इँवा खोला जलविद्युत् आयोजनाको परीक्षण प्रसारण – ९.९ मेगावाट थपिँदै

1847

थर्पु (पाँचथर) – ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत् आयोजनाको काम पूरा भएको छ। जिल्लाको याङवरक गाउँपालिकामा निर्माणाधीन आयोजना विद्युत् उत्पादनका लागि तयार भएको प्रवद्र्धक रैराङ हाइड्रो पावर कम्पनीले जानकारी दिएको छ। अबको केही दिनमै परीक्षण प्रसारण गर्ने तयारीमा भइरहेको छ।

‘आयोजनको काम सकेर आन्तरिक परीक्षण समेत सकियो। आन्तरिक परीक्षण सफल भएको छ। विद्युत् उत्पादनका लागि हामि तयार भएका छौं। विद्युत् प्राधिकरणले अनुमति दिएपछि परीक्षण प्रसारण सुरु हुन्छ,’ आयोजना प्रमुख कुवेरमणि नेपालले भने, ‘यही हप्ताबाट परीक्षण प्रसारण सुरु हुने छ। अत्याधुनिक मेसिनको प्रयोग गरी आयोजना निर्माण गरेका छौं। यो आयोजनाबाट केन्द्रीय प्रसारणमा केही सानो भए पनि योगदान पुग्ने छ।’

यहाँ उत्पादन भएको विद्युत् ३३ केबिए प्रसारण लाइनमार्फत कावेली बी–१ आयोजना नजिकै बनाइएको ‘पुलिङ हाउस’बाट भएको ठाउँबाट एक सय ३२ केबिएमा रुपान्तरण गरिने छ। दुई जलविद्युत् आयोजनाको विद्युत् एकै ठाउँ बनाएर केन्द्रीय प्रसारणमा पठाउने नयाँ अभ्यास गर्न लागिएको नेपालले जानकारी दिए। पुलिङहाउस भएको ठाउँबाट विद्युत् प्राधिकरणको अमरपुर सबस्टेसनसम्मको प्रसारणलाइनबाट केन्द्रीय प्रसारणमा जडान हुने छ। आयोजनाको इँवा–कावेली दोभानबाट  साढे नौ किलोमिटर प्रसारण लाइनका माध्यमबाट विद्युत् प्राधिकरणको सबस्टेशनमा विद्युत् जडान हुने छ। पुलिङ हाउसमा कावेली बी–१को विद्युत् पनि जोडेर केन्द्रीय प्रसारणमा लगिने छ। कावेली बी–१ को निर्माण पनि अन्तिम चरण पुगेको बताइएको छ।

परीक्षण प्रसारण भएको १५ दिनपछि व्यावसायिक उत्पादन हुने नेपालले बताए। यो आयोजना एक अर्ब ८५ करोडमा सम्पन्न भएको नेपालले जानकारी दिए। कावेली प्रसारण लाइनको ढिलाइले निर्माण अवधि लम्बिदा लागतमा बढोत्तरी भएको उनको भनाइ छ। प्रतिकिलोबाट १६ करोडमा सक्ने योजना भएपछि आयोजना सम्पन्न हुने मिति लम्बिएका कारण लागत बढेको उनले जानकारी दिए।

यो आयोजना २०७३ मंसिरबाट निर्माण सुरु भएको थियो। २०७५ जेठमा सक्ने गरी काम अघि बढाइएको थियो। याङवरक गाउँपालिकाको इवा–शिवा दोभानमा ६० मिटर लामो बाध बाधेर ३.२ किलोमिटर पाइप लाइनमार्फत कावेली–शिवादोभानको दाहाल गाउँमा रहेको पावर हाउसमा पानी खसाइएको छ। आयोजनको दुई सय ५६ मिटर पेनस्टक र एक सय एक मिटर हेड रहेको छ।

आयोजना निर्माणका लागि ७० प्रतिश बैंकको ऋण रहेको छ। बाँकी ३० प्रतिशत प्रवद्र्धक कम्पनी, स्थानीय र सर्वसाधारणको सेयर रहेको छ।  बैंक अफ काठमाडौंको नेतृत्वमा पाँचवटा बैंकले ऋण लगानी गरेका छन्। यो आयोजनाबाट अबको केही दिनमै केन्द्रीय विद्युत् प्रणालीमा ९.९ मेगावाट विद्युत्को योगदान पुग्ने छ। लेकाली क्षेत्रबाट आएको खोला भएकाले सुक्खायाममा पनि पानी धेरै नघट्ने आयोजना प्रमुख नेपालले बताए।

स्रोत : नागरिक

तस्बिरःगिरिराज/नागरिक