नलगाडमा सबै मुआब्जा यसै वर्ष

1738

खलङ्गा, साउन ५ गते । लामो समयदेखि मुआब्जा पाउन नसकेका नलगाड हाइड्रोपावर निर्माणस्थलका प्रभावित स्थानीयवासीले चालू आर्थिक वर्ष २०७६÷७७ मा मुआब्जाबापतको सबै रकम पाउने भएका छन् ।

चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सरकारले प्रभावित सबैलाई मुआब्जा दिने गरी दुई अर्ब ७२ करोड रुपियाँ विनियोजन गरेपछि छ हजार रोपनीको मुआब्जा यसै वर्षमा वितरण हुने भएको हो । जाजरकोटका प्रतिनिधिसभा सदस्य तथा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा रकम विनियोजन भएको बताइएको छ । रकम पाउने भएपछि स्थानीय हर्षित भएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

चार वर्षदेखि मुआब्जा वितरण सुरु गरिए पनि विनियोजित रकमभन्दा धेरै भुक्तानी दिनुपर्ने भएकाले हालसम्म पनि परियोजनाले बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युत् गृह निर्माणस्थलको २५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको प्रमुख रावलले बताउनुभयो ।

अब बाँधस्थलका स्थानीयको जग्गा अधिग्रहण गरी मुआब्जा वितरण सुरु हुने जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । यसअघि प्रभावितलाई प्रतिरोपनीको रु. ४ लाख ७५ हजार रुपियाँका दरले मुआब्जा वितरण गरिएको थियो ।

अब जग्गाको मूल्याङ्कन गरेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाइ नयाँ दररेट तोकेर मापदण्ड बनाइ मुआब्जा वितरणको काम हुने प्रजिअ बस्नेतले बताउनुभयो ।

केही दिनमै प्रभावित क्षेत्रको जग्गा रोक्का गर्ने कार्य सुरु हुने कम्पनीले जनाएको छ । यस आवमा एक हजार रोपनीभन्दा बढी जग्गा अधिग्रहण हुने नलगाड हाइडा«ेपावर कम्पनीका प्रमुख प्रशासकीय अधिकृत रामगोपाल लगाजुले जानकारी दिनुभयो छ । बजेट अभावमा जग्गा अधिग्रहणको काम रोकिएकोमा अब पूर्ण रूपमा अधिग्रहण गरी काम सुरु हुनेसमेत उहाँको भनाइ छ । सरकारले प्रत्येक वर्ष बजेट छुट्याए पनि बजेट अपुग हुँदै काम अघि बढ्न सकेको थिएन ।

कम्पनीको विस्तृत योजना प्रतिवेदनको काम चार महिनाभित्र सकिने सम्भावना रहेको कम्पनीका इन्जिनियर पदम थापाले जानकारी दिनुभयो । स्मेक, एमडब्लुएच कन्सलटेन्टले विस्तृत योजना प्रतिवेदन बनाउने जिम्मा लिएको छ ।
यो आयोजना निर्माण भएमा ४१० मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य छ । बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका–७, दल्लीमा भूमिगत विद्युत् गृह निर्माण हुनेछ ।

 

स्रोत:गोर्खापत्र