नेपाल भारत अन्तरदेशीय प्रसारणलाइन आयोजना – लगानी नजुटे पनि बोलपत्र आह्वानको तयारी

    2750

    काठमाडौं, १२ फागुन – वित्तीय व्यवस्थापन नभए पनि नेपाल–भारत ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि आगामी साता बोलपत्र आह्वान हुने भएको छ ।
    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव र भारतीय पक्षबीच भएको छलफलमा आगामी बिहीबार बोलपत्र आह्वान गरी आगामी जुलाईसम्म प्रसारणलाइन बनाउनका लागि छनोट हुने कम्पनीसँग ठेक्का सम्झौता गर्ने सहमति भएको छ ।
    नेपालतर्फ ढल्केबारदेखि भिठ्ठामोडसम्म ४० किलोमिटर प्रसारणलाइन बनाउन पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन) र भिठ्ठामोडदेखि मुजफ्फपुरसम्म १ सय किलोमिटर लामो प्रसारणलाइन बनाउन क्रसबोर्डर पावर ट्रान्समिसन कम्पनी लिमिटेड (सीपीटीसी) गठन भइसकेको छ ।
    वित्तीय व्यवस्थापन नभए पनि बोलपत्रको प्रक्रियामा जाने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक यादवले बताए । तत्काल लगानी जुटाउनलाई नै बोलपत्रको प्रक्रियामा गएको उनको भनाइ छ । प्रसारणलाइनको लम्बाइ १ सय ४० किलोमिटर हुनेछ । यसका लागि ५ करोड २० लाख डलर खर्च हुनेछ ।
    नेपालतर्फ प्रसारणलाइन बनाउन भारतको निर्यात आयात (एक्जिम) बैंकमार्फत १ करोड ३० लाख डलर कर्जा दिन नेपाल र भारतबीच सम्झौता भइसके पनि हालसम्म सो रकम प्राप्त हुन सकेको छैन् ।
    असारमा भएको लगानी सम्झौतामा वित्तीय स्रोत जुटाई माघमै बोलपत्र आह्वान गर्ने लक्ष्य निर्धारण गरिएको थियो । त्यहाँको पावर फाइनान्स कर्पोरेसनबाट सीपीटीसीले ३ करोड २० लाख अमेरिकी डलर लगानी जुटाइसकेको छ ।
    प्रसारणलाइन आगामी सन् २०१४ सम्म सक्ने लक्ष्य निर्धारण गरिएको छ ।  प्रसारणलाइनबाट १ हजार २ सय मेगावाट विद्युत् आदानप्रदानका लागि क्षमता बुक भइसकेको छ ।
    आवश्यक परेका बेला भारतबाट आयात गर्न र नेपालबाट बढी भएको बिजुली भारतमा निकासी गर्न अन्तरदेशीय प्रसारणलाइन बनाउने योजना ल्याइएको हो । यो लाइन बनेपछि मात्र एक दर्जन भारतीय कम्पनीलाई नेपालबाट विद्युत् निकासी गर्ने बाटो खुल्नेछ ।

    यो लाइन बनाउन भारतले पाँच वर्षअघि सन् २००७ मा लाइन अफ क्रेडिटमार्फत दिएको १० करोड अमेरिकी डलरबाट १ करोड ३० लाख डलर खर्च गर्ने भनिएको थियो ।
    नेपालतर्फको पीटीसीएनमा प्राधिकरणको ५० र जलविद्युत् लगानी तथा विकास कम्पनीको १४, भारतको पावरग्रिड कर्पोरेसनको २६, आईएलएफ इनर्जीको १० प्रतिशत लगानी हुनेछ । त्यस्तै, भारततर्फको सीपीटीसीमा प्राधिकरणको १०, पावरग्रिड र सतलज जलविद्युत् निगम लिमिटेडको २६÷२६ तथा आईएलएफएस इनर्जीको ३८ प्रतिशत लगानी हुनेछ । सतलजले अरुण तेस्रो जलविद्युत् आयोजना बनाउँदैछ ।
    प्रसारणलाइन निर्माण भएपछि जीएमआर इनर्जी लिमिटेडले माथिल्लो कर्णाली, सतलजले अरुण तेस्रो, भिल्बरा ग्रुपले लिखुका साथै टाटा पावरले तामाकोसी–३ विद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली भारत निकासी गर्न सक्नेछन् ।

    प्रस्तुति: कारोबार