हाइड्रोपावर बन्ने खबरले उत्साहित

    1812

    जेष्ठ ११, २०७४- सरकारले कर्मचारी सञ्चय कोषलाई कर्णालीमा जलविद्युत् आयोजना बनाउन अनुमति दिएपछि पश्चिम सुर्खेतवासी उत्साहित भएका छन् । कोषले कर्मचारीको कोष कट्टीबाट आएको रकम लगानी गरेर कर्णालीमा ६ सय ८० मेगावाटको जलविद्युत् आयोजना बनाउन लागेको हो ।

    ऊर्जा मन्त्रालयले सञ्चय कोषलाई आइतबार आयोजना अगाडि बढाउन अनुमति दिएको छ । चौकुने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धीरबहादुर शाहीले आयोजना निर्माणले पिछडिएको पश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने बताए । सर्वेक्षणका लागि सञ्चय कोषले अनुमति पाएको छ । ‘यो खुसीको कुरा हो,’ अध्यक्ष शाहीले भने, ‘वर्षौंदेखि बगेर खेर गइरहेको कर्णालीबाट विद्युत् उत्पादन गरेर यस क्षेत्रलाई समृद्ध बनाउन सकिन्छ । पश्चिम सुर्खेतको विकासमा महत्त्वपूर्ण आयोजना बन्नेछ ।’

    ‘बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ ले विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ । मन्त्रालयले सुर्खेत जिल्लाका चौकुने गाउँपालिकामा साविकका बेतान, छाप्रे, गुटु, बिजौरा र पञ्चपुरी नगरपालिकामा विद्यापुर गाविस, अछाम जिल्लाका साविकका ढुंगा चाल्ना, नारायणपुर, तुर्माखाद गाविस एवं कैलाली जिल्लाको सुगरखालमा अवस्थित रहने गरी कर्णाली नदीमा अर्धजलाशय प्रकृतिको आयोजना अगाडि बढाउने तयारी गरेको हो । गुटुका लक्ष्मीप्रसाद जैसीले सञ्चय कोषले तोकिएको समयमा आयोजनाको सर्भेक्षण सम्पन्न गर्नुपर्ने सुझाव दिए । ‘सर्भेक्षण मात्र होइन । निर्माणका लागि कोष तथा सरकारले पहलकदमी लिनुपर्छ,’ उनले भने, ‘सर्भेक्षणमै वर्षौं बिताउने समस्या छ । छिटोभन्दा छिटो काम सम्पन्न गरियोस् ।’ पहिलो दुई वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने र पाँच वर्षभित्र निर्माण सुरु गर्ने तयारी गरिएको छ ।

    पञ्चपुरी नगरपालिकाका नवनिर्वाचित मेयर उपेन्द्र थापाले आयोजनाको सर्भेक्षणका क्रममा आइपर्ने बाधा–व्यवधान रोक्न आफूहरू तयार भएको बताए । ‘स्वदेशी लगानीमा बन्दै छ । कुनै प्रकारको अवरोध बन्न दिनु हुन्न,’ थापाले भने, ‘कर्णालीबाट विद्युत् उत्पादन गरिनु पश्चिम सुर्खेतको समृद्धिसँग जोडिएको विषय हो । स्थानीय जनप्रतिनिधिका रूपमा हामी आयोजनालाई सहजीकरण गर्न तयार छौं ।’

    स्वदेशी लगानीमा अगाडि बढिरहेका माथिल्लो तामाकोसी जलविद्युत् आयोजनापछि कोषले अगाडि बढाउन लागेको यो दोस्रो ठूलो आयोजना हो । नेपाली प्रविधि प्रयोग गरेर निर्माण गर्न लागिएको आयोजनामा निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका सञ्चयकर्ताको रकम लगानी हुनेछ ।

    कोषले वार्षिक मुनाफाबाट सञ्चयकर्तालाई प्रदान गर्ने मुनाफा नदिई जलविद्युत् आयोजनामा लगानी गर्ने योजनाअनुसार बेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । आयोजनाको औसत लागत ८० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।

    स्रोत:कान्तिपुर