उपत्यकाको लोडसेडिङ मुक्त अभियानलाई निरन्तरता दिन्छु : ऊर्जामन्त्री

    1235
    1975353612janardan-sharma-jpgकाठमाडौं। ऊर्जामन्त्रीजनार्दन शर्माले काठमाडौं उपत्यकामा अहिलेको विद्युत् आपूर्तिलाई निरन्तरता दिन सरकार लागिपरेको बताएका छन् ।
    काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा माग व्यवस्थापनको काम भइरहेको ऊर्जामन्त्री शर्माले जानकारी दिए । उनले अहिले विद्युत्भार कटौती  (लोडसेडिङ्) हटाउन परिक्षणको रुपमा काम भइरहेको बताए । “उपत्यकाका लागि देशका अधिकांश क्षेत्रमा लोडसेडिङ नभए पनि यसलाई निरन्तरता दिन अहिले परिक्षणकालमा छौं,” उनले भने “नदीमा पानीको वहाव घट्दै गएपछि व्यवस्थापन गर्नका लागि काम भइरहेको छ ।”
    आफु मन्त्री भएको एक सय दिन पुगेको अवसर पारेर यस अवधिमा गरेको कामको बारेमा जानकारी दिन बिहीबार मन्त्रालामा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री शर्माले लोडसेडिङमुक्त गर्ने अभियान सुरु भएको बताए ।
    कुलेखानी आयोजना चलाएर बाहिर बिजुली कटौती गरेर उपत्यकालाई लोडसेडिङमुक्त बनाएको भन्ने आरोपको खण्डन गर्दै उनले भने “माग व्यवस्थापन गरेर उपत्यकालाई लोडसेडिङ्मुक्त बनाइएको हो । यि सबै हल्ला मात्र हुन् । कुलेखानी चलाएका छैनौँ र बाहिरको बिजुली पनि कटौती भएको छैन । यी सबै आरोप मात्र हुन् ।” लक्ष्मीपूजाको दिन बाहेक अन्य दिन कुलेखानी आवश्यकता परे मात्रै केही समय चलाउने गरेको उनले बताए ।
    माग व्यवस्थापन गर्न सकेका कारण देशभर अहिले दैनिक २ घण्टा मात्र लोडसेडिङ् भएको उनले जानकारी दिए । आफुले ऊर्जा मन्त्रालयको कार्यभार सम्हालेपछि माग व्यवस्थापन गरेर लोडसेडिङ् हटाएको, चमेलिया, कुलेखानी र त्रिशुली ३ ए आयोजनाको काम अघि बढेको बताए ।
    गत भदौमा सार्वजनिक गरेको ३७ बुँदे प्रतिवद्धतापत्रमा आधारित भएर काम भइरहेको उनले जानकारी दिए ।
    मिटरबक्स व्यवस्था गरेको, ट्रान्सफर्मर सुदृढिकरणको काम सुरु भएको, ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन निर्माणको काम तीब्र गतिमा अघि बढेको, जनताको गुनासो व्यवस्थापनका लागि ऊर्जा मन्त्रालयमा युनिट खडा गरेको, विद्युत् चुहावट नियन्त्रणका लागि सहसचिवस्तरिय समिति बनाएर काम सुरु भएको र यसलेसकारात्मक प्रभाव पारेको उनले जानकारी दिए ।
    यस्तै काठमाडौंको माग र आपुर्तिको व्यवस्थापन प्रभावकारी रुपमा अघि बढेको, बक्यौता असूली बढेको, सरकारी कार्यालयले अझ महशुल तिर्न आनाकानी गरेको उनले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचनाको काम सुरु भइसकेको र यस अन्तर्गत एक साताभित्र विद्युत् उत्पादन कम्पनी गठन हुने, सोलारबाट पनि विद्युत् उत्पादन गर्ने योजनाको काम अघि बढेको बताए । उनले सहायक कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अर्को साताबाट सुरु हुने मन्त्री शर्माले जानकारी दिए ।
    यसैगरी १ सय मेगावाट क्षमतासम्मको आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) विद्युत् विकास विभागका महानिर्देशकले दिने र १ सय मेगावाटसम्मका आयोजनाबाट विद्युतखरिदविक्रि सम्झौता (पीपीए) विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । अमेरिकी डलरमा हुने पीपीएको जोखिम व्यवस्थापनका लागि हेजिङ फण्डको तयारी भइरहेको समेत उनले सुनाए ।
    जलविद्युत प्रवद्र्धकलाई राहत दिन, विभिन्न आयोजनाका प्रवद्र्धकसँग आयोजना विकास सम्झौता (पीडीए) को काम अघि बढेको र यसका लागि अर्थ मन्त्रालयले सहमति दिएको उनले जानकारी दिए ।
    जग्गा प्राप्ति, वन र वातावरणको काम अघि बढाउन मन्त्रिपरिषदबाट गाँठो फुकाइएको उनले जानकारी दिए ।
    सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माग र आपूर्ति व्यस्थापन गरेर लोडसेडिङ हटाउन लागि परेको बताए । काठमाडौं उपत्यकामा केही स्थानमा तार र ट्रान्सफर्मर परिवर्तन गर्दा प्राविधिक कारणले लोडसेडिङ हुने गरेको बताउँदै उनले अन्य स्थानमा नभएको जानकारी दिए । उनले  साँझमा ३ सय, राती १२०, दिउँसो १७० र बिहान २१० मेगावाट बिजुलीको माग रहेको बताए । 

    बाह्रखरी