चमेलिया र कुलेखानी तेस्रोबाट छ महिनामै विद्युत उत्पादन : प्राधिकरण

    2090

    विद्युत प्राधिकरणले ‘क्रोनिक’ समस्या बनिरहेका चमेलिया र कुलेखानी तेस्रो दुवै जलविद्युत आयोजना आगामी छ महिनाभित्रै सम्पन्न गर्ने भएको छ । ठेकेदारसितको विवाद अन्त्य भई दुवै आयोजनामा काम सुचारु भएको र अबको छ महिनाभित्रै सम्पन्न हुने जानकारी प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले दिए ।

    दुवै आयोजना ठेकेदारको लापर्बाहीले समस्याग्रस्त बनेका हुन् । ‘कुलेखानी तेस्रोको सिभिलतर्फको काम ९७ प्रतिशत सकिइसकेको छ । इलेक्ट्रोमेकानिकल र होइड्रो मेकानिकलका उपकरणहरू आइपुग्ने क्रम सुरु भएको छ । अब उपकरण जडानको काममात्र बाँकी छ, यो आयोजना आगामी फेब्रुअरीसम्ममा सम्पन्न भई विद्युत उत्पादन सुरु हुन्छ’ काफ्लेले कान्तिपुरसित भने ।

    १४ मेगावाटको कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाबाट बिजुली निकालेपछि निस्कने पानीलाई सुरुङमा लगी बिजुली उत्पादन गर्ने क्यास्केड आयोजना हो । उनका अनुसार इलेक्ट्रोमेकानिकल र होइड्रो मेकानिकल कामको जिम्मा लिएको चिनियाँ कम्पनीले उपकरण जडानको सुरु गरिसकेको छ । यो आयोजना सन् २०१४ मा नै सक्ने लक्ष्य थियो । ठेकेदारको लापर्बाही र गैरजिम्मेवारीले यो आयोजनाको लागत दोब्बर हुनुका साथै सम्पन्न हुने मिति नै तीन
    वर्षपछाडि धकेलिएको हो ।

    ०६८ वैशाखमा सक्ने लक्ष्य राखिएको दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना अबको ५ महिनामा सकिने जानकारी कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए । कमजोर भूबनोटका कारण साँघुरिएको चमेलियाको ८ सय ४३ मिटर सुरुङमध्ये ६ सय १२ मिटर सोझो बनाइसकिएको छ । बाँकी २ सय ११ मिटर सुरुङमात्र फलाम र कंक्रिटको सपोर्ट दिएर सोझो बनाउन बाँकी रहेको जानकारी काफ्लेले दिए । आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

    ठेकेदारको लापर्बाही, भेरिएसन र प्राधिकरणको सुस्त निर्णय प्रवृत्तिका कारण चमेलिया आयोजनामा काम ढिलाइ हुँदै गएको हो । तत्कालीन ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीको पालामा प्राधिकरण सञ्चालक समितिले सुरुङ सोझ्याउन ठेकेदारको मागबमोजिम १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ भेरिएसन स्वीकृत गरेको थियो । संसदको सार्वजनिक लेखा समितिले प्राधिकरणले चलनचल्तीभन्दा बढी दर दिएर अनियमितता गरेको भन्दै  भुक्तानी रोक्न निर्देशन दिएको थियो ।

    लामो समयको विवाद र बहसपछि समितिले आयोजनाको काम नरोक्नका लागि उक्त रकम भुक्तानी दिन निर्देशन दिइसकेको छ । संसदको पछिल्लो निर्देशनपछि चमेलिया आयोजनाको रोकिएको निर्माणको काम सुचारु भएको छ । ‘ठेकेदारले चमेलियामा काम सृुचारु गरेको छ, पाँच महिनामै आयोजना सम्पन्न हुन्छ ।’

    यो आयोजनामा ६ पटक भेरिएसन (लागत वृद्धि) भइसकेको छ । गेजुवाले सुरुमा चमेलियाको सिभिलतर्फको ठेक्का २ अर्ब ८८ करोड १३ लाख रुपैयाँमा लिएको थियो । निर्णय प्रक्रियामा प्राधिकरणको ढिलाइ, ठेकेदारको लापर्बाही र कमजोर भूबनोटलगायतका कारण आयोजनाको सिभिलतर्फको लागत दोब्बरभन्दा बढी ५ अर्ब ४२ करोड ७४ लाखभन्दा बढी पुगिसकेको छ ।

    स्रोत : कान्तिपुर