जलविद्युतमा निजी लगानी बढ्दै, २९८० मेगावाटका आयोजना निर्माणाधीन

    1165

    काठमाडौं । पछिल्लो समय जलविद्युतमा निजी लगानी बढ्दै गएको छ । सार्वजनिक भन्दा निजी लगानीमा निर्माण भएका जलविद्युत् आयोजना धेरै छन् । हालसम्म सार्वजनिक र निजी क्षेत्रबाट गरी झण्डै ३ हजार मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण भइरहेका छन् । यी मध्ये अधिकांश आयोजना निजी लगानीमा निर्माण हुन लागेका हुन् । आधा दर्जन आयोजना मात्र सरकारको लगानीमा निर्माण भइरहेका छन् ।

    हालसम्म निजी लगानीमा कुल ६० आयोजना सम्पन्न भई ४४१ मेगावाट बिजुली थप भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । हालसम्म २ हजार ९७९ मेगावाट क्षमताका १४६ आयोजना निर्माणाधीन अवस्थामा छन् । यीमध्ये कतिपय अन्तिम चरणमा पुगेका छन् भने कतिपय निर्माण सुरुको तयारीमा छन् । यी सबै आयोजना ढिलोमा आगामी सन् २०८० सम्म सम्पन्न हुने गरी निर्माण थालिएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।

    सबै आयोजना नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिका हुन् । तनहुँ भने अर्धजलाशययुक्त आयोजना हो । चालु आर्थिक वर्षमा सम्पन्न भएका १२५ मेगावाट क्षमताका एक दर्जन आयोजना सबै निजी लगानीमा सम्पन्न भएका हुन् ।

    निर्माणधिन मध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी हो । यो आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण भइरहेको छ । यसमा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत लगानी छ । यो आयोजना पनि आगामी वर्ष सम्पन्न हँुदैछ । यस्तै, सार्वजनिक निजी साझोदारीमा १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, १५ मेगावाटको माथिल्लो सान्जेन र ४२ मेगावाटको तल्लो सान्जेन छन् । यी आयोजना आउँदो ३ वर्षभित्र सम्पन्न हँुदैछन् । भूकम्प र सीमा नाकाबन्दीले आयोजना निर्माणमा ढिलाइ भएको हो ।

    सरकारी लगानीमा १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माणको तयारीमा छ । यसमा निर्माण व्यवसायी छनोटको काम भइरहेको छ । लगानी समेत जुटिसकेकाले केही महिनाभित्र निर्माणको तयारी हँुदैछ । हाल निर्माणपूर्वको तयारी भइरहेको छ । यस्तै ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए निर्माणधिन अवस्थामा छ । १४ मेगावाटको कुलेखानी तेस्रो र ३० मेगावाटको चमेलिया ६ महिनाभित्र सम्पन्न हँुदैछन् ।

    निर्माणधिन अन्य ठूला आयोजनामा ८६ मेगावाटको सोलु दुधकोसी, ८२ मेगावाटको तल्लोसोलु, ४२ मेगावाटको मिस्त्रीखोला, ४९.६ मेगावाटको सुपरदोर्दी, ४८.८ मेगावाटको खिम्ती २, ७५ मेगाावटको त्रिशुली गल्छी, ५२.१ मेगावाटको मध्यतमोर, ४४ मेगाावटको सुपरमादी, ३८ मेगावाटको निलगिरी खोलालगायत छन् ।

    यस्तै, ३० मेगावाटको खानीखोला, ३० मेगावाटको दोर्दीखोला, २५ मेगावाटका कावेली बी, २३.५ मेगावाटको सोलुखोला, ३७.६ मेगावाटको कावेली ए, ३० मेगावाटको न्यादीखोला, २५ मेगावाटको दोर्दीखोला ए, ३३.४ मेगावाटको लिखु २, ३८.४ मेगावाटका माथिल्लो कलंगाखोला, ३६ मेगावाटको बलेफी ए, ३४ मेगावाटको आँखुखोला र ३८ मेगावाटको निलगिरीखोलालगायत ठूला आयोजना निर्माण भइरहेको विद्युत प्राधिरकरणले जनाएको छ ।

    पछिल्लो समयमा धेरै आयोजना निर्माणको चरणमा रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता अधिकारी बताउँछन् । अझै धेरै आयोजना प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) को प्रतिक्षामा छन् । प्राधिकरणले धमाधम पीपीए गरिरहेको अधिकारीको भनाइ छ । पछिल्लो समयमा निजी क्षेत्रले जलविद्युतमा लगानी बढाएको उनको भनाइ छ । निजी क्षेत्रले मात्रै झण्डै १ सय मेगावाट क्षमताका आयोजनामा लगानी जुटाइ निर्माण गर्न सक्ने अवस्थामा पुगेको छ । एमभी दुगड समूहले लिखुमा १५७ मेगावाट क्षमताका ३ वटा आयोजनालाई लगानी जुटाई निर्माण सुरु गर्ने तयारीमा पुगेको छ ।

    पीपीए भएको मध्ये ५२.४ मेगावाटको लिखु ४ जलविद्युत् आयोजना नेपालको त्रिवेणी समूह र भारतको भिल्बारा इनर्जीको संयुक्त लगानीमा निर्माण हुन लागेको हो । सिभिल निर्माणका लागि बोलपत्र मूल्यांकनको चरणमा रहेको छ । यस्तै, भारतको एस्सेल समूहको लगानीमा ८२ मेगावाटको तल्लोसोलु आयोजना निर्माण भइरहेको छ ।  यो आर्थिक वर्षमा भने एक दर्जन आयोजना सम्पन्न भई १२५ मेगावाटमात्र बिजुली उत्पादन हुने भएको छ । यी सबै निजी लगानीमा निर्माण भएका आयोजना हुन् ।

    आगामी आर्थिक वर्षमा निजी लगानीबाट मात्रै जलविद्युत र सोलार प्रविधिबाट मात्रै २६२ मेगावाट बिजुली उत्पादन हुने अधिकारीले जानकारी दिए ।

    उनका अनुसार ६१ मेगावाट सोलार र २०१ मेगावाट जलविद्युत रहेका छन् ।

    स्रोत:बाह्रखरी