चमेलिया जलविद्युत् आयोजना : पुसदेखि व्यावसायिक उत्पादन शुरू

    1744

    दार्चुला । सन् २०११ मा नै सम्पन्न गर्ने लक्ष्य लिइएको बहुचर्चित चमेलिया जलविद्युत् आयोजनाले आगामी जनवरीदेखि व्यावसायिक उत्पादन थाल्ने गरी तयारी थालेको छ । आयोजना प्रमुख अजय दाहालका अनुसार डिसेम्बरदेखि परीक्षण उत्पादन थालिनेछ । सोका लागि नोभेम्बर २० अर्थात् मङ्सिर ४ मा टनेलमा पानी पठाइनेछ । ७ दिनसम्म टनेल परीक्षण गरेपछि विद्युत् उत्पादनका लागि मेशिनमा पानी पठाइनेछ । नेपाल विद्युत् प्राधिकरणले डिसेम्बर १ (मङ्सिर १५) देखि परीक्षण शुरू गरेर १ महीनाभित्र व्यावसायिक उत्पादन गर्न लागेको हो ।

    निर्माण शुरू भएको ११ वर्षपछि चमेलियाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिन लागेको हो । डिसेम्बर १ मा चमेलियाको एउटा युनिटको परीक्षण (वेट टेष्ट) थाल्ने तयारी भइरहेको आयोजना प्रमुख दाहालले जानकारी दिए । परीक्षण शुरू गर्न नोभेम्बर २० देखि आयोजनाको सुरुङमा पानी भरिने उनले बताए । यो आयोजना सन् २००७ को जनवरीमा शुरू भएको हो । आयोजना दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचमा रहेको छ ।

    चमेलियाको परीक्षण शुरू गर्नकै लागि इलेक्ट्रो तथा हाइड्रोमेकानिकल ठेकेदार कोरियन हाइड्रो एण्ड न्युक्लियर कम्पनीका प्राविधिक टोली र एशियाली विकास बैङ्क(एडीबी)को टोली नेपाल आइपुगेको छ । सिभिल ठेकेदार गेजुबा ग्रूप कर्पोरेशनको प्राविधिक टोली पनि आइपुगेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

    परीक्षण उत्पादन शुरू गर्नुअघि चमेलियाको विद्युत् जोडिने बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन चार्ज गर्नका लागि भारतको दिल्लीबाट टोली काठमाडौं आइपुगेको छ । उनीहरू पनि २÷४ दिनमा साइट रहेको दार्चुलाको बलाँच पुग्ने आयोजना प्रमुख दाहालले जानकारी दिए । प्रशारण लाइन चार्ज गर्नका लागि आएको एडीबीको प्राविधिक टोलीले दार्चुलामै रहेको नौगाड विद्युत् आयोजनाबाट विद्युत् प्रवाह गरेर प्रशारण लाइन चार्ज गर्ने तयारी प्राधिकरणको रहेको छ ।

    नेपाल विद्युत् प्राधिकरणले कैलालीको अत्तरियासम्म प्रशारण लाइन पूर्ण रूपमा निर्माण गरिसकेको छ । ठेकेदारसँगको असमझदारी, सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्या आदि कारणले निर्माण कार्य निर्धारित समयमा हुन नसकेको आयोजनाको भनाइ छ । तर आयोजनाबाट यसै वर्ष विद्युत् उत्पादन हुने भएपछि सुदूरपश्चिमवासी खुशी भएका छन् । दार्चुलाको बलाँचबासी धनबहादुर रोकाया आफ्नो घरआँगनमा रहेको चमेलिया नदीबाट बिजुली उत्पादन हुने खबरले दङ्ग छन् ।

    नेपालको सुदूरपश्चिम क्षेत्रमा जलविद्युत् क्षेत्रमा सम्भावित ठूला आयोजनाको रूपमा पश्चिम सेती र पञ्चेश्वर आयोजना रहेका छन् । यी आयोजनाको विकास गर्न नेपाल सरकारले चाहे तापनि लगानी तथा अन्य विभिन्न कारणबाट गर्न सकेको छैन । स्थानीय कृष्णसिंह देउपाले भने, ‘विद्युत् क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि सुदूरपश्चिम क्षेत्र पछाडि नै रहेको छ । यस्तोमा मझौला स्तरको चमेलिया जलविद्युत् आयोजना सुदूरपश्चिम क्षेत्रको लागि एउटा आशाको रूपमा देखा परेको छ । यो आयोजना सञ्चालन भएपछि विद्युत् उत्पादन मात्र हैन, विद्युत् प्रसारण र विद्युत् वितरणमा सुदूरपश्चिम क्षेत्रकै लागि ठूलो योगदान दिने छ ।’

     रू. ८ अर्ब ५० करोडको लागत इस्टिमेटमा निर्माण थालिएको उक्त आयोजना सम्पन्न हुँदासम्ममा रू. १५ अर्ब खर्च भइसकेको छ । कम लागतमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि भौगोलिक कठिनाइ, पूर्वाधार विकासको कमी लगायतले आयोजनाको लागत बढेको आयोजना प्रमुख दाहालको भनाइ छ । अहिले आयोजनाको सिभिलको काम चाइना गेजुवा ग्रूप अफ कम्पनी सिजिजिसीले पूरा गरेको छ भने इलेक्ट्रोनिक, हाइटेन्सन र ट्रान्समिशनको काम कोरियाली कम्पनीले गरिरहेको छ । आयोजनाको क्षमता ३० मेगावाट रहेको छ । ड्राइ टेस्ट, वेट टेस्टपछि १ सय ३१ किलोमिटर प्रसारण लाइन र सब–स्टेशनका साथै आयोजनासँग सम्बन्धित विभिन्न उपकरणको परीक्षण कार्य १५ दिनसम्म चल्ने उनले बताए । ड्राइ टेस्टको कामबाहेक अहिले आयोेजनाको ड्याममा पानी भर्ने, सुरुङ भेरिएशनका लागि खनिएका सहायक सुरुङहरू पुर्ने काम, मुख्य सुुरुङको सफाइलगायत प्रसारण लाइनदेखि दायाँ बायाँ ९÷९ मिटर गरी १८ मिटरसम्मका रुख काट्ने काम भइरहेको छ ।