विद्युत् प्राधिकरणविरुद्ध कारबाहीको चेतावनी

    1089

    दाङ, ९ जेठ

    लाइन विस्तार कार्य तत्काल नरोके विद्युत् प्राधिकरणका विरुद्ध कारबाही प्रक्रिया अघि बढाउने डिभिजन सडक कार्यालय दाङले बताएको छ । कुनै समन्वय नगरेर प्राधिकरणले हापुरे तुलसीपुर सडकमा जथाभावी पोल गाडेपछि डिभिजन सडक कार्यालयले त्यस्तो चेतावनी दिएको हो ।

    सडकको मापदण्डविपरीत प्राधिकरणले १३२÷३३ केभीको प्रसारण लाइन विस्तारका लागि अनियन्त्रित रूपमा पोल गाडेको डिभजनले आरोप लगाएको छ । दाङसहित सल्यान, रोल्पा र रुकुममा हाल कायम रहेको कम विद्युत् भोल्टेजमा व्यापक सुधार ल्याउने उद्देश्यले पश्चिम दाङको हापुरेबाट तुलसीपुर सबस्टेसनमा राष्ट्रिय प्रसारण लाइन जोड्ने तयारी भइरहेको छ । सहकार्यविना पोल गाडेको भन्दै डिभजन सडकले पहिलोपटक २४ फागुन २०७३ मा रोकिपाऊँ भनी जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जलाई २ चैत २०७३ मा पत्र लेखेको थियो ।

    करिब डेढ महिनासम्म रोकिएको काम आपसी छलफल र सहमतिविना पुनः सुचारु भए पछि डिभिजन सडकले आक्रोश पोखेको छ । काम सुचारु भएको करिब दुई हप्तापछि डिभिजनले जिल्ला प्रशासन कार्यालय दाङमा पुनः काम रोक्न दोस्रोपटक आइतबार निवेदन दिएको छ । ‘विद्युत् प्राधिकरण घोराहीका प्रमुख र प्रजिअसँग सामान्य छलफल भएर विद्युत् प्राधिकरण क्षेत्रीय कार्यलय नेपालगन्जका प्रमुखसँग छलफल गर्ने बताए पनि त्यससम्बन्धमा कुनै कार्य अघि नबढेको डिभिजन प्रखु शिरबहादुर घिमिरेले बताए ।

    उनले भने, ‘यदि अटेरी गर्ने हो, भने सडक ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइनेछ ।’ प्राधिकरणले मनोमानी पोल गाडेका कारण तुलसीपुर घोराही सडक, फोरल्यान्ड बनाउने काम कछुवाको गतिमा अघि बढेको उदाहरण दिँदै घिमिरेले पैसा दिएर हटाइदेऊ भन्दा पनि पोल नहटाएको गुनासो गरे ।

    ‘तुलसीपुर हापुरे सडकमा पनि अत्यधिक गाडिको चाप भइसक्यो, त्यो बाटो पनि अब १० वर्षभित्र फोरल्यान्ड बनाउन आवश्यक छ,’ घिमिरेले भने, ‘अहिले ध्यान नपु¥याएपछि ठूलो समस्या आउँछ ।’ उनका अनुसार हापुरेदेखि पोटलीसम्म सडकमा गाडेको पोलका लागि ३१ लाख रुपैयाँ खर्च गरेर अहिले सार्ने काम भइरहेको छ । सडकको बीच भागदेखि दायाँबायाँ १५ मिटरभन्दा बाहिर गाड्नुपर्ने भने पनि पोलभित्रै गाडिएको डिभिजनले बताएको छ ।

    विद्युत् प्राधिकरण घोराहीले भने सहमतिअनुसार पोल गाड्न सुरु गरिएको बताएको छ । सडकलाई असर पुग्ने गरी गाडेका विद्युत् पोल सार्ने र अन्य पोल समन्वय गरेर गाड्ने सहमति भएपछि काम सुचारु गरेको नेपाल विद्युत् प्राधिकरण घोराहीका प्रमुख बाबुराम सुवेदीले बताए । ‘राष्ट्रिय योजनाको काम हो,’ उनले भने, ‘यसलाई रोक्नुहँुदैन र सडकलाई असर नपुग्ने गरी काम गर्ने सहमति भएपछि काम सुचारु ग¥यौं ।’ प्रमुख जिल्ला अधिकारी, डिभिजन प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिबीच जिल्ला प्रशासनमा भएको सहमतिअनुसार काम भएको उनको दाबी छ ।

    यता, प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले सामान्य छलफल मात्रै भएको बताए । लाइन विस्तारका लागि त्रिपुरेश्वर कन्डक्टर र जय दुर्गे इन्जिनिरिङ जेभीले १० करोड ११ लाख लागतमा लाइन विस्तार कार्य पूरा गर्ने गरी नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जसँग सम्झौता गरेको छ । कुनै विवाद नभए असार मसान्तसम्म लाइनविस्तार गरि सक्ने निर्माण सेवाका प्रोजेक्ट म्यानेजर सुनिल बस्नेतले बताए । ‘१६ सय पोलमध्ये साढे ८ सय पोल गाडिसक्यौ,’ उनले भने, ‘काम गर्ने क्रममा कुनै विवाद नभए असार महिनासम्म ह्यान्डओभर गर्छौं ।’ डबल सर्किटमा लाइन विस्तारका लागि स्टिल ट्युबलर पोल गाडिएको छ । हापुरेदेखि तुलसीपुरसम्म ७ करोड र तुलसीपुरदेखि दूधराससम्म ३ करोड ११ लाख रुपैयाँमा काम गर्ने सम्झौता भएको छ ।

    ३३ केभीको लाइन जोडिनेबित्तिकै यसले १५ वर्षसम्म आइपर्ने क्षमतालाई धान्न सक्ने अपेक्षा गरिएको छ । तुलसीपुरदेखि करिब २२ किलोमिटरको दूरीमा रहेको हापुरे सबस्टेसनमा करिब एक वर्षअघि ३३ केभीको लाइन आइपुगेको थियो ।

    स्रोत: राजधानी दैनिक