टीबीएम प्रविधिबाट भेरी बबई डाइभर्सन

    2117

    सुर्खेतः नेपालमै पहिलो पटक सुरुङ निर्माणको लागि विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिने भएको छ ।

    जलविद्युत्, खानेपानी लगायतमा अहिलेसम्म मानिसले काम गर्दै आएको भए पनि राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनमा पहिलोपटक सुरुङभित्रका सबै कार्य परीक्षणको टीबीएमद्वारा निर्माण गर्न लागिएको हो । आयोजना निर्माणमा सफलता भए टीबीएमको प्रयोग जलविद्युत्, सडक, खानेपानी, रेलमार्गलगायतमा विस्तार गर्ने सरकारको योजना छ ।

    मेसिन अहिले आयोजनास्थल सुर्खेतमा ल्याइएको छ । आयोजना सुर्खेतको भेरी गंगा नगरपालिकामा पर्छ । आयोजनाका इन्जिनियर डोरप्रसाद उपाध्यायले भने, “हामीले प्रयोग गर्न लागेको टीबीएम नेपालमै पहिलो हो,” इन्जिनियर उपाध्याय भन्छन, “यो मेसिन सफल भयो भने नेपालको विकासमा एउटा क्रान्ति ल्याउनेछ ।” कम्प्युटर प्रविधियुक्त मेसिन भएकाले सुरुङ खन्दा सबैजसो काम मेसिनबाटै हुने भएकाले जनशक्ति समेत कम खपत हुने इन्जिनियर उपाध्यायको दाबी छ ।

    मंसिरबाट सुरुङ खनिने
    उनले टीबीएम मेसिन जडान गर्नका लागि एक–डेढ महिना लाग्ने बताउँदै मंसिरबाट सुरुङ खन्ने कार्य सुरु हुने जानकारी दिए । यो मेसिन २८० मिटर लामो हुने भएकाले मेसिन राख्न “प्लेटफर्म”का लागि मानिसले डेढ सय मिटर सुरुङ खनिसकिएको इन्जिनियर उपाध्यायले जानकारी दिए । उक्त स्थानमा मेसिनको आधा भागभित्र र आधा भागबाहिर रहनेछ ।

    टीबीएम मेसिनले एक दिनमा १५ मिटर सुरुङ खन्ने बताइएको छ । इन्जिनियर उपाध्यायका अनुसार आयोजनाको सुरुङ खन्ने काम पूर्ण प्रविधियुक्त हुनेछ । सुरुङ खन्दा निस्किएको माटो बाहिर ल्याउन रेलको प्रयोग गरिनेछ । इन्जिनियर उपाध्यायका अनुसार माटो बोक्ने रेल आयोजनास्थलमा आइसकेको छ भने अहिले लिग बनाउने काम भइरहेको छ ।

    मेसिनको कटरहेड रविन्स कम्पनी अमेरिका र अरु पार्टस् चाइनाको साँघाई कम्पनीले निर्माण गरेको हो । त्यस्तै सुरुङको भित्तामा प्रयोग गरिने रिङको सेग्मेन्ट उत्पादनको काम पनि तीव्र रूपमा भइरहेको छ ।

    सुरुङको भित्तामा प्रयोग गरिने ४.२ डायमिटरको रिङका लागि ३० सेन्टिमिटर चौडाइका चारवटा पिस सेग्मेन्ट बनाइएको छ । यी सेग्मेन्ट फिटिङको काम पनि टीबीएम मेसिनबाट नै हुने जनाइएको छ ।  १२ किमि २ सय मिटर लामो सुरुङका लागि उक्त रिङ तयार गर्नुपर्ने हुन्छ । हाल ५० पिस सेग्मेन्ट तयार भइसकेको इन्जिनियर उपाध्यायले बताए ।

    पूर्वाधारका लागि ९० प्रतिशत काम सकियो 
    इन्जिनियर उपाध्यायले टनेलको पूर्वाधारका लागि ९० प्रतिशत काम सकिएको जानकारी दिए । आयोजनामा हालसम्म २२ सय मिटर पहुँच मार्ग निर्माण, अफिस क्याम्प, ठेकेदार कम्पनीको क्याम्प, सेग्मेन्ट प्लान्ट, क्रसर प्लान्ट निर्माण कार्यसम्म भइसकेको इन्जिनिएर उपाध्यायले बताए ।

    ४ वर्ष १० महिनामा सुरुङ निर्माण सम्पन्न गर्नेगरी सिँचाइ विभाग र चाइना ओभरसिजबीच २०७१ माघ १६ गते ठेक्का सम्झौता भएको थियो । सुरुङ निर्माण गरी प्रतिसेकेण्ड ४० घनमिटर भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र यही पानीले बाँके–बर्दियाका जमिनमा सिँचाइ पु¥याउने आयोजनाको लक्ष्य छ ।

    तीन चरणमा निर्माण सम्पन्न गरिने उक्त आयोजनाको पहिलो चरणमा सुरुङ खनिनेछ भने दोस्रो चरणमा ४८ मेगावाटको बिजुली निकाली राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । तेस्रो चरणमा सिँचाइका लागि काम गरिनेछ । करिब १७ अर्ब रुपैयाँमा सम्पन्न हुने सो आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा पुग्नेछ ।

    करिब १२५ किमि क्षेत्रमा सिँचाइ, ग्रामीण सडक र विद्युतीकरणका कामसमेत उक्त आयोजनाले गर्ने सम्झौतामा उल्लेख छ । आयोजना निर्माणका लागि चालू आवमा सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

    आयोजनाले सामाजिक विकासका कामअन्तर्गत बबई आसपासमा सिँचाइ आयोजना हात्तीखालमा रिङरोड, चेपाङमा बबई नदी नियन्त्रण, सडक ग्राभेल गरिसकेको छ भने बबईमा रहेका खरको छानो भएका घरहरूका लागि जस्ता पाता वितरण गरेको छ ।

    “असारसम्म डेढ सय मिटर सुरुङ खनिसक्ने भनेकोमा जेठ २५ मै सिध्यायो,” इन्जिनियर उपाध्यायले भने, “टीबीएम मेसिनले दिनमा १५ मिटर खन्ने अनुमान छ त्योभन्दा बढी खने चाँडै सकिन्छ सम्झौता मितिभन्दा पहिले नै काम सम्पन्न हुने आशा गर्न सकिन्छ ।”

    स्रोत:कारोबार