पीपीए नहुँदा ङादी आयोजना निर्माणमा ढिलाइ – सानो पूर्वाधार निर्माणमा २५ करोड खर्च

    2586

    लमजुङ, १९ मंसिर – नेपाल विद्युत् प्राधिकरणले समयमै विद्युत् खरिद सम्झौता पीपीए नगर्दा उत्तरी लमजुङको भुलभुलेमा निर्माण गर्ने भनिएको ३० मेगावाट क्षमताको ङादी जलविद्युत् आयोजनाको काम सुरु हुन सकेको छैन ।
    प्राधिकरणले सन् २०१७ मा राष्ट्रिय प्रसारणलाइनमा जोड्ने गरी आयोजनासँग सम्झौता गरेको भए पनि समयमा आयोजनाको पीपीए हुन नसक्दा निर्माणको काम अगाडि बढ्न नसकेको निर्माण कम्पनी बुटवल पावर कम्पनी (बीपीसी) ले जनाएको छ । लमजुङ विद्युत् विकास कम्पनी लेड्को ३ प्रतिशत र बाँकी सबै बीपीसीको गरी कुल ५ अर्ब लागत अनुमान गरीएको यो आयोजना ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
    तर, सरकारको ढिलासुस्तीका कारण योजनाअनुसार काम अगाडि बढाउन नसकिएकोे आयोजनाका प्रवद्र्धक गिरिजानन्द मिश्रले बताए । आयोजना निर्माण सुरु गर्नुपूर्व विकास पूर्वाधारका काममा बीपीसीले करिब २५ करोड खर्च गरीसकेको आयोजनाले दाबी गरेको छ । आयोजनाले मस्र्याङ्दी नदीमा बेलिब्रिज र आठ किलोमिटर सडक निर्माण गरिसकेको बीपीसीले जनाएको छ ।
    आयोजना निर्माणका लागि मालसामान ओसारपोसारका लागि मस्र्याङ्दी नदीमा मोटरेबल पुल निर्माण, मोटरबाटो, जग्गा खरिद, लगायतका काम गरिसकेको प्रवद्र्धक मिश्रले जानकारी दिएका छन् । पूर्वाधारको सबै काम सकिएको भए पनि समयमा पीपीए नहुँदा निर्माणको काम शुरु गर्न नसकिएको लेड्कोका सल्लाहकार रामबहादुर गुरुङले कारोबारलाई जानकारी दिएका छन् ।
    बाँहुनडाँडाको नाइचेमा बाँध बाँधी ४ किलोमीटर भूमिगत सुरुङबाट पानी ल्याई भुलभुलेको ताराचोक पुल नजिकै पावरहाउस निर्माण गरिने निर्माण कम्पनीले जनाएको छ । ५ मेगावाट क्षमताको सिउरी खोलाको पानीलाई पनि सदुपयोग गर्ने गरी बाँहुनडाँडा भीरपुस्तुनुमुनिको छिपु भन्ने स्थानमा सफ्ट ट्याङ्की निर्माण गरिने भएको छ । सबै संरचना भूमिगत हुने भएकाले यो आयोजना वातावरणमैत्री हुने मिश्रको भनाइ छ ।
    साना जलविद्युत् गुरुयोजनाअन्तर्गत सन् १९९३ मा सो अयोजना पहिचान भएको थियो । यसको पूर्वसम्भाव्यता अध्ययन लमजुङ विद्युत् विकास कम्पनी लेड्कोले गरेको थियो । १२ वर्षपहिले नै यसको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको हो । बीपीसीले लेड्कोबाट यो आयोजना सन् २००६ मा खरिद गरेको थियो । आयोजनाका सबै प्रक्रिया क्षमता विस्तार, वातावरणीय प्रभाव मूल्यांकन आदि पूरा भइसकेको छ ।
    सबै प्रक्रिया पूरा भएकाले अब निर्माणमा जानुपर्ने भए पनि बीपीसीले कहिले क्षमता विस्तार त कहिले आयोजनाको क्षेत्र (केअर्डिनेट) थप, कहिले उचाइ (इल्याभेसन) आदि थप्ने नाममा म्याद मात्र थप गरेको जलस्रोतका जानकारहरूको आरोप छ । प्राधिकरणले खुदीको टुनीखर्कमा विद्युत ट्रान्समिसन निर्माण गरेपछि मात्र विद्युत् खरिद गर्ने भनेकोमा हालसम्म पनि ट्रान्समिसन निर्माणको काम सुरु नगरेकाले आयोजना निर्माणमा अन्योलता छाएको बीपीसीको भनाइ छ ।

    प्रस्तुति:कारोबार