सुदूरपश्चिमका जलविद्युत्मा निजी लगानी बढ्दो

1030
♦ १६२ मेगावाट क्षमताका १४ आयोजना निर्माणको तयारी
♦ १४५२ मेगावाटका १६ आयोजनालाई लाइसेन्स
♦ अधिकांश खोलाको लाइसेन्स सकियो

धनगढी-सुदूरपश्चिम प्रदेशका खोलाहरूबाट जलविद्युत् उत्पादनका लागि निजी क्षेत्रबाट लगानी भित्रिने क्रम बढेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५-७६ मा गरेको जलविद्युत् म्यापिङ, स्क्रिनिङ तथा पूर्वसम्भाव्यता अध्ययनअनुसार सुदूरपश्चिम प्रदेशका ३० वटा आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् ।
१ हजार ६ सय ५५ मेगावाट क्षमताका ति जलविद्युत् आयोजनामध्ये १०७ मेगावाटका आठ आयोजनाको विद्युत् खरिद सम्झौता भइ वित्तीय व्यवस्थापनसमेत भएर निर्माण भइरहेको मन्त्रालयका जलस्रोत तथा ऊर्जा महाशाखामा कार्यरत इन्जिनियर लोजाङ डेण्डुप शेर्पाले बताए ।शेर्पाका अनुसार ५५ मेगावाट क्षमताका छ वटा आयोजनाहरूको विद्युत् खरिद सम्झौता भए पनि वित्तीय व्यवस्थापन हुन बाँकी छ । यसैगरी, पश्चिम सेतीलगायत १ हजार ४ सय ५२ मेगावाटका १६ आयोजनाको निर्माणका लागि विद्युत् विकास विभागले निजी क्षेत्रलाई लाइसेन्स प्रदान गरिएको मन्त्रालयको म्यापिङ प्रतिवेदनमा उल्लेख छ । नेपालको राज्य पुनर्संरचनासंगै सुदूरपश्चिम प्रदेशको जलस्रोतमा निजी क्षेत्रको आकर्षण बढेकाले सुदूरपश्चिम प्रदेशका जलविद्युत्को सम्भावना अध्ययन भएका खोलाहरूको लाइसेन्स प्रदान भइसकेको छ ।
२०७२ यता जलविद्युत्को सम्भावना रहेका अधिकांश खोलाहरूमा जलविद्युत् उत्पादन र सर्भेको लाइसेन्स लिने निजी कम्पनीको संख्या बढेको हो । सुदूरपश्चिम प्रदेशमा जलविद्युत्को सम्भावना रहेका अधिकांश खोलाहरूको लाइसेन्स निजी क्षेत्रले लिइसकेको म्यापिङको क्रममा खुलेको इन्जिनियर शेर्पाले बताए । उनले जलविद्युत् उत्पादन तथा सर्भे लाइसेन्स लिन बाँकी नगरेको खोला नगण्य मात्रामा रहेको बताए ।नेपाल सरकारको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागका अनुसार सुदूरपश्चिम प्रदेशका एक मेगावाटभन्दा बढी क्षमताका २४ वटा खोलामा विद्युत् उत्पादन तथा सर्भे गर्ने लाइसेन्स वितरण गरेको छ ।
विभागबाट १३ वटा जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रले लाइसेन्स लिएका छन् । विभागले ११ वटा जलविद्युत् आयोजनाको सर्भेका लागि लाइसेन्स वितरण गरेको छ भने जलविद्युत् उत्पादन र सर्भे लाइसेन्सका लागि एक-एक वटा आवेदन विभागमा परेको छ ।उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिइएका १३ वटा जलविद्युत्बाट करिब १७३ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । सर्भे लाइसेन्स दिइएको ११ आयोजना ६१२ मेगावाट क्षमताका छन् । उत्पादन अनुमतिका लागि आवेदन परेको अपर चमेलिया जलविद्युत् परियोजना ४० मेगावाटको छ भने सर्भे अनुमति माग गरिएको तल्लो नौगाड आयोजना दुई मेगावाटको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको म्यापिङ अनुसार दार्चुलाको पाँच मेगावाटको रुरुगाड, बाजुराको पाँच मेगावाटको बूढीगंगा र अछामको साढे चार मेगावाटको बड्डीगाडी परियोजना समेत अनुमति लिएर निर्माणको चरणमा रहेको जनाएको छ ।बझाङमा ९ सय ९६ किलोवाटको जिउली गाड, १५.३३ मेगावाटको कालंगा, ३८.४६ मेगावाटको अपर कालंगड, १० मेगावाटको सानीगाड, एक मेगावाटको जडारीगाड र दुई सय ३३ किलोवाटको सलुब्यानीगाड, दार्चुलाको १० मेगावाटको मकारीगाड, आठ मेगावाटको अपर नौगाड, एक मेगावाटको नौगाड र ८५ मेगावाटको चमेलिया (छेटीगाड), डोटीको १.५५ मेगावाटको अपर गड्डीगाड, बाजुराको साढे चार मेगावाटको बडीगाड तथा बैतडीको एक मेगावाटको गण्डीगाडबाट जलविद्युत् उत्पादनका लागि लाइसेन्स दिइएको विद्युत् विकास विभागले जनाएको छ ।
यसमध्ये तीन वटा परियोजनाको अवधि तोकिएको छैन भने विभागले बाँकी सबै परियोजना निर्माणका लागि ३५ वर्षको अनुमतिपत्र दिएको विभागको वेबसाइटमा उल्लेख छ ।विभागले बझाङका सात वटा, दार्चुलाका तीन वटा र डोटीको एउटा परियोजना सर्भेका लागि निजी कम्पनीलाई अनुमति दिएको छ । बझाङको सुनकुडामा पर्ने आठ मेगावाटको लोयर कालंगागाड जलविद्युत् परियोजना सर्भे गर्ने अनुमति पाएको वागथला हाइड्रोपावर, दार्चुलाको खण्डेश्वरीमा पर्ने १४ मेगावाटको आयु छेटीगाड परियोजनाको सर्भे अनुमति पाएको पुवा खोला–१ हाइड्रोपावर प्रालि र बझाङको सुनीकोटमा रहेको ११ मेगावाटभन्दा बढी क्षमता रहेको सुनीगाड परियोजना सर्भेको अनुमति पाएको सुर्माभगवती डेभलोपर्स प्रालिको म्याद पनि चालू आर्थिक वर्षमा सकिँदैछ ।
विभागले निजी कम्पनीहरूलाई तीन वर्षको सर्भे अनुमतिपत्र दिएको छ ।नेपाल सरकारले सुदूरपशिचम प्रदेशको १४८ मेगावाटभन्दा बढी क्षमताका १३ वटा परियोजनाहरूलाई बास्केट परियोजनाको सूचिमा राखेको छ भने डडेल्धुराको बगरकोटमा रहेको साढे दुई मेगावाटभन्दा बढी क्षमताको डोटीगाड परियोजनाको अध्ययन सम्पन्न गरेको छ । विभागले सुदूरपश्चिमको १९५ मेगावाट क्षमताका पाँच वटा परियोजनाहरू अध्ययन भइरहेको जनाएको छ ।
४२ मेगावाट उत्पादनजलविद्युत् विकास विभाण्ण्गका अनुसार सुदूरपश्चिम प्रदेशमा हाल करिब ४२ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । विभागको तथ्यांकअनुसार एउटा नेपाल सरकार र दुई वटा निजी कम्पनीले निर्माण गरेको परियोजनाबाट ४१.८३ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । दाचुर्लाको शिखरमा रहेको चमेलिया जलविद्युत् आयोजनाबाट २०७४ माघ २७ गतेबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
दार्चुलाकै नौगाड जलविद्युत् परियाजनाबाट २०७२ भदौ २ गतेदेखि अपी पावर कम्पनीले ८.५ मेगावाट जलविद्युत् उत्पादन गरेको छ । सल्मानीदेवी हाइड्रोपावर प्रालिले २०७६ जेठ २५ गतेदेखि डोटीको बर्छेनमा रहेको कापडीगाड जलविद्युत् परियोजनाबाट ३.३३ मेगावाट विद्युत् उत्पादन गरेको विभागले जनाएको छ ।

स्रोत : कारोबार