता गर्ने तयारी गरेको छ । पहिलो प्याकेजअन्तर्गत आयोजनाको हेडवर्कर्स, पावरहाउस पर्छ भने दोस्रो प्याकेजमा विद्युत्गृह र आयोजनाको सुरुङ निर्माण तथा इलेक्ट्रो मेकानिकल इक्विपमेन्ट आयात र जडान रहेको छ । पहिलो प्याकेजमा एडिबी र दोस्रोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोग रहने बताइएको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । सन् २०१८ को मार्चबाट आयोजनाको मुख्य काम सुरु गरी २०२२ मा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । स्थानीय तहमा सहजीकरण गर्न आयोजना प्रभावित तनहुँका चारै तहमा स्थानीय परामर्श मञ्च (एलसिएफ) गठन भइसकेको छ ।

    तनहुँ हाइड्रोपावर लिमिटेडले नै अध्ययन गर्न लागेको तल्लो सेतीको क्षमता पनि बढ्ने देखिएको छ । ९२ मेगावाट क्षमतामा अध्ययन अनुमतिपत्र लिन विद्युत् विकास विभागमा आवेदन दिएको तल्लो सेतीको उत्पादन क्षमता १ सय ५ मेगावाट पुग्ने देखिएको हो । गण्डकी नदी बेसिनको गुरुयोजनामा आयोजनाको क्षमता १ सय २७ मेगावाट उल्लेख छ ।

    :नयाँ पत्रिका