चीनबाट छुट्यो सुरुङ खन्ने उपकरण

    1111

    काठमाडौं- विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलो पटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ। जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट बोर्ड गरिएको उक्त मेसिनजुलाई १५ सम्ममा कोलकाता बन्दरगाह आएर त्यसपछि स्थल मार्ग हुँदै नेपाल आउने छ। सिँचाइ मन्त्रालयले भेरी बबई डाइभर्सन आयोजनाका लागि उक्त मेसिन तयार गर्न ६ महिनाअघि चीनको क्युबेक ओभरसिजलाई जिम्मा दिएको थियो।

    डेढ अर्ब रुपैयाँको लागत (नेपालमाल्याई पुर्‍याउँदासमेत) मा तयार गरिएको टिबिएम भेरी बबई डाइभर्सन आयोजनामा सफल भए उक्त उपकरण प्रयोग गरेर नेपालमा विकासको क्रान्ति सिर्जना हुने विकासविदहरूले अपेक्षा गरेका छन्। सिँचाइ मन्त्रालयका सहसचिव सागर राईले भेरी बबई डाइभर्सनमा आउँदो नोभेम्बर १० देखिटिबिएम जडान गरेर सुरुङ निर्माण थाल्ने कार्ययोजना रहेको जानकारी दिए।

    ‘जुन २७ मा चीनको सांघाईबाट हिँडाइएको टिबिएम कोलकाता हुँदै सेप्टेम्बर १५ सम्ममा आयोजनाको साइट पुर्‍याएर नोभेम्बर १० देखि सुरुङ खन्न थाल्ने योजना छ,’ राईले भने। दुई सय ५० मिटर लामो टिबिएम जडान गर्न केही समय लाग्ने भएकाले नोभेम्बर १० देखि सुरुङ खन्न थाल्ने योजना बनाइएको उनले बताए। टिबिएम जडान गर्न दुई सय ५० मिटर सुरुङ भने जनशक्ति प्रयोगबाटै तयार गर्नुपर्ने छ। हालसम्म टिबिएम जडान गर्न एक सय ५० मिटर सुरुङ तयार भइसकेको उनले बताए।

    भेरी नदीको ४० क्युमेक पानी बबईमा मिसाएर बाँके, बर्दियाका ८० हजार बिघा (५१ हजार हेक्टर जमिन) मासिँचाइ सुविधा पुर्‍याउने तथा ४८ मेगावाट विद्युत निकाल्ने लक्ष्य लिइएको भेरी बबई डाइभर्सनको सुरुङ खन्न टिबिएम प्रयोग गर्न थालिएको हो। आर्थिक वर्ष ०६८/६९ देखि निर्माण थालिएको भेरी बबई डाइभर्सनको सुरुङ खन्न गाह्रो भएपछि टिबिएमको खोजी गरिएको हो।

    राईका अनुसार नेपालमा अहिलेसम्म टिबिएम उपकरण प्रयोग गरेर कुनै पनि आयोजना निर्माण गरिएका छैनन्। विश्वका विभिन्न देशमा भएका ठूल्ठूला विकास निर्माणका आयोजनामा टिबिएम प्रयोग गर्ने चलन छ। नेपालमा पहिलोपटक प्रयोगमा ल्याउन थालिएको टिबिएम अमेरिका, चीनलगायत विकसित देशमा प्रयोगमा ल्याइएको मन्त्रालयका अधिकारी बताउँछन्।

    भेरी नदीको पानी बबईमा मिसाउन १२ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ। नेपालको अहिलेकै पद्धति प्रयोग गरी उक्त सुरुङ खन्ने हो भने वर्षौं लाग्ने भएकाले अत्याधुनिक मेसिन प्रयोग गर्नुपर्ने आवश्यकता ठानिएको हो। ‘एकातिर अहिलेकै पद्धतिमा १२ किलोमिटर सुरुङ खन्दा वर्षौं लाग्ने र अर्कोतिर अत्याधुनिक उपकरणको उपयोग गर्ने सोचअनुसार टिबिएमको आवश्यकता ठानिएको हो,’ राईले भने, ‘टिबिएम सफल भयो भने नेपालको विकासको गति एकदमै छिटो हुन्छ।’

    भेरी बबई डाइभर्सननमा टिबिएम सफल भए नेपालका कम्तीमा अन्य आठ वटा ठूला आयोजनामा समेत उक्त उपकरण प्रयोग गर्न सकिने बताइएको छ। आगामी दिनमा सुरुङ खन्नुपर्ने अन्य आयोजनाको संख्या अझै बढ्न सक्ने बताइएको छ।

    विद्युत उत्पादन र सिँचाइ सुविधा उपलब्ध गराउने उक्त आयोजना नेपालमै नमुनाहुने धेरैको अपेक्षा छ। तराईको ८० हजार बिघा जमिनमा किसानलाई चाहिएको बेला सिँचाइका लागि पानीको सुविधा उपलब्ध गराउने आयोजना नेपालका लागि नमूना हुने धेरैको विश्वास छ। टिबिएम सफल भए तोकेकै अवधिमा आयोजनाको लक्षित काम सकिने बताइएको छ। मन्त्रालयले आर्थिक वर्ष ०७७/७८ मा उक्त आयोजना सक्ने लक्ष्य लिएको  छ।

    करिब १२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनामा हालसम्म एक अर्ब २५ करोड रुपैयाँ जति खर्च भइसकेको छ। भेरी बबई डाइभर्सनमा १२ किलोमिटर सुरुङ खन्नमात्र करिब साढे १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त आयोजनाका लागि सुरुङ खन्नु नै सर्वाधिक जटिल र महँगो मानिएको छ।

    टिबिएम सफल भए त्यसले दुई वर्षभित्र सुरुङ खनिसक्ने आयोजनाका अधिकारीले अपेक्षा गरेका छन्। उक्त उपकरण जुन आयोजनाका लागि प्रयोग गरिन्छ त्यसबोहक अन्यमा पुनःप्रयोग गर्न नसकिने प्राविधिक बताउँछन्। ‘भेरी डाइभर्सनका लागि तयार पारिएको टिबिएम अर्को आयोजनाका लागि उपयोग गर्न सकिँदैन,’ राईले भने, ‘त्यसैले कथम्कदाचित भेरी बबई डाइभर्सनमा टिबिएमले काम गरेन भने त्यसमा गरिएको लगानी डुब्छ।’

    टिबिएमले कामगर्ने या नगर्ने भन्नेबारे सुर्खेतको भौगोलिक वनावटले निर्क्योल गर्ने बताइएको छ। आयोजनामा खटिएका प्राविधिककाअनुसार कडा चट्टानभएको भूगोल हेर्दा टिबिएम सुरुङ खन्न उपयोगी हुने देखिन्छ। ‘तर, सुरुङ खन्न नपाई टिबिएम सफल हुन्छ नै भनेर भने ठोकुवा गर्न अहिले छिटो हुन्छ,’ एक प्राविधिकले भने।

    स्रोत:नागरिक दैनिक