चिनियाँ कामदार नफर्कँदा रोकिए साञ्जेन जलविद्युत् आयोजनाका काम, लक्ष्यमा धक्का !

1687

काठमाडौं । चिनियाँ कामदार तथा प्राविधिकहरू नफर्कँदा साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको दुई जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । साञ्जेनले निर्माण गरिरहेको १४.८ मेगावाटको माथिल्लो साञ्जेन र ४२.५ मेगावाटको तल्लो साञ्जेनको काम प्रभावित बनेको हो ।
९० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो साञ्जेन आयोजनाबाट आउँदो २०७८ पुसभित्र बिजुली उत्पादन गर्ने लक्ष्य हो । तर, चिनियाँ प्राविधिक तथा कामदार नआउँदा लक्ष्य प्रभावित हुने देखिएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै आयोजनाको काम छोडेर आफ्नो देश गएका कामदार र प्राविधिक अहिलेसम्म फर्केका छैनन् । कामदार नआउँदा चिनियाँ कम्पनीले जिम्मा पाएको इलेक्ट्रो मेकानिकलतर्फको काम अलपत्र परेका छन् ।

त्यतिमात्र होइन, चीनबाट मेसिन तथा उपकरण पनि ल्याउन सकस परिरहेको छ । एक त कोरोना महामारीका कारण चीनले नेपाल–चीन सीमा नाका बन्द गरेपछि मेसिन तथा उपकरण भित्रिन पाएका छैनन् । आयोजनाका केही उपकरण साइटमै आए पनि अधिकांश मेसिन तथा उपकरण सीमानामै अड्किएको आयोजनाले जनाएको छ ।

‘इलेक्ट्रो मेकानिकलतर्फ चिनियाँ कामदार नआउँदा विद्युतगृह लगायतका धेरै काम अड्किएका छन् । केही मेसिन आइसकेका छन्, केही सामान सीमानाको समस्याले अड्किएका छन्’ आयोजना प्रमुख सुदनसिंह महतले भने, ‘कामदार आउने बित्तिकै विद्युतगृह निर्माण र मेसिन जडान गर्न तयार अवस्थामै छ ।’ उनले जति छिटो चिनियाँ कामदार आए त्यति छिटो आयोजनाको काम पूरा हुने बताए ।

सिभिलतर्फको ठेकेदार भारतीय ईसीआई/बग्रगुरु जेभी, हाइड्रो मेकानिकलतर्फ नेपाल हाइड्रो इलेक्ट्रोसिटी कम्पनी (एनएफसिटी) र इलेक्ट्रोे मेकानिकलतर्फको काम चिनियाँ डोम इलेक्ट्रोसिटी कर्पोरेसन (डीईसी) ले गर्दै आएको छ ।

सुरुमा २ अर्ब रुपैयाँ लागत अनुमान गरिए पनि आयोजनाको लागत केही बढ्ने भएको छ । तर, यत्ति नै बढ्ने भन्ने यकिन नभएको आयोजनाले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडअन्तर्गत निर्माणाधीन सो आयोजना चिनियाँ कामदार आएर काम भयो भने मात्र आउँदो पुसभित्र सम्पन्न हुनेछ ।

चिनियाँ कामदारलाई जतिसक्दो छिटो ‘साइट’ मा परिचालन गर्नका लागि ऊर्जा मन्त्रालय र सरकारको माथिल्लो निकायबाट नै पहल भइरहेको आयोजना प्रमुख महतले बताए ।

आउँदो २०७८ वैशाखसम्म भए पनि चिनियाँ कामदार आएमा तोकिएकै अवधिमा आयोजना सम्पन्न भएर बिजुली बल्ने महतले बताए । त्यस्तै, सो आयोजनाबाट उत्पादन हुने बिजुली चिलिमे हबसम्म जोड्न ६ किलोमिटरको प्रसारण लाइन बनाउनुपर्छ ।

६ देखि ८ महिनाभित्र प्रसारण लाइन निर्माण पूरा गर्ने गरी योजना बनाइएको महतको भनाइ छ । माथिल्लो साञ्जेन सम्पन्न भएपछि वार्षिक ८ करोड २४ लाख ३९ हजार युनिट बिजुली उत्पादन हुनेछ ।

तल्लो साञ्जेन अझै एक वर्ष लाग्ने

४२.५ मेगावाटको तल्लो साञ्जेन आयोजना आउँदो वैशाखभित्र सम्पन्न गर्ने कार्यतालिका छ । यो आयोजनामा पनि माथिल्लो साञ्जेनको जस्तै समस्या छ । चिनियाँ कामदारले नै इलेक्ट्रोमेकानिकलको काम जिम्मा लिएकोमा उनीहरूले अहिलेसम्म काममा फर्केका छैनन् ।

सन् २०२० मार्चमै सम्पन्न हुनुपर्ने लक्ष्य लिएको भए पनि चिनियाँ कामदारको ढिलाइ र कोरोना महामारीले चिनियाँ कामदार नफर्कँदा आउँदो वैशाखभित्र आयोजना सम्पन्न हुने अवस्था नभएको आयोजना प्रमुख अर्जुनबहादुर सिंहले बताए ।

‘वैशाखसम्म आयोजना सम्पन्न हुने सम्भावना छैन, न्यून नै छ । कार्यतालिका अनुसार नै भन्ने हो भने ४६० दिन जति जडान गर्ने अवधि हो । पोहोर साल (२०२० मार्च) देखि नै चिनियाँ कम्पनीले काम गर्नुपर्ने हो,’ उनले भने, ‘त्यसअनुसार, अबको ३ महिनामा सम्पन्न हुनुपर्ने थियो । तर, सुरु नै गरेको छैन, मेसिन तथा सामान नै आएको छैन । यसले थप १ वर्ष आयोजना लम्बिने देखिन्छ ।’ आयोजनाको सुरुवाती लगात अनुमान ७ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यो निर्माण अवधिको ब्याज बाहेकको हो । हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ ।

प्रसारण लाइन ४ महिनाभित्र सम्पन्न हुने चरणमा छ । कोरोना महामारीकै कारण भारतबाट मेसिन तथा तार लगायतका सामान अड्किँदा लाइन निर्माणमा पनि ढिलाइ हुँदै गएको छ ।

साञ्जेनका दुवै आयोजनाको समस्या र प्रगति बुझ्न प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्य आयोजना स्थलमा पुगेका छन् । उनले जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुनिश्चितता गर्ने गरी पुगेका हुन् । ‘प्रसारण लाइनको समस्यासँगै चिनियाँ कामदार नआएर काम त्यति हुन सकेको छैन,’ आयोजना स्थलबाट शाक्यले क्यापिटल नेपालसँग कुरा गर्दै भने, ‘आउँदो पुसभित्र आयोजना ल्याउन सुनिश्चितता गर्दैछौं ।’

सन् २०१३ देखि निर्माण सुरु भएको तल्लो र माथिल्लो साञ्जेन आयोजना नाकाबन्दी, भूकम्पलगायतका विभिन्न समस्याले ढिलाइ हुँदै गएका छन् । आयोजनाबाट २४ करोड १८ लाख ६५ हजार युनिट बिजुली उत्पादन हुनेछ ।

स्रोत : -क्यापिटल नेपाल