तत्काल थप बिजुली आयात नहुने

    1199

    चैत्र १९, २०७३- नेपाललाई भारतले १४५ मेगावाट बिजुली दिनको लागि तयार रहेको बताए पनि मूल्यलगायत प्राविधिक विषय नमिल्दा तत्काल बिजुली नबेच्ने भएको छ । हालै निर्माण सम्पन्न भएको कटैया–कुसाहा र रक्सौल–परवानीपुरसहितका प्रसारण लाइनबाट बिजुली ल्याउन आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीसँग समझदारी हुन सकेन ।

    उक्त बिजुली नेपालले प्रतियुनिट ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ (५ रुपैयाँ ७६ पैसा नेरु) मा दिन भारतीय पक्षलाई आग्रह गरेको थियो । तर, भारतीय पक्षले अहिले बनेको प्रसारण लाइनको संरचना फरक भएकाले त्यही दरमा उपलब्ध गराउन कठिन हुन सक्ने बताएको थियो ।

    यसअघि ढल्केवर–मुजफरपुर लाइनबाट पनि सोही मूल्यमा नेपालले बिजुली किनेको थियो । तर, अन्य विभिन्न प्वाइन्टबाट किनिएको बिजुली भने नेपालले महँगो दरमा किनिरहेको छ । आन्तरिक तयारीका साथ पुन: वार्ता गर्ने भन्दै नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगमबीचको वार्ता सम्पन्न भएको छ ।

    ‘केन्द्र सरकारसँग केन्द्रीय लाइनबाट बिजुली किन्दा सस्तो परेको थियो । तर, अहिले हामीले किन्न लागेको बिजुली भनेको केन्द्रबाट नभई बिहार सरकारबाट हो । त्यसैले सस्तोमा दिन भारतीय पक्ष तयार भएन,’ वार्तामा सहभागी एक अधिकारीले कान्तिपुरसँग भने , ‘फेरि वार्ता गर्ने भन्दै प्राधिकरणको टोली शुक्रबारै काठमाडौं फर्केको छ ।

    केहीअघि भारतस्थित नेपाली दूतावासले भारत सरकारलाई यी दुई प्रसारण लाइनबाट सकेसम्म छिटो बिजुली दिन आग्रह गरेको थियो । भारतको ऊर्जा मन्त्रालयले बुधबार एक विज्ञप्ति नै प्रकाशित गरेर १४५ मेगावाट बिजुली छिट्टै नेपालमा निर्यात गर्ने घोषणा गरेको हो । त्यही तयारीपछि प्राधिकरणको टोली वार्ताका लागि आएको थियो । भारतबाट बिजुलीको आयात बढेपछि हाल प्राधिकरणले राजधानी काठमाडौंसहित देशभर घरायसी उपभोक्तालाई लोडसेडिङमुक्त गरेको छ भने औद्योगिक करिडोरहरूमा दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको छ ।

    भारतले थप बिजुली दिएपछि प्राधिकरणले औद्योगिक करिडोरमा समेत लोडसेडिङमुक्त गर्न सकिने जानकारी प्राधिकरणले दिएको छ । ‘हामीले विभिन्न परिस्थिति तथा प्रतिकूल अवस्थामा भारतबाट बिजुली किनेका छौं । त्यसैले मूल्य पनि फरक परेको छ, ती अधिकारीले भने, ‘हामीले ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनबाट थप बिजुली किन्ने तयारी गरेको भए हामीलाई सस्तो पर्ने थियो ।’

    स्रोत:कान्तिपुर