छिचोलियो तामाकोसी सुरुङ

    1137

    ४५६ मेगावाट क्षमताको आयोजनाले २०७५ पुसदेखि विद्युत् उत्पादन सुरु गर्ने

    मंसिर ४, २०७४-राष्ट्रिय गौरवको आयोजना ‘माथिल्लो तामाकोसी जलविद्युत्’ को सबैभन्दा जोखिम तर महत्त्वपूर्ण मानिएको नदीको पानी छिराउने मुख्य सुरुङ आइतबार छिचोलिएको छ । ४ सय ५६ मेगावाट क्षमताको यो जलविद्युत् मुलुककै निर्माणाधीनमध्ये सबैभन्दा ठूलो आयोजना हो ।

    आयोजनाको ८.५ किमि लामो मुख्य सुरुङको करिब ५ किमि भागलाई दुवैतिरबाट खनेर ‘हेडरेस टनेलको ब्रेक थु्रु’ भएको (छिचोलिएको) हो । यो ब्रेक थ्रुसँगै विगु गाउँपालिकास्थित आयोजनाको मुख्य सुरुङको सम्पूर्ण खन्ने काम सकिएको छ भने आयोजनाको समग्र भौतिक संरचना निर्माण प्रगति ९२ प्रतिशत पुगेको छ । आयोजनाले २०७५ पुससम्ममा विद्युत् उत्पादन सुरु गर्ने जनाएको छ । विद्युत् उत्पादन सुरु भएलगत्तै अर्को हिउँदमा मुलुकमा लोडसेडिङ घटाउन महत्त्वपूर्ण योगदान पुग्ने विद्युत् प्राधिकरणका अधिकारीहरूको भनाइ छ ।

    जोखिमपूर्ण क्षेत्रको सुरुङलाई विस्फोट गरी आइतबार बिहान सफलतापूर्वक छेडिएपछि विद्युत् प्राधिकरणका उच्च अधिकारी, कर्मचारी, लगानीकर्तादेखि श्रमिकसम्म सबैले खुसी साटासाट गरेका थिए । मुख्य सुरुङ जोडिन बाँकी रहेको अन्तिम २ मिटर भागलाई छेडेर एकआपसमा जोडेपछि ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठलगायत टोली दुवैतिरबाट आई हात मिलाउँदै आपसमा बधाई साटासाट गरेका थिए । एक टोली मुख्य सुरुङको भैंसे अडिट र अर्को टोली गोंगरडाँडा अडिटबाट छिरेर ब्रेक थ्रु विन्दुमा भेटेका थिए । भंैसे अडिटबाट करिब ३.३ किलोमिटर र गोंगरडाँडा अडिटबाट करिब १.७ किलोमिटर खनेर सुरुङ छिचोलिएको आयोजनाले जनाएको छ ।

    ‘भूगर्भभित्रको सबभन्दा मुख्य कार्य सफल भएकाले आजको दिन एकदमै उत्साहको दिनका रूपमा लिएका छौं,’ आयोजना प्रमुख श्रेष्ठले भने । मुख्य सुरुङको ब्रेक थ्रुको सफलताले अर्को वर्षको पुसभित्र आयोजनाले विद्युत् उत्पादन गरी बिक्री थाल्ने विश्वास जागेको उनले बताए । अब आयोजनाको सर्ज सुरुङ र सर्ज साफ्ट सुरुङ निर्माण बाँकी छ, हालसम्म १७.२५ किमि सुरुङ निर्माण पूरा भएको आयोजनाले जनाएको छ । ०६७ मा निर्माण सुरु आयोजना ०७१ चैतभित्र सम्पन्न हुने लक्ष्य राखिएको थियो । भूकम्प र नाकाबन्दीका कारणले करिब एक वर्ष निर्माण अवरुद्ध हुन पुगेको थियो ।

    जलविद्युत् आयोजनामा शिलान्यास, मुख्य सुरुङको ब्रेक थ्रु र विद्युत् उत्पादन उद्घाटनलाई महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ । आयोजनाबाट करिब एक वर्षमा विद्युत् उत्पादन हुने निश्चित भएको आयोजनाले जनाएको छ । प्रारम्भिक इस्टिमिट ३५ अर्ब २९ करोड भनिए पनि हाल लागत बढेर करिब ४२ अर्ब पुग्ने अनुमान गरिएको छ । आयोजनाले गत असोजमा प्रकाशन गरेको प्रगति विवरणअनुसार ३५ अर्ब ८३ करोड नेपाली रुपैयाँ खर्च भइसकेको छ । विद्युत् प्राधिकरणले तामाकोसी हाइड्रो पावर लिमिटेड कम्पनी गठन गरी कार्य लगानीको वातावरण बनाएर सुरु गरेको आयोजनाले दोलखाली जनताका लागि १० प्रतिशत, सर्वसाधारणका लागि १५ प्रतिशत सेयरको व्यवस्था गरेको छ । प्राधिकरण, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थान तथा नेपाल सरकारको लगानीमा आयोजना निर्माण भइरहेको हो ।

    हाल आयोजनालाई ढुवानी कार्य सबभन्दा चुनौतीपूर्ण बनेको छ । पुष्पलाल मार्गको लामोसाँघु–जिरी सडक र दोलखा–सिंगटी सडक स्तर वृद्धि गर्ने क्रममा रहेकाले भइरहने अवरोधका कारण काम प्रगतिअनुसार अघि बढ्न सकेको छैन । आयोजनाका सामानहरू वीरगन्ज आइपुगे पनि कार्यस्थल पुग्न निकै कठिनाइ सामना गर्नुपरेको छ ।

    स्रोत:कान्तिपुर