खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन पूरा

    1172

    माघ २०, २०७३- निर्माण सुरु भएको १० वर्षपछि खिम्ती–ढल्केबर २२० केभी विद्युत् प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । उक्त लाइनको प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उद्घाटन गरेका छन् । यो मुलुककै सबभन्दा बढी क्षमताको डबल सर्किट प्रसारण लाइन हो । स्थानीयको अवरोधका कारण लामो समय प्रसारण लाइनको निर्माण रोकिएको थियो ।

    भारतबाट आयातित बिजुली राजधानी ल्याउन र दोलखा, सिन्धुपलान्चोक र मध्यमाञ्चलमा उत्पादित बिजुली मुलुकको पूर्वी भागमा पठाउन र भारत निर्यात गर्न यो रणनीतिक महत्त्वको प्रसारण लाइन हो । हाल भारतबाट यही प्रसारण लाइन हुँदै २५ देखि ४० मेगावाट बिजुली राजधानी ल्याउन थालिएको छ । यही प्रसारण लाइनका कारण भारतबाट आयातित बिजुली काठमाडौंमा ल्याई सुख्यायाममा समेत माग सम्बोधन गरी राजधानीलाई लोडसेडिङमुक्त राख्न सकिनेछ ।

    मुलुककै ठूलो क्षमताको प्रसारण लाइन निर्माण र सञ्चालन भएपछि काठमाडौंलाई लोडसेडिङ मुक्त हुने प्रधानमन्त्री दाहालले बताए । खिम्ती–ढल्केबर बनेपछि भारतीय विद्युत् काठमाडौं लैजान बाटो खुलेको मात्र नभई आन्तरिक व्यवस्थापनमा समेत सहयोग पुगेको उनको भनाइ थियो । प्रसारणलाइनको क्षमता बढेपछि विद्युत् क्षमता घाटा (लिकेज) १० मेगावाटसम्म घटाउने दाबी गरिएको छ । प्रसारणलाइन निर्माणसँगै तराईमा देखिँदै आएको भोल्टेज नपुग्ने समस्या पनि अन्त्य भएको प्राधिकरणले जनाएको छ ।

    दोलखाको किर्नेमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले चमेलिया जलविद्युत् र मेलम्ची खानेपानीजस्ता ठूला आयोजना निर्धारित समयमा पूरा नभएकामा चिन्ता व्यक्त गरे । विश्वको ध्यान जलविद्युत्तर्फ बढ्दै गएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालमा उत्पादित विद्युत्ले मुलुकलाई औद्योगिकीकरण गर्ने बताए । ‘कसैले हाम्रो बिजुली नकिन्देला कि भन्ने चिन्ता लिनु पर्दैन,’ प्रधानमन्त्री दाहालले भने, ‘हामी हजार मेगावाट बिजुली नेपालमै खपत गरेर मुलुकलाई औद्योगिक विकासमा अघि बढाउन सक्छौं ।’ विश्व बैंकको अनुदान र ऋण, नेपाल सरकार र प्राधिकरणको गरी कुल १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँको लागतमा उक्त योजना पूरा भएको हो । दोलखाको किर्नेटारमा पर्ने खिम्ती जलविद्युत् आयोजनाको सबस्टेसनदेखि धनुषाको ढल्केबरसम्मको ७४ किलोमिटर लामो उक्त एकल प्रसारण लाइनमा १ सय ८८ वटा पोल छन् । उक्त डबल सर्किट प्रसारणलाइनबाट ३ सय ५० मेगावाट विद्युत् प्रवाह गर्न सकिने आयोजनाले जनाएको छ ।

    उक्त लाइनको परीक्षण सकिएपछि प्राधिकरणले दुई साताअघिदेखि भारतबाट आयात गरेको बिजुली सीधैं काठमाडौं जोडेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार खिम्ती, सुनकोसीलगायतका आयोजनाको उत्पादनसमेत उक्त प्रसारण लाइनबाट ६० देखि ७० मेगावाट विद्युत् हाल काठमाडौं भित्रिइरहेको छ ।

    तामाकोसी करिडोरमा विद्युत् खरिद सम्झौता भएका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडसम्म लैजानका लागि उक्त आयोजनाले सहयोग पुर्‍याउने घिसिङले बताए । उक्त लाइन बनाउन ०६३ सालमा सुरु भएको थियो ।

    जग्गा अधिग्रहणमा समस्या भएपछि आयोजना निर्धारित समयभन्दा ५ वर्ष ढिला प्रसारण लाइनअन्तर्गतको पहिलो फेजको काम सम्पन्न भएको हो । सबैभन्दा बढी कमलामाई नगरपालिका ७ मा आयोजनाले सास्ती झेल्नुपर्‍यो । स्थानीयलाई फिडर सडकका नाममा तारपोल एरियाको १५/१५ मिटर दायाँबायाँ जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरिएको छ । सन् २००६ मा टेन्डर भएर निर्माण कार्य थालिए पनि स्थानीयको विवादका कारण पटकपटक म्याद थप गरी सम्पन्न गरियो ।

    यो प्रसारण लाइन दोलखाको सहरेस्थित किर्नेटारबाट सुरु भई रामेछाप, सिन्धुलीको खुर्कोट हुँदै महोत्तरीको गौरीबास, धनुषा जिल्लाको तुलसी, बेंगाडावर र अन्तिममा ढल्केबर सबस्टेसन जोडिएको छ । पहिलो सर्किटको निर्माण सकिएसँगै खिम्ती ढल्केबर प्रसारण लाइनमा विद्युत् सुचारु गरिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख श्यामकुमार यादवका अनुसार परीक्षण प्रसारण सफल भएको छ । ‘पहिलो सर्किटको निर्माण कार्य पूरा भई परीक्षणका रूपमा विद्युत् सुचारु गर्न थालिएको छ,’ आयोजना प्रमुख यादवले भने, ‘दोस्रो सर्किटको काम पनि चाँडै पूरा हुन्छ ।’ दोस्रो सर्किटको काम पनि यसै आर्थिक वर्षमा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।

    स्रोत:कान्तिपुर