चिसो र सुख्खाले विद्युत् उत्पादन २५ प्रतिशत घट्यो, प्राधिकरण भन्छ–तर पनि लोडसेडिङ हुँदैन

    2805

    ktm

    काठमाडौं । चिसो बढ्दै गएर नदीमा जलस्तर घट्न थालेपछि यसको असर विद्युत उत्पादनमा परेको छ ।  सबै आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको भएकाले चिसो र सुख्खा बढेपछि जलस्तरमा कमी आई विद्युत् उत्पादन २५ प्रतिशत घटेको छ । सुख्खा र चिसोका कारण नदीमा जलप्रवाह कम हुँदै गएपछि सबै आयोजनाबाट विद्युत उत्पादन ७५ प्रतिशतमा झरेको नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए ।

    नदीमा जलस्तर घटेर विद्युत उत्पादनमा कमी भए पनि तत्काल लोडसेडिङ नहुने उनले स्पष्ट पारे । “भारतबाट बिजुली आएन भने मात्र लोडसेडिङ हुन्छ” उनले भने “भारतबाट आयात भएपछि माग र आपूर्ति व्यवस्थापन भई लोडसेडिङ हँुदैन ।”

    उत्पादन घटेपछि माग व्यवस्थापन गर्न प्राधिकरणलाई हम्मे परिरहेको उनले सुनाए । उनका अनुसार कालिगण्डकी नदीमा जलप्रवाहमा कमी आएपछि १४४ मेगावाट क्षमताको कालिगण्डकी ए आयोजनाबाट १ सय मेगावाट मात्र उत्पादन भइरहेको उनले बताए ।

    यस्तै ६९ मेगावाटको मस्र्याङ्दीबाट ५५, ७० मेगावाटको मध्यमस्र्याङदीबाट ५० मेगावाट हाराहारीमा विद्युत उत्पादन भइरहेको उनले जानकारी दिए । श्रेष्ठका अनुसार निजी आयोजनाबाट पनि विद्युत उत्पादन घट्न थालेको छ ।

    उनका अनुसार प्रणालीमा अझै ४ सय मेगावाट अपुग छ । माग दैनिक पिक आवरमा १ हजार २५० र आपूर्ति भारतबाट समेत गरी साढे ८ सय मेगावाट छ । भारतबाट मात्र २८० मेगावाटसम्म आपूर्ति भइरहेको छ । यस्तै विद्युत प्राधिकरणका आयोजनाबाट ३५० देखि ३८० मेगावाट र स्वतन्त्र ऊर्जा उत्पादकबाट २०२ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

    विद्युत प्राधिकरणले लोडसेडिङ हुन नदिने थप २२० मेगावाटसम्म बिजुली आयात गर्दैछ । गत वर्ष ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । यो वर्ष विद्युत आयात बढाएर ५६० मेगावाट पु¥याउने लक्ष्य लिएको छ ।

    प्राधिकरणका अनुसार ढल्केबर–मुज्जफपुर प्रसारणलाइनबाट थप ८०, कटैया–कुसाहबाट ५०, परवानीपुर–रक्सौलबाट ५० र टनकपुर नाकाबाट ४० मेगावाट बिजुली आयात गर्ने प्राधिकरणको योजना छ ।

    स्रोत:बाह्रखरी