लोडसेडिङ घटेपछि बढ्यो औद्योगिक उत्पादन

    1543

    क्षमताको ५४ प्रतिशतसम्म उत्पादन गर्दै उद्योग

    विद्युतको आपूर्तिमा आएको सुधारका कारण उद्योगहरुले उत्पादन बढाएका छन् । उद्योगहरुले आफ्नो उत्पादन क्षमताको ५४ दशमलव २ प्रतिशत उत्पादन गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

    राष्ट्र बैंकले विभिन्न ५७ जिल्लालाई समेटेर गरेको आर्थिक गतिविधिको अध्ययन सम्बन्धी अर्ध वार्षिक प्रतिवेदनले लोडसेडिङमा भएको कटौतीका कारण उद्योगहरुको उत्पादन बढेको उल्लेख गरेको हो ।

    गत वर्षको यसै अवधिमा उद्योगहरुले लोडसेडिङका कारण ३९ दशमलव ५ प्रतिशत मात्र क्षमता उपयोग गरेका थिए ।

    राष्ट्र बैंकले विद्युत आपूर्तिमा आएको सुधारले उद्योग क्षेत्रमा सकारात्मक प्रभाव परेको र समीक्षा अवधिमा देशमा बन्दहडताल जस्ता कुनै किसिमका अवरोधजन्य क्रियाकलाप नभएका कारण समग्र उद्योगहरुको क्षमता उपयोग बढेको बताएको छ ।

    बैंकको प्रतिवेदन अनुसार यो वर्ष चाउचाउ उद्योगहरु पूर्ण क्षमतामा चलेका छन् भने  वनस्पति घिउ तथा तेल, प्रशोधित दूध, अन्न तथा पशुदाना एवम् अन्य खाद्यपदार्थ समूहको उत्पादनमा वृद्धि भएको छ ।

    समीक्षा अवधिमा वनस्पति घ्यू तथा तेल समूहको उत्पादन १६ दशमलव ५, अन्न तथा पशुदाना समूहको उत्पादन १४ दशमलव ३, अन्य खाद्य पदार्थ समूहको उत्पादन ५७ दशमलव ५ र पेय पदार्थ समूहको उत्पादन ९२ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

    यस्तै, जुत्ताको उत्पादन २० दशमलव ८, फलामको छड तथा पत्तिको उत्पादन १ सय ७२ दशमलव ६, सिमेन्टको उत्पादन ६१, ईंटाको उत्पादन १३ र चिरेको काठको उत्पादन ७६ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

    तर तयारी कपडाको उत्पादन ३१ दशमलव १ तथा बिजुलीको तार र केवुलको उत्पादनमा १४ दशमलव ६ प्रतिशतले कमी आएको छ ।

    स्रोत:कारोबार दैनिक